रिलिज भएको दोश्रो सातामा चलचित्र ‘चङ्गाचेट’ले वर्ड अफ माउथका कारण व्यापारमा गती बढाएपछि निर्देशक दिपेन्द्र के खनालको अनुहारमा खुशी छाएको छ । मंगलबार बेलुकी काठमाण्डौको कुमारी हलमा भेटिएका दिपेन्द्रले भने–‘मेरा लागि त जहिले पनि चलचित्र नै चल्नुपर्छ । सुरुमा इनिसियल व्यापारमा नहुने र वर्ड अफ माउथले नै जित्नुपर्ने मेरो भोगाई हो ।’
हुन पनि हो, दिपेन्द्रले निर्देशन गरेको चलचित्र ‘पशुपति प्रसाद’ वर्ड अफ माउथकै कारणले आइतबारदेखि चलेको थियो । चलचित्रकी निर्मात्री मध्येकी एक शर्मिला पाण्डे पनि दर्शकले चलचित्र मन पराएपछि व्यापार बढेकोमा खुशी थिइन् ।
चलचित्र हेर्न पुगेका हाँस्य कलाकार हरिवंश आचार्यले यसको खुलेरै तारिफ गरे । यूवाहरुको बेरोजगारी समस्यालाई हाँस्यरसको माध्यमबाट प्रस्तुत गरिएको भन्दै उनले चलचित्रको प्रशंसा गरे । सो अवसरमा, चलचित्रको टिमले हरिवंशको जन्मदिनको अवसर पारेर केक पनि काटेको थियो ।
चलचित्र ‘चङ्गाचेट’को व्यापार मल्टिप्लेक्समा सुखद देखिन थालेको छ । सुरुका दिनमा केही कमजोर भएपनि अब दर्शकले चलचित्र मन पराएका कारण व्यापार बढेको हल संचालकहरु बताउँछन् । ‘चङ्गाचेट’का लागि थ्रेट बनेको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ भारतमा जस्तै नेपालमा पनि साह्रै कमजोर बनेपछि माधव वाग्ले र शर्मिला पाण्डे निर्मित चलचित्रलाई फाइदा भएको हो ।
चलचित्रको प्रचारमा कलाकारको साथ नमिलेको प्रष्ट हो । कलाकारले साथ नदिएपनि दर्शकले भने अहिले साथ दिन थालेका छन् । चलचित्रमा आशिरमान देशराज जोशी, रविन्द्र झा र सन्दिप क्षेत्री मुख्य भूमिकामा छन् । अर्पण थापाको भूमिकाले पनि दर्शकलाई बाधेर राखेको छ । सुरक्षा पन्त ३ पात्रसँग इन्गेज भएका कारण धेरै दृश्यमा देखिएपनि प्रियंका कार्की र परमिता आर एल राणा चलचित्रमा सो पिस मात्र छन् ।
कमेडी चलचित्रमा आफ्नो पहिचान बनाइसकेका रविन्द्र झा र सन्दिप क्षेत्री चलचित्रका मुटु हुन् । यी दुइको अभिनय र कमेडी संवादले चलचित्रलाई दिक्क हुन दिएको छैन । ‘चङ्गाचेट’ चलचित्रको व्यापार अझै सुखद हुने देखिएको छ । यसले, निर्मातालाई भने ठूलै राहत दिनेछ ।
from Online Khabar https://ift.tt/2z8OQ4l
via IFTTT
No comments:
Post a Comment