Monday, January 7, 2019

उज्वलजी ! कार्यकर्ता हैन, नेता बन्न सिक्ने कि ?

केही महिना पहिले एकजना विवेकशील साझामा सद्भाव राख्ने मित्रले एकाबिहानै उत्सुक हुँदै मलाई फ़ोन गरे: “दाइ थाहा पाउनु भो ? बिवेकशील साझा पार्टीका संयोजक उज्वल थापा अमेरिका आएका छन् रे नि ?  मैले पनि खुशी हुँदै उहाँसँग कन्फरेन्स कल गरौं न त भनेको, उनले खिन्न हुँदै उत्तर दिए, “वहाँको व्यक्तिगत भ्रमण रे, कसैसँग भेटघाट गर्ने योजना छैन रे ।”

केहि हप्तापश्चात मित्रले पुन: फोन गरेर उज्वलजीको त्यो निस्कृयताका बारेमा थप जानकारी गराउँदै भने, “उनी अमेरिका आए , केही दिन बसे अनि नेपाल फर्किए । निजी काम भन्ने महशुस गरियो, कुनै आपत्ति भएन । तर, मनमा एउटा कुराले तरंग ल्याइरह्यो- उज्वलजी पार्टीका नेता हुन्, जस्तोसुकै निजी काम भए पनि यसो एकपटक ‘हेलो र हाई’ जस्ता सामान्य औपचारिकता पुर्‍याउन किन गाह्रो भयो होला ? ”

त्यसै बेला विवेकशील साझासँग सद्भाव राख्नेहरुवीच चर्चा चल्यो: उनी त आफ्ना पुराना विबेकशीलका समर्थक कार्यकर्ताहरुसँग गोप्य भेटघाट गरेर फर्किए रे !

यो कुरा सत्य हो वा असत्य उज्वलजीले नै जानून् । मित्रले चित्त दुखाउँदै मलाई सोधे, “दाइ उनी विवेकशीलका मात्र नेता हुन् कि विवेकशील साझाका नेता हुन र ? रवीन्द्र मिश्र मिडियामा छाइरहँदा उज्वलको त गाईँगुईँ हल्ला पनि सुनिन्न त !”

म अक्क न बक्क भएँ। केही जवाफ दिइनँ, तर मलाई नै प्रश्न सोधेजस्तो लाग्यो।

मित्रको खिन्नता जायज थियो। दुबै पार्टी एक भए, तर मन एक हुन नसकेको प्रष्ट देखियो । उज्वलजी पूर्वविवेकशीलका संस्थापक नेता हुन् । विवेकशील र साझा दुबै पार्टी एकीकरण भयो तर उनी सधै पुरानो विवेकशीलकै नेताझैँ प्रस्तुत हुने गरेको गुनासो सुनियो । विवेकशील साझाको बैचारिक होस वा संगठनात्मक अभियान होस्, उज्वलजी सधै निस्कृय नै रहेको उनको हरेक गतिविधिबाट विश्लेषण गर्न कसैलाई कठिनाइ परेन।

नेपाली राजनीतिको सबैभन्दा डरलाग्दो रोग हो- दलभित्रको आन्तरिक कलह । त्यसमा पनि दलभित्र आ-आफ्नो समूह बनाई गरिने राजनीतिक किचलो । यतिबेला यो रोग भरपर्दो वैकल्पिक शक्तिको रुप दिने अठोट बोकेको विवेकशील साझा दलभित्र पनि सरेको छ ।

यो पनि पढ्नुहोस विवेकशीलमा विग्रह ! पार्टी गलत बाटोमा: उज्वल थापा

उज्वल थापा नेतृत्वको तत्कालीन विवेकशील नेपाली दल र रवीन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर बनेको विवेकशील साझा पार्टीभित्रको असन्तुष्टि बाहिर छताछुल्ल पोखिएपछि पार्टीप्रति विश्वाश र भरोसा बोकेकाहरुले चिन्ता जाहेर गरेका छन्।

वैकल्पिक राजनीतिका लागि स्थापना भएको विवेकशील साझा पार्टी १६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। थापा र मिश्र दुबैजना पार्टीका संयोजक बनेका थिए।

विवेकशील साझाका एक संयोजक उज्वल थापा पार्टीभित्र बोल्दैनन्, तार्किक बहस गर्न सक्दैनन्, नयाँ भिजन प्रस्तुत गर्दैनन्, संगठन निर्माणका दौरान कहिँ कतै देखिएनन्,  कार्यकर्ताहरु माझ छलफल र सम्वाद शून्यसरह नै छ, उनी सन्चार माध्यमहरुमा पनि बिरलै झुल्किन्छन, नेतृत्वको तहमा रहेर उज्वल थापाले धर्म पालना गर्न सकेनन्, तीन महिनादेखि संयोजन समितिको बैठक नै बहिष्कार गरेका छन् आदि आदि। पार्टी पङ्क्तिमा यी र यस्तै गुनासाहरु सुनिन थालेका थिए ।

