डा. तुलसी गिरी ! हाम्रो पुस्ताले इतिहासका पानाहरुमा पढेको यो नामलाई राजा ज्ञानेन्द्रले ०६१ माघ १९ पछि साक्षात्कार गराइदिएपछि थप बुझ्न पाइएको हो । ०१७ सालमा आफ्ना पिता महेन्द्रले प्रजातन्त्र निलेकै शैली पछ्याउँदै ज्ञानेन्द्र शाहबाट त्यतिबेलाका योजनाकार राजनीतिज्ञ डा. गिरीलाई मन्त्रिपरिषद् उपाध्यक्ष बनाइएपछि उहाँ फेरि मञ्चमा देखा पर्नुभएको थियो ।
त्यहीबेलादेखि डा. गिरीसँग भेटेर इतिहासका घटनाहरुलाई उहाँकै मुखबाट सुन्ने र खासगरी ०६१ माघ १९ को घटनाका वरिपरि रहेर कुराकारी गर्ने जिज्ञासाले मलाई पटक–पटक बूढानीलकण्ठ पुर्याएको थियो ।
यही क्रममा डा. तुलसी गिरीमा रहेको अनुपम स्मरण शक्ति, राजनीतिक विश्लेषण र निष्कर्ष सुन्दा उहाँप्रति थप जिज्ञासा जागेर भेटघाट गर्ने रुचि निरन्तर भइरहेको थियो । पछिल्लोपटक एक महिनाअघि साहरा योञ्जन म्याडमसँग कुरा भएर भेट्ने तय भए पनि आफू विदेश जानुपरेकाले भेट्न नपाउँदा अहिले खल्लो लागेको छ ।
डा. तुलसी गिरीका बारेमा हाम्रो पुस्ताका मानिसले धेरै कुरा गर्दा मानिसहरुलाई पत्यार लाग्दैन । किनभने, यो समय उहाँको थिएन । ०१७ पुस १ गतेका मुख्य योजनाकार भएका कारण ‘पञ्चायतकी आमा’ उपमा पाउनुभएका गिरी आफ्ना कामहरुका कारण अरु राजनीतिज्ञहरुभन्दा सधैँ फरक देखिनुहुन्थ्यो ।
पञ्चायती व्यवस्थाका चार हस्ती– डा. तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट र विश्वबन्धु थापाका आ–आफ्नै विशेषता थिए । यी सबै नेताहरुका नेता डा. गिरी नै हुनुहुन्थ्यो । ‘पञ्चायती दर्शन’ भनेर उहाँले जे बनाउनुभएको थियो, खासमा त्यो ०१७ सालमा राजा महेन्द्र र वीपी कोइराला पश्चिम नेपालको भ्रमणमा जाँदा आफूले तयार पारेर राजालाई सहमत गराएको विचार थियो ।
कुनैबेला वीपीको प्रशंसामा कविता लेख्नेदेखि कार उपहार दिएर मित्रता कायम राख्न चाहने महेन्द्रले पञ्चायती व्यवस्था ल्याउँदा गिरीमाथि नै भर परेको तथ्य इतिहासमा सुरक्षित छ ।
नेपाली कांग्रेसका महामन्त्री, वीपी कोइरालाका विश्वासपात्र र जननिर्वाचित सरकारका परराष्ट्रमन्त्री हुँदाहुँदै प्रजातन्त्रकै विरुद्ध उभिने विचार डा. गिरीलाई कहाँबाट आयो होला ? एक दिनको भेटमा उहाँले यसबारेमा आफ्नो विचार विस्तारमा सुनाउनुभएको थियो–
‘राजा भएको देशमा सार्वभौमसत्ता बाँडिँदैन, राजामा मात्र रहन्छ । गुण वा दोषको जिम्मा राजामै रहन्छ । त्यसैले दुई नाउमा खुट्ट टेकेर हुँदैन भनेर मैले पञ्चायतको कल्पना गरेको हुँ ।’ तर, आफूले कल्पना गरेको पञ्चायत र दरबारले बुझेको पञ्चायत फरक परेका कारण राजाहरुसँग पटक–पटक मतभेद भएको र राजीनामा दिएको प्रसंग पनि उहाँको दिमाग ताजै थियो ।
पछिल्लोपटक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वास्थ्यलाभको कामना गर्दै डा. गिरीलाई निवासमै भेट्दा नेपाल–भारत सम्बन्धमा विविध आयामका बारेमा कुरा गर्दा पञ्चायतकालमा विदेश नीति कसरी सञ्चालन हुँदोरहेछ भनेर उहाँले खुलाउनुभएको थियो ।
