२३ पुस, जोमसोम । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आइतबार साँझदेखि हिमपात सुरु भएको छ । यो वर्षमै पहिलोपटक हिउँ परेको हो ।
सामान्यतया कात्तिक महिनापछि मुस्ताङमा चिसो बढ्न सुरु हुन्छ । मंसिर, पुस र माघमा यहाँ हिउँ पर्ने स्थानीयले बताएका छन् । मुस्ताङको तल्लो भेग मानिने थासाङ गाउँपालिकादेखि माथिल्लो मुस्ताङसम्म हिउँ परिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । तल्लो भेगको तुलनामा माथिल्लो भेगमा बढी हिउँ परेको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताएका छन् ।
प्रहरीले चिसोबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । हिउँ परेपछि हिउँदे बालीलाई फाइदा पुगेको छ । हिउँदयाममा खेती हुने उवा र जौको सिचाईंको लागि हिमपातमा नै भर पर्नुपर्ने अवस्था छ । स्याउ टिपेर हाँगा–पात काँटछाँट गरेपछिको सिंचाईको माध्यम पनि हिमपात नै हो । पानी कम पर्ने जिल्ला भएकाले हिमपातले कृषकहरुलाई राहत मिलेको स्याउ जोम मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।
हिउँदको समयमा मुस्ताङ सुनसान नै हुने गर्दछ । हिउँदयाममा जाडो छल्न र व्यापारका लागि सर्वसाधारण विभिन्न स्थानमा जाने गर्दछन् । पर्यटक पनि कम मात्र भित्रिने हुँदा अधिकांश होटलहरु पनि बन्द हुन्छन् । उपल्लो मुस्ताङका बिद्यालयहरु जाडोकै कारण पोखराका विभिन्न स्थानमा अस्थाई रुपमा सञ्चालित छन् ।
हिमपातपछि भने कृषक तथा होटल व्यवसायीलाई राहत मिलेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुसार जाडो छल्न र व्यापारका लागि अन्यन्त्र जानेहरु पनि अब विस्तारै मुस्ताङ फर्किने क्रम सुरु हुन्छ । हिउँ खेल्न पर्यटकहरु भित्रिने हुँदा होटल व्यवासायीहरुमा पनि उत्साह बढेको छ । प्रशासनले सर्वसाधारणलाई चिसोबाट जोगिन पटक–पटक सचेत गराएको क्षेत्रीले जानकारी दिए ।
अघिल्लो बर्षहरुमा जस्तो हिमपात भने अझै नभएको स्थानीयले बताएका छन् । ‘जोमसोम मै २–३ फिट जम्ने गरी हिउँ पथ्र्याे,’ स्थानीय कृष्णमोहन नेपाली भन्छन्, ‘अहिले त्यसरी हिउँ परेन ।’ उनी भन्छन्– ‘७१ सालदेखि गतिलो हिउँ परेकै छैन ।’
मुस्ताङमा सदरमुकाम जोमसोमदेखि नजिकैको आकर्षक पर्यटक गन्तव्य ढुम्बा तालमा पानी जमेर बरफ भएको छ । हिउँ परेको कारण अब पर्यटकको संख्या बढ्ने स्थानीयको आशा छ ।
आईतबार देखि मौसम बदली भई चिसो अत्याधिक बढेको छ । सोमबार यहाँको अधिकतम तापक्रम १६ र न्युनतम ६ डिग्री सेल्सियस रहेको छ । निलगिरी, धौलागिरी लगायतका हिमाल हिउँ परेपछि सेताम्मे बनेका छन् । केही ठाउँमा रोकिए पनि अधिकांश स्थानमा अझै हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

from Online Khabar http://bit.ly/2smzWnz
via IFTTT
No comments:
Post a Comment