३० कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानमा सडक अतिक्रमणको समस्या ज्यादै छ । सडक अतिक्रमण हटाउन महानगरपालिकाले पटकपटक प्रयास गरेको भएपनि निरन्तरता दिन नसक्दा सफल हुन सकेको छैन ।
वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट थालिएको व्यवस्थित वीरगञ्ज अभियानमार्फत सडक अतिक्रमण हटाउने काम भइरहेको छ ।
वीरगञ्जको सेकेन्ड बाइपास, बाइपास सडकखण्डको भानुचोकदेखि उत्तरतर्फको सडकखण्डमा अभियानमार्फत सडक अतिक्रमण हटाउने काम सम्पन्न भइसकेको छ ।
दीपावली र छठलगायत चाडपर्वको समयमा केही निष्कृय रहेको ‘व्यवस्थित वीरगञ्ज’ अभियान सुरु भएसँगै अतिक्रमण हटाउने कार्य पुनः सुुरु गरिएको छ ।
दुईदिनदेखि बाइपास सडकखण्डको रजतजयन्ती चोकदेखि उत्तरतर्फ सडक अतिक्रमण हटाउने काम भईरहेको अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिए । सो क्रममा सडक तथा पेटी अतिक्रमण नगर्न, सडकमा निर्माण सामाग्री नराख्न, फोहोर जथाभावी नफ्याक्न, जथाभावी सवारी साधन पार्किङ नगर्न आग्रह गर्नुको जफतसमेत गर्ने गरिएको उनले बताए ।
‘सरोकारवाला मात्रै नभएर नगरवासीलाईसमेत जिम्मेवार बनाउन अभियान सुरु गरेका हौं,’ उनले भने, ‘जुन क्षेत्रमा हात हालेका छौं, सफल भएका छौं । सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरे अभियानको आवश्यकता नै पर्दैन ।’
व्यवस्थित वीरगञ्ज हाम्रै पालामा हुनुपछै, हाम्रै सक्रियतामा हुनुपर्छ भन्ने मान्यता बोकेर अभिायन सुरु गरिएको उनी बताउँछन् ।
अभियान अन्र्तगत छठपछि रजतजयन्ती चोकदेखि नगवा चोकसम्मको सडक अतिक्रमण हटाउने काम सम्पन्न भइसकेको छ । महानगरपालिकाको डोजरको सहयोगमा अतिक्रमण हटाइएको हो । अतिक्रमण हटाउनका लागि प्रहरी उपरीक्षक रेवती ढकाल स्वयं प्रहरी टोली लिएर सडकमा पुगेका थिए ।
स्थानीय युवाहरुको सहभागितामा व्यवस्थित वीरगञ्ज अभियान सुरु गरिएको भएपनि वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनीधिले अभियानमा पूर्ण रुपमा सहयोग गरिरहेका छन् । महानगरपालिका, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीय जनप्रतिनीधिहरुको सहयोगमा नै अभियान अघि बढिरहेको अभियन्ताहरु बताउँछन् ।
अभियान सुरु भएको दुई महिनामा अभियानमार्फत ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना, छाडा पशु चौपाया नियन्त्रण, सडक अतिक्रमण हटाउने तथा अस्पताल, पोखरीलगायत सार्वजनिक स्थलहरुको सरसफाइ जस्ता कामहरु भइरहेको छ । अहिले नगरे कहिले गर्ने ? समुदायकलाई दिने तर केही नलिने भन्ने मान्यता बोकेर सञ्चालित अभियानमा स्वयंसेवी युवाहरुले पनि साथ दिइरहका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं १२ का रियाज अन्सारी व्यवस्थित वीरगञ्जमार्फत भइरहेको काम सह्रानीय रहेको बताउँछन् । ‘सडकको प्रयोग सवारी आवतजावतका लागि हुनुपर्ने हो, वीरगञ्जमा कतै निर्माण सामग्री राखिएको हुन्छ, कतै कवडा थुपारिएको त कतै पसल व्यवसाय सञ्चालन गरिएको देखिन्छ,’ उनले भने, ‘व्यवस्थित वीरगञ्ज अभियानमार्फत त्यसलाई व्यवस्थापन भइरहेको छ ।’
एक दुई ठाउँको सडक अतिक्रमण हटाएपछि अन्यत्र पनि सडक अतिक्रमण हटाइदिन अनुरोधहरु आइरहेको व्यवस्थित वीरगञ्जका अभियन्ताहरुले बताएका छन् ।
from Online Khabar https://ift.tt/2Fsuxo9
via IFTTT
No comments:
Post a Comment