सन् १९७५ मा भारतले सिक्किम निलेपछि काठमाडौँमा त्यस कदमका विरुद्ध निकै ठूला प्रदर्शनहरु भए, भारतीय दूताबासमा ढुंगा प्रहार भयो । तत्कालीन राजदूत महाराजकृष्ण रसगोत्राले आफ्नो पुस्तक ‘अ लाइफ इन डिप्लोमेसी’ मा यसका बारेमा गरेको विस्तृत व्याख्या पढेपछि थप कुरा बुझ्न म त्यतिबेलाका प्रधानमन्त्री डा. गिरीकहाँ पुगेको थिएँ । त्यतिबेला उहाँ भारत भ्रमणमा जाँदा प्रधानमन्त्री इन्दिरा गान्धीसँग खुबै नोकझोक चलेको रहेछ । दुईजनाबीच उच्चस्तरीय वार्ताका लागि बसिसकेपछि गान्धीले भन्नुभएछ, ‘तपाईंसँग के कुरा गर्ने ? मेरो र मेरो देशको त्यसको त्यत्रो विरोध गर्नुभएको छ ।’
सारीको सप्को हालेर गान्धी उता फर्केपछि आफूले फकाएको प्रसंग सुनाउँदै उहाँले भन्नुभएको थियो– ‘म्याडम, सिक्किममा नेपालीभाषी मानिसहरु छन् । उनीहरुको अस्तित्व लोप हुँदा अरु नेपालीभाषीहरुमा देखिएको स्वाभाविक आक्रोशलाई तपाईंले यति गम्भीरतापूर्व लिन मिल्दैन । अब त्यो मत्थर भइसकेको छ ।’ त्यसपछि गान्धी शान्त भएको र भोलिपल्ट आफ्ना छोरा सञ्जयलाई समेत साथमा ल्याएर ब्रेकफास्ट गराउँदै ‘अंकल अच्छे लोग है, यिनसे अच्छा रिस्ता बनाना’ भनेको प्रसंग सुनाउनुभएको थियो ।
तर, भारत भ्रमणबाट फर्केलगत्तै दरबारले राजीनामा दिन बाध्य पारेको गिरीको कथा कुनै अर्को प्रसंगमा लेखौँला ।
०१७ सालको घटनाका बारेमा लोकतान्त्रिक कोणबाट धेरै कुरा सार्वजनिक भएका छन् । तर, त्यसको भित्री योजना र विश्लेषण धेरैका लागि रहस्यमै छ । त्यसमा पञ्चायत पक्षको विश्लेषण के थियो ? डा. गिरीसँग भएको सम्वादका क्रममा मैले डायरीमा यसरी उल्लेख गरेको छुः
डा. तुलसी गिरीलाई भेट्न जानेहरुलाई सोध्ने प्रश्न हुन्थ्यो– ‘के नेपालमा राजतन्त्र फर्केला ?’ ०१७ सालमा बगिरहेको खोला फर्काउने डा. गिरीलाई पनि अब राजतन्त्र फर्किन्छ भन्ने लाग्दैनथ्यो । तर, आफ्नै पुरानो सिद्धान्त दोहोर्याउँदै भन्नुहुन्थ्यो– ‘नेपालमा राजतन्त्र आवश्यक छ ।’
कुनैबेला बीपीका सबभन्दा निकटस्थ र विश्वासपात्रका रुपमा काम गरेका गिरीले पछि उहाँलाई नै ‘धोका’ दिए पनि कोइरालासँग सहमत भएको भन्दै थप्नुहुन्थ्यो– ‘विश्वेश्वर बाबु र मेरो यसमा एउटै मत छ ।’
यसको कारण भने फरक रहेछ ।
वीपी कोइरालाको डर नेपालमा राजतन्त्र भएन भने कम्युनिस्टहरुले खान्छन् भन्ने थियो भने गिरी चाहिँ राजतन्त्र नभएमा नेपाल पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघिकै स्थितिमा फर्किने विश्लेषण गर्नुहुन्थ्यो । पहिला बाइसे, चौबीसे गरेर अहिले भन्ने गरे जस्तै लिम्बुवान, खम्बुवान राज्य रहेको र अहिले राजतन्त्र नरहेपछि एकाएक त्यही माग उब्जिनुबीच सम्बन्ध रहेको उहाँको विश्लेषण थियो । राजतन्त्रले जोडेको मुलुक राजतन्त्रै रहेन भने पहिलेकै स्थितिमा फर्किन्छ भन्ने बुझाइ बोकेरै उहाँ विदा हुनुभएको छ ।