पार्टीमा कोही काम गरिरहने तर  कोही चुपचाप छायाँसरह पार्टीको नेतृत्व लिएर बसिरहने तरिका ठीक नभएको समेत कार्यकर्ताहरुले गुनासो गर्न थालेका थिए । पार्टी एकीकरण भएपश्चात पार्टी र बाहिरसमेत उनको मौनता र निस्कृयताको भूमिकाका बारेमा चासो बढदै गएको थियो।

तर, एकाएक कतै छलफल नगरी उनी पार्टी गतिविधिको समीक्षा गर्न भन्दै एक्लै देश दौडाहामा निस्के। केही दिनपछि विवेकशील साझाले संसदीय चुनावपछिका एक वर्ष पार्टीले समातेको बाटो गलत भएको निष्कर्षसहित १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन तयार पारी गत हप्ता पत्रपत्रिकामा सार्वजनिक गरे । पार्टीभित्रको बैचारिक नीतिगत कुराहरु पत्रपत्रिकामा सार्वजनिक गर्नुपूर्व उनले बिधि र प्रकृयागतरुपमा पार्टीभित्र एजेन्डाका रुपमा राखी छलफल नचलाएको भन्दै उक्त पार्टीका प्रवक्ताले जानकारी दिँदै भने, ‘पार्टीको समीक्षा निरन्तररुपमा भइरहनुपर्ने कुरा हो र पछिल्लो कालको प्रशिक्षण र संगठन विस्तारको अभियान लगायत समग्र पार्टी गतिविधिको समीक्षा गर्ने केन्द्रीय समितिको कार्यसूचीमै थियो।’

तर, अर्का संयोजक रवीन्द्र मिश्रले संरचना नबनिसकेको, महाधिवेशन नभइसकेको र भर्खर बन्दै गरेको हाम्रोजस्तो पार्टीको “व्यक्तिगत समीक्षा” गर्दा त्यसले सृजना गर्ने जटीलताले पार्टी निर्माणमा नकारात्मक असर पार्न सक्छ भनेर सचेत गराउँदा गराउँदै अर्का संयोजक उज्वलबहादुर थापाबाटै यस्तो गतिविधि हुनु अत्यन्तै गैरजिम्मेवार कार्य हो भने।

बानेश्वरमा पार्टीबाट आयोजित एक कार्यक्रममा कार्यकर्ताहरुबाट भएको हुलदङ्गामा पार्टीभित्र उज्वल थापा र रवीन्द्र मिश्रको दुई प्यानल स्पष्ट देखिएको हो । उक्त घटनाबाट पक्ष र विपक्षबीच आरोप प्रत्यारोप छताछुल्ल हुँदासमेत उज्वल थापा बोलेनन् । हुलदङ्गा गर्ने कार्यकर्ताहरु अराजक र अनियन्त्रित भएको, पार्टीको अनुशासन पालना नगरेको भन्दै छानविन शुरु गरेको थियो । बरु ढुङ्गा बोल्ला त्यस कार्यमा पनि उज्वल थापा केही बोलेनन् भन्नेहरुको आवाज ठूलो सुनियो।

आफूहरुलाई अन्याय भएको, पटक-पटक आफ्ना माग बेवास्ता गरेको, पार्टीमा अवसरवादीहरु हावी भएको, आफ्ना पक्षका नेता सधै मौन बस्ने देखेर थापा पक्षका कार्यकर्ताहरुले आफूहरु हीनताबोध गर्न थालेका थिए। पार्टीभित्र विवाद यसैबाट चुलिएको र यसैको परिणामस्वरुप एक पक्षबाट उज्वल थापालाई प्रयोग गरिएको र उनको काँधमा बन्दुक राखी पड्काउने अरु कोही नै भएको भन्नेहरु पनि छन्।

गतहप्ता सामाजिक सन्जाल र पत्रपत्रिकामा सुनियोजितरुपमा समाचारहरु सम्प्रेषण गरिए – विवेकशील साझाभित्र बैचारिक मतभेद, खटपट ,पार्टी गलत रुपले सञ्चालन, फूटको संघारमा आदि आदि। पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर रुपले बैचारिक मतभेद देखिएको भन्ने उज्वल थापाको समीक्षा प्रतिवेदन सार्वजनिक रुपले छताछुल्ल हुँदा सद्भाव राख्नेहरुले ब्यापक चिन्ता जाहेर गर्ने नै भए।

