२३ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले आफूलगायतका सांसदबारे डा. गोविन्द केसीले गरेको टिप्पणीमा असन्तुष्टि जनाएका छन् । डा. केसीले आफ्नै स्तर स्खलित गरेको भट्टराईको टिप्पणी छ ।
आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि डा. केसी आक्रोसित भएका छन् । उनले भट्टराईसहित नेकपाका केही सांसदको नाम लिएर जनतामारा भएको र माफियालाई पोसेको आरोप लगाएका थिए ।
सोमबार नै बसेको शिक्षा समितिको बैठकमा भट्टराईले डा. केसीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
‘उहाँले सभापति, माननीय खगराज अधिकारी, भैरवराज सिंह र मेरो पनि नाम लिएर जे शब्दबाट हामीलाई टिप्पणी गर्नुभएको छ । उहाँलाई कुनै जवाफ दिनुपर्ने आवश्यकता छैन’ भट्टराईले भने, ‘गोविन्द केसीजीले यो बुझिरहनुस्, हामीमाथि जुन शब्दहरु जुन शब्द प्रयोग गर्नुभयो । यो शब्दले उहाँलाई जिन्दगीभर लखेट्छ । पछिसम्म गिज्याउँछ र यो शब्दको भारीले उहाँको टाउको थिचिरहन्छ ।’
भट्टराईले अघि भने, ‘प्रधानमन्त्री र हाम्रो पार्टीको अध्यक्ष प्रचण्डबारे जे शब्द प्रयोग गर्नुभएको छ । उहाँले आफ्नो स्तर स्खलित गर्नुभएको छ । यसरी प्रतिवादमा उत्रनु राम्रो होइन ।’
आफ्ना शब्दहरुलाई सही ढंगले प्रयोग गर्दा डा. केसीको पनि इज्जत हुने भट्टराईले बताए । डा. केसीको व्यक्तिगत इमान्दारितामा प्रश्न गर्न नचाहेको भन्दै उनले सानातिना कुरामा हात हालेर आफ्नो प्रतिष्ठा नगुमाउन सुझावसमेत दिए ।
भट्टराईले चिकित्सा शिक्षा विधेयक संसदको सम्पत्ति भएको भन्दै उनले त्यसमा थपघट गर्ने उसको अधिकार भएको बताए । ‘संसदको आफ्ना सार्वभौमसत्ता हुन्छ । सरकारले भनेको कमा फुलस्टप पनि चलाउन नपाउने भन्ने हुँदैन’ उनले भने, चलाउने पाउनुपर्छ भन्ने नाममा अविवेकी निर्णय पनि गर्दैन ।’
डा. केसीसँग सरकार गरेको सम्झौतामा समेत संसदीय प्रक्रियामार्फत टुंगोमा पुर्याइनेछ भन्ने उल्लेख गरिएको भट्टराईले स्मरण गराएका छन् ।
from Online Khabar http://bit.ly/2RcZP7Z
via IFTTT
No comments:
Post a Comment