‘पञ्चायतकी आमा’का नामले चिनिने डा. तुलसी गिरीका लागि शक्तिको केन्द्रमा सधैं राजा रहे । त्यतिबेला महत्वाकांक्षी राजा महेन्द्रसँग गिरीको हिमचिम बढ्यो । ०१६ सालमा प्रधानमन्त्री भएपछि वीपीले आफ्ना कुनै पनि मन्त्रीलाई अनुमतिबिना राजासँग भेट्न अनुमति दिनुभएको थिएन । तर, डा. गिरीको चाहिँ महेन्द्रसँग दोस्ती बढिरहेको थियो । यो कुरा वीपीलाई मन परिरहेको थिएन ।
यत्तिकैमा एकदिन डा. गिरीले आफ्ना पीए सुशील कोइरालामार्फत वीपीकहाँ राजीनामा पठाइदिनुभयो । धेरै दिनसम्म राजीनामा यत्तिकै थन्किएको थियो । एकदिन वीपीले फोन गरेर सोध्नुभयो– ‘आज जापानी युवराजको सम्मानमा शीतल निवासमा रिसेप्सन छ, जाने होइन ?’ गिरीले जाने जवाफ दिएपछि वीपीले भन्नुभयोे– ‘म निवास (त्यतिबेला प्रधानमन्त्री निवास त्रिपुरेश्वरमा थियो) मै छु, मलाई पनि पिकअप गरेर जाऊ ।’
डा. गिरीले गाडी चलाउनुभयो, वीपीले राजीनामाको कुरा झिक्नुभयो– ‘तिमीले किन राजीनामा दियौ ?’ डा. गिरीले जवाफ दिनुभयो– ‘मलाई पहिला तपाईं जुन विश्वास गनुर््हुन्थ्यो, त्यो गर्नुहुन्न भन्ने लागेर दिएको हुँ ।’
वीपीले आज सोध्दाचाहिँ आफ्नो आशंका पुष्टि भएको गिरीलाई लागेछ । उहाँलाई लागेको रहेछ– कोइरालाले आफ्नो राजीनामा देख्नासाथ च्यातेर ‘ए गिरी तिमी पागल भयौ कि क्या हो ? किन राजीनामा दिएको ?’ भन्नुहोला ।
पछि कांग्रेस संसदीय दलको बैठकमा कोइरालाले उहाँको राजीनामा स्वीकार गर्दै भन्नुभएछ– ‘यस पार्टीमा कोही मानिस पनि अपरिहार्य छैन भन्ने देखाउन म डा. गिरीको राजीनामा स्वीकार गर्दैछु ।’
गिरीचाहिँ त्यहाँ हुनुहुन्थेन । विश्ववन्धु थापा पड्किहाल्नुभएछ– ‘तपाईं चाहिँ कसरी अपरिहार्य हुनुभयो त ? हिजो मात्रिकाबाबु प्रधानमन्त्री हुँदा हामीले एउटै मानिस प्रधानमन्त्री र पार्टी सभापति हुनुहुँदैन भन्दा पार्टी फुट्यो र उहाँले अलग पार्टी बनाउनुभयो । आज तपाईं चाहिँ किन दुबै पदमा बस्नुपर्ने ?’
कोइरालाले गिरीलाई राजासँगको हिमचिमबारे पनि सोध्नुभयो, गिरीले ढाँट्नुभएन । ‘तपाईं राजालाई नभेट्नू भन्नुहुन्छ, राजाले बोलाउँछन् । अनि मैले त्यही कुरा भन्दा ‘ए म वीपीलाई भन्छु’ हुकुम भएको थियो । तपाईंहरुका बीचमा कुरा भयो भएन, मलाई थाहा छैन ।’ राजासँग गिरीले बढाएको हिमचिमका बारेमा सशंकित रहेका कोइरालाले भन्नुभएछ– ‘ममाथि साथीहरुको दबाव छ । तिमीलाई कारवाही गर भन्छन् ।’
डा. गिरीले वीपीलाई यो पनि भन्नुभयो– ‘राजासँग नियमित भेटघाटमा छु, उहाँको मुड बुझेको छु र त तपाईंलाई भन्दैछु कि राजीनामा दिनुहोस् ।’
त्यतिबेला राजा महेन्द्र र वीपीबीच बढेको ‘टसल’ले ०१७ सालको घटना भएको डा. गिरीको बुझाइ छ । ‘वीपीबाबुले राजीनामा दिएर सुवर्ण शम्शेरलाई प्रधानमन्त्री हुन दिएको भए ०१७ सालको घटना हुने थिएन’– गिरीको सम्झना थियो ।
वीपीले आफ्नो संस्मरणमा विश्वबन्धुले पार्टीलाई धोका दिएको र डा. गिरीले आफूलाई धोका दिएको उल्लेख गर्नुभएको छ ।
