Monday, January 7, 2019

न्यानो बाँड्ने अभियानमा वीरगञ्जका युवाहरु

२३ पुस, वीरगञ्ज । भारतको दरभंगा घर भएका विजय झा वीरगञ्जको घण्टाघर नजिकै सुतिरहेका थिए । काम खोज्न वीरगञ्ज आएका उनले काम पाइसकेका थिएनन् । काम नभएपछि दाम भएन । सडकमा बास बस्नुको विकल्प उनीसँग थिएन ।

पुस महिनाको कठ्यागि्रदो रातमा सडकमै सुतिरहेका उनलाई पुस ९ गते राति १० बजेतिरको समयमा केही युवाहरु भगवानकै रुपमा उपस्थित भए । उनीहरुले उनलाई भुँइमा ओछ्याउन म्याट र कम्बल दिए ।

चितवन नारायणघाट घर भइ वीरगञ्जको रजत जयन्ती चोकमा कवाडी बटुल्ने काम गर्दै आएका १६ बषिर्य अर्जुन ठकुरीसहित तीन जना पुस ११ गते राति सडकमै सुतिरहेका थिए ।

दिनभरी कवाडी बटुल्ने काम गर्ने र रातपरेपछि लागूऔषधको नसा लिएर सडक पेटीमा सुत्ने उनीहरुको दिनचर्या थियो ।

१० दिनदेखि उनीहरु त्यसै गर्दै आएका थिए । राति पुगेको एक युवाहरुको टोलीले उनीहरुको दयनीय अवस्थालाई बुझेर तीन-तीन वटा म्याट र कम्बल दिए ।

वीरगञ्जका जागरुक युवाहरु आवद्ध युवा वचन संस्थाको पहलमा वीरगञ्जमा यसैगरी राति सडकमा निस्केर युवाहरुले दिन दुःखीहरुलाई न्यानो बाँडे ।

अरु आरामले न्यानो कम्बल ओढेर घरमा सुतिरहेको चिसो रातको समयमा केही युवाहरु कम्बल, म्याट्रेस, टर्चलाईट बोकेर सडकमा निस्कन्थे । अनि सडकमा कठ्यागि्रदै सुतेकाहरुलाई न्यानो बाँडेर घर र्फकन्थे । यो क्रम पुस २२ गतेसम्म चल्यो ।

१३ दिनसम्म चलेको अभियान मार्फत १७१ थान कम्बल, १४७ थान म्याट्रेस, ५१ थान चप्पल, २५ थान त्रिपाल, दर्जनौं प्याकेट चाउचाउ, बिस्कुट, पानीलगायत सामाग्री वितरण भएको छ ।

वीरगञ्जमा रिक्सा चलाएर गुजारा गर्ने, नसा खाने, गरीब, मजदुर, घरबाट निकालिएका कतिपय मानिसहरु खुल्ला आकाशमुनी नै रात बिताउने गर्छन् ।
खुल्ला सीमाना भएका कारण भारतबाटसमेत काम खोज्न आउनेहरु काम नपाउँदासम्म सडकमै रात बिताउँन बाध्य हुन्छन् ।

युवा वचन संस्थाका अध्यक्ष पियुष कादमिया चिसो रातमा मानिसहरु कसरी खुल्ला आकाशमुनी सुत्न सक्छन ? भन्ने मनमा लागेर सहयोग गर्ने सोच बनाएको बताउँछन् । ‘हामी घरमा मोटो मोटो कम्बल ओढेर सुत्दा समेत चिसो लाग्छ, वीरगञ्जको सडक पेटीमा मानिसहरु खुल्ला आकाशमुनी सुतिरहेको देखिन्छ, ओढ्ने ओछ्याउने पनि गतिलो हुँदैन,’ उनले भने, ‘त्यस्ता दुःखी गरीब सहयोगापेक्षी मानिसहरुलाई सहयोग गर्ने सोच बनायौं । सबैको साथले सफल पनि भयौं ।’

अरुको प्रतिक्षा गरेर बस्दा केही नहुने तर काम शुरु गरेपछि सहयोगी हातहरु पनि जुटने गरेको उनको अनुभव छ । ‘गत वर्ष पनि हामीले ५१ जनालाई यसरी नै सहयोग गरेका थियौं, यस वर्ष १५१ जनालाई सहयोग गर्ने लक्ष्य राखेका थियौं,’ कादमीया भन्छन्, ‘सबैको सहयोगले त्यो भन्दा बढी दुःखी गरिबलाई सहयोग गर्ने मौका पायौं ।’
अभियान सकिएको भएपनि आवश्यक परेको ठाउँमा सहयोगका लागि समन्वय गर्ने लक्ष्य संस्थाले लिएको उनले बताए ।

वीरगञ्ज महानगरपालिका वडा नं २१ परवानीपुरको लालका पुल नजिकैको दलित बस्तीमा २५ घरधुरीलाई कम्बल, म्याट्रेस, चप्पल र त्रिपाल सहयोग गरेर अभियानको समापन गरिएको उनले बताए ।

शुरुमा गाली, पछि बज्न थाल्यो ताली

युवा वचन संस्थामा मारवाडी, मधेसी समुदायका ११ जना युवा आवद्ध छन् । उच्च शिक्षा अध