यसैवीच आफू संयोजक भएर आफैले पार्टी गलत दिशामा गयो भन्दै बिश्लेषण सार्वजनिक गर्ने कस्ता नेता हुन् ? घरको झगडा चौतारोमा गई शत्रुले सुन्ने गरी हाँक हाल्ने यस्तोलाई संयोजक कसरी भन्ने ? भन्दै थापाप्रति रोष प्रकट गर्नेदेखि सही हो भन्दै उचाल्ने पनि देखिए।

उता पूर्वविवेकशील समूहको गतिविधिहरु हेर्दा दुई दलको एकीकरण देखावटी मात्र भएको देखिन्छ । पूर्वसाझा वालाहरु भन्छन् – “विवेकशीलमा छँदा उज्वलजीले युवाहरुलाई उत्साह त थपे, तर युवाहरुलाई व्यवस्थित गर्न, विवेकी हुन र राजनीतिक आचरण पटक्कै सिकाएनन्। युवा भएपछि अरु योग्यता र क्षमता नचाहिनेजस्तो गरी युवाको डम्फु बजाउने, तर काम गर्न सधैं उदासीनता देखाउने !”

भर्खरै सार्वजनिक भएको बिवादित एकल प्रतिबेदनलाई ईन्गित गर्दै केन्द्रीय समितिको गतिबिधिबारे जानकारी राख्ने एकजना भन्छन, “कुम्भकर्णजस्तो सुत्ने, आफैं सिन्को नभाँच्ने, अनि पार्टीका छलफलमा जड बन्ने र अन्त्यमा देश दौडाहा गरेर पार्टी डुब्न लाग्यो भन्नुजति मूर्खता के हुन सक्ला ?” उनी अझ थप्छन् ।

उता विवेकशील समूहले पार्टीमा बिशेष गरी रवीन्द्रले उज्वलभन्दा सूर्यराज, मुमाराम र केशव दाहाललाई बढी भाउ दिएर पार्टीलाई माओवादी शैलीमा ढालेको आरोप लगाएको देखिएको छ। कतिपयले त सामाजिक संजालमा रवीन्द्र लगायत मुमाराम, सूर्यराज र केशव दाहाललाई असभ्य गाली गलौजमा समेत उत्रेको देखिएको छ।

तर, सत्य के पनि हो भने पार्टीमा काम गर्ने पनि तिनै हुन्, काम गर्दा भएको गल्तीको ज़िम्मेवारी त संयोजकले पनि त लिनुपर्छ नि ! म न विवेकशील न त साझा केवल विवेकशील साझा भन्ने अर्का शुभेच्छुकको भनाइ थियो यो।

समग्रमा उज्वल थापाले उठाएका सवालहरु जायज भए पनि पार्टीमा समीक्षा गरी पारित गर्नुको साटो पहिले नै मिडियाबाजी गर्नु चोर बाटो भएको, पार्टी अनुशासन बिरुद्द भएको र पार्टीलाई यसले झन अराजकतातर्फ लाने देखिएकोले यो विवादले रवीन्द्र मिश्रकै पल्ला भारी भएको देखिन्छ।

पछिल्ला धेरै घटनाहरुको बिश्लेषण गर्दा रवीन्द्र मिश्रले नैतिक, आर्थिक र सांगठनिक बिकासका लागि अहोरात्र काम गरिरहेको देखियो भने उज्वल थापाको रोल संयोजक नभई पार्टीको एउटा सामान्य कार्यकर्ताको भन्दा माथि देखिएन। उनका सामाजिक संजालका गतिबिधिसमेत शून्य देखिए, पार्टी संयोजक एउटा क्लबको अध्यक्षजस्तो देखिए। त्यसैले बैकल्पिक आन्दोलन उचाइमा पुर्याउने हो भने उज्वलजी कार्यकर्ता हैन नेता बन्ने प्रयास गर्नै पर्ने देखिन्छ।

त्यसैगरी काममा ज्यान फालेर लाग्ने रवीन्द्र मिश्र र उनको समूहले पनि असल अभिभावक बनेर बैकल्पिक राजनीतिको आन्दोलनलाई उत्कर्षमा पुर्याउन जरुरी रहेको  शुभचिन्तकहरू बताउँछन्।



from Online Khabar http://bit.ly/2TEb6ev
via IFTTT

No comments:

Post a Comment