०१७ सालपछि डा. गिरी निर्दलीय व्यवस्थाका हर्ताकर्ता हुनुभयो । दलविहीनताका सिद्धान्तकार भनिएका गिरीका राजासँग पनि मतभेदहरु रहे ।
भनिरहनै पर्दैन– डा. गिरी कुनैबेलामा नेपाली राजनीतिमा एकछत्र हुनुहुन्थ्यो । दल भएनन् भने राजासँग द्वन्द्व हुँदैन र देशमा सहज अवस्था हुन सक्छ भन्ने ठानेर उहाँले सुरु गरेको दलविहीन व्यवस्थाले ३० वर्ष शासन गर्दा पनि उहाँ चाहिँ सन्तुष्ट हुन सक्नुभएन ।
डा. गिरीका अनुसार, उहाँ राजतन्त्रवादी हुनुहुन्थ्यो, राजावादी होइन । एक दिन आफूलाई भेट्न आएका पूर्वमन्त्री दिलबहादुर श्रेष्ठलाई देखाउँदै उहाँले भन्नुभएको थियोे– ‘दाइहरु चाहिँ राजावादी, म चाहिँ राजतन्त्रवादी ।’
तीन पटक प्रधानमन्त्री बनेका डा. गिरी पञ्चायतको अन्तिमतिर देश छोडेर बाहिरिनुभएको थियो । सुरुमा श्रीलंका र त्यसपछि भारतको बैंगलोरमा बस्नुभएका उहाँलाई कतिपयले नेपाल नफर्किन सुझाव दिएका रहेछन् ।
डा. गिरीका अनन्य मित्र पत्रकार विजयकुमार तीमध्येका एक थिए, जो उहाँलाई जमानाका भारतका प्रख्यात क्रिकेट सुनील गवास्करको उदाहरण दिन्थे ।
सुनील आफ्नो जमानाका शक्तिशाली खेलाडी थिए । तर, जब समय बित्दै गयो, उनी खेलबाट बाहिरिए र खेल हेरेर टिप्पणी गर्ने (जज) को स्थानमा पुगे । खेल मैदानमा सचिन तेन्दुलकरको रजगज चल्न थाल्यो । जब सचिनले कुनै बेला मिस गर्थे, जजको स्थानमा बसेका सुनील थकथक मान्थे– ‘धत्तेरिका म भएको भए यसो गर्ने थिएँ ।’ विजयले डा. गिरीलाई भनेका थिए– ‘डाक्टरसाब, समय धेरै बितिसकेको छ । तपाईं पनि नेपाल फर्किनुभयो भने त्यस्तै हुन्छ । त्यसैले बैंगलोरमै आरामका साथ बस्नुहोस् ।’
डा. गिरी बस्नु पनि भएको थियो । तर, उहाँकै शब्दमा ‘परिबन्द’ ले ०६१ माघ १९ पछि उहाँ फेरि राजनीतिको पर्दामा देखा पर्नुभयो । उहाँ त्यतिबेला ७८ वर्ष पुगिसक्नुभएको थियो । राजा ज्ञानेन्द्रले आफ्नो उपाध्यक्ष हुन गरेको आग्रह उहाँले टार्न सक्नुभएन ।
‘राजतन्त्र अप्ठेरोमा परेको बेला सहयोग गर्नु एक राजतन्त्रवादीको कर्तव्य हो’ भन्दै उहाँ उपाध्यक्ष बन्नुभयो । मुख त खोल्नुभएन तर ज्ञानेन्द्र राजनीतिकर्मीमा होइन, सेनामा बढी भर पर्नुभयो ।
भेट गर्दा डा. गिरीको अप्ठेरो शर्त हुन्थ्यो– कुराकानी रेकर्ड गर्न नपाइने, उहाँका अगाडि नोट गर्न पनि नपाइने । संस्मरण लेखेर नयाँ पुस्तालाई पुराना कुरा बाँड्नूस् न भन्दा उहाँको एउटै जवाफ हुन्थ्यो– ‘लेख्दै जाँदा सबै कुराका जड (दोष) त्यहीँ (राजा) पुग्छ । मैले जसका लागि आफ्नो जीवन सेक्रिफाइस गरेँ, त्यहीँ संस्थाका विरुद्ध इतिहास लेखेर किन जाऊँ ?’
अन्ततः केही नलेखी डा. तुलसी गिरी ९३ वर्षको उमेरमा ०७५ पुस २ गते हामीबाट विदा हुनुभएको छ । इतिहासको एउटा जीवन्त पात्रले धेरै कुरा रहस्यमै छाड्नुभएको छ ।
हार्दिक श्रद्धाञ्जली !
from Online Khabar https://ift.tt/2EtMZe4
via IFTTT
No comments:
Post a Comment