Thursday, January 31, 2019

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : ओलीले मात्र होइन, महेन्द्रले पनि कांग्रेस नदेखेकै हुन्

१७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस नदेख्नेहरुकै लाइनमा उभिएको बताएका छन् । तर, उसले कांग्रेस नदेख्नेहरु पराजित भएको इतिहास नर्विसन आग्रह गरेको छ ।

बिहीबार संसदको बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘कांग्रेस त देखेकै छैन भन्छ सरकारले । कांग्रेस त देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्री ।’

‘राणाहरुले पनि कांग्रेस देखेनन्, जुन बेला देखे, धेरै ढिला भइसकेको थियो । कांग्रेसलाई महेन्द्रले पनि देखेनन् । महेन्द्रको अनुदारवादी व्यवस्थालाई विदा गर्‍यो । ज्ञानेन्द्रले देखेनन्, राजतन्त्रलाई विदा ग¥यौं । कांग्रेस नदेख्नेहरुको लाममा कोही उभिँदा हामीलाई चिन्ता छैन । कांग्रेसलाई नदेख्नेहरुले देख्नै पर्छ ।’

आफ्नो रुप हेरि हेरि आफैं दंग

आक्रामक अभिव्यक्ति दिएका उनले सरकारको शैली नयाँ नयाँ जवानी छ…. भन्ने गीत जस्तै भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीजी आफ्नो रुप हेरै आफैं दंग हुनुहुन्छ । हरेक दिन ऐनामा हेरेर वा क्या गजब छु म । क्या गजब साथ देश चलाइरहेको छु म भनिरहनु भएको छ । यो बाटोबाट देश चल्दैन ।’

उनले आफ्नो रुप हेरेर आफैं दंग पर्नेहरु अधिनायकवादी बाटोमा हिँडेको इतिहाससमेत सम्झाए ।

सबैलाई ललकारेको आरोप

कांग्रेस सांसद रिजालले सरकार दुनियाँका सबै मुलुकलाई ललकार्ने बाटोमा हिँडेको आरोप लगाए ।

उनले भने, ‘यस्तो लाग्छ, दुनियाँ दुई ध्रुवमा बाँडिएको छ । पुँजीवादी खेमाको नेतृत्व अमेरिकाले गरिरहेको छ, साम्यवादी खोमाको नेतृत्व नेपालले गरिरहेको छ ।’

‘साम्यवादी दलका अध्यक्ष भन्नुहुन्छ नेपाल र अमेरिकाको लडाइँको चपेटामा विचरा भेनेजुएला पर्न थाल्यो । सत्ताले आफूलाई के देखेको छ मैले बुझ्न सकेको छैन ।’

काठमाडौं खाल्डोबाट धेरै पर नदेखेपनि स्वीट्जरल्याण्ड (डावोस फोरम) मा रहेका प्रधानमन्त्रीले सच्याउलान् भन्ने लागेको तर, जर्मनी, अमेरिका मात्र होइन राष्ट्र संघलाई समेत सबक सिकाउने वक्तव्य दिएको उनले बताए । रिजालले व्यंग्य गरे, ‘स्वभाविक हो, आँखा उठाएर हेर्ने यत्रो छिमेकीलाई तह लगाएको यत्रो अभिमान छ ।’

सरकार आफैंले परराष्ट्र नीति सञ्चालनको सीमा नाघेको भन्दै उनले यो राजनीतिले शान्ति प्रक्रियाको बाँकी काम गर्न मद्दत त गर्छ ? भनेर प्रश्न गरेका छन् ।

यो पनि पढ्नुहोस् : गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध



from Online Khabar http://bit.ly/2Sig2sj
via IFTTT

No comments:

Post a Comment