Wednesday, January 2, 2019

बीबीएल बीचमै छोडेर सन्दीप किन आए बंगलादेश ?

१८ पुस, काठमाडाैं । अन्तर्राष्ट्रिय टि-२० क्रिकेट लिगहरुमा अपरिहार्य बन्दै गएका नेपाली स्पिनर सन्दीप लामिछानेलाई आफ्नो समय तालिका मिलाउन भने कठिन भएको छ । यही कारणले उनी अष्ट्रेलियाको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश आएका छन् ।

मंगलबार सन्दीपले बीबीएलमा मेलबर्न स्टार्सबाट लगातार चौंथो म्याच खेलेका थिए । उनी आफ्नो टिमका तर्फबाट सबैभन्दा बढि ८ विकेट लिने खेलाडी हुन् भने समग्र विकेट चार्टमै उनी तेस्रो नम्बरमा छन् । यसरी बीबीएलमा जमिरहेका सन्दीपले पूर्वप्रतिवद्धताका कारण बीचमै प्रतियोगिता छोड्नुपरेको छ ।

सन्दीप बंगलादेशप्रि मियर लिग (बीपीएल) खेल्नका लागि बंगलादेश आएका हुन् । सो लिगमा उनलाई सिल्हेट सिक्सर्सले अनुवन्ध गरेको थियो । बीबीएलभन्दा अगाडि नै बीपीएलमा अनुवन्ध भएकाले उनले यसलाई प्राथमिकतामा राख्नु परेको हो । यद्यपि, बीबीएलभन्दा बीपीएल चाँडै सकिने भएकाले सन्दीप फेरि अष्ट्रेलिया फर्किन सक्ने सम्भावना पनि छ ।

सन्दीपले फेसबुकमा आफू बंगलादेशका लागि प्रस्थान गरेको जानकारी दिँदै जहाजभित्रका्े फोटो पोस्ट गरेका थिए । उनले बीबीएलमा भाग लिन पाउनु निकै ठूलो कुरा भएको बताएका छन् । सन्दीपको पहिल्यैदेखि सपना बीबीएल खेल्ने थियो । तर, उनले हाई प्रोफाइलको बीबीएल छोडेर लो प्रोफाइलको बीपीएल खेल्न आउनु परेको छ । आफ्नो पूर्वप्रतिवद्धतालाई प्राथमिकतामा राखेर सन्दीपले व्यवसायिकता देखाएका छन् ।

बीपीएलमा सन्दीपको टिममा डेभिड वार्नर, सोहल तन्भिर, सबिर रहमान, मोहम्मद इरफान, एन्ड्रे फ्लेचर जस्ता खेलाडीहरु छन् । बीपीएल जनवरी ५ बाट सुरु हुँदैछ ।

सन्दीपको टिम सिल्हेट सिक्सर्सले पहिलो खेल ६ जनवरीमा खेल्ने छ । सो टिमको अन्तिम ग्रुप म्याच फेब्रुअरी १ मा छ । फाइनल म्याच फेबु्रअरी ८ मा छ । यता बीबीएलको ग्रुप म्याच १० फेबु्रअरीसम्म चल्छ भने फाइनल १७ फेबु्रअरीमा छ ।



from Online Khabar http://bit.ly/2Swub1P
via IFTTT

No comments:

Post a Comment