Wednesday, January 2, 2019

राजधानीमा नबज्ने प्रेसर हर्न साँगा कटेपछि किन बज्छ ?

१८ पुस, काभ्रे । प्रेसर हर्नका कारण काभ्रेको मुख्य शहर बनेपा, धुलिखेल र पनौतीमा कोलाहल नै मच्चिने गरेको छ । यस क्षेत्रको सडकमा गाडीले बजाउने चर्को हर्नका कारण सर्वसाधारण आजित भएका छन् ।

प्रेसर हर्नका कारण ध्वनि प्रदुषण बढी भयो भन्दै काठमाडौं उपत्यकामा प्रेसर हर्न निषेध गरिएको छ । तर तिनै गाडी साँगा कटेर काभ्रे जिल्लामा आउँदा भने चर्को हर्न बजाउने ट्राफिक प्रहरी बताउँछ ।

‘पूर्व जाने ठूला सवारी र राजधानी भित्रने टिपरहरुले मुख्य सहरमा नै प्रेसर हर्न बजाउँछन् तर ती नै सवारीसाधनहरु साँगा कटेपछि हर्न बजाउँदैन्, हामीले प्रेसर हर्नबाट मान्छेलाइ पर्ने असर केही मात्रा कमि होस् भन्नका लागि सुरुमा प्रेसर हर्न निषेध गर्न लागि परेका छौं’ जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईले भने ।

उनले अगाडि भने ‘प्रेसर हर्न बजाउने बानी साँगा कटेपछि हट्ने यता तिर चाहिं किन उचालिनु पर्ने ? अब बिस्तारै हामी प्रेसर हर्न हटाउदै जान्छौं, एक दिनमा नै हामीले तीन स्थानबाट एक सय भन्दा बढी सवारीको प्रेसर हर्न नै निकालिदिएका छौं ।’

अरनिको र वीपी राजमार्गमा टिपरहरुले विशेष गरि प्रेसर हर्न बजाउने गरेका छन् । दैनिक १५ सय भन्दा बढी टिपर, नौ सय बस बनेपा, धुलिखेल हुँदै आवत जावत हुन्छन् ।

बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले पनि प्रेसर हर्न निषेध गर्ने बताए । शहरमा एकछिन जाम हुँदा विवाहमा बाजा बजाएभन्दा चर्को हर्नको आवाज आउने धुलीखेलका जयराम मगर बताउँछन् । ‘हामी शान्त वातारणमा सानो सहरमा छौं, तर एकछिन कतै जाम भएपछि, विवाहमा बाजा बजाएको जस्तो हुन्छ’ उनले भने,‘काठमाडौं उपत्यका जस्तै हामी पनि सचेत कहिले बन्ने ?’

विकट गाउँ, घुम्ती र चोकमा के बजाउनु अब ?

रामेछापका लागि काठमाडौंंतर्फ जाँदै गरेको बसलाई बुधबार विहान बनेपामा ट्राफिकले प्रेसर हर्न निकाल्न रोक्यो । ट्राफिकले प्रेसर हर्न हटायो, चालकले ट्राफिक प्रहरीलाई प्रश्न गरे ‘सर अब घुम्ती र गाउँका डाँडाकाँडामा के बजाउनु ?

चालक इन्द्र श्रेष्ठले दुखेसो गर्दै भने, ‘सहरी क्षेत्रमा होइन गाउँका लागि राखेका हौं, सहरमा हर्न बजाउने हामीलाइ रहर छैन ।’ टिपरका चालकहरुको पनि गुनासो उस्तै छ, ‘सामान लिन जाँदा टिपरलाई ठाउँठाउँमा साइड पुग्दैन हाम्रो विकल्प के हो ?’



from Online Khabar http://bit.ly/2GOnR4g
via IFTTT

No comments:

Post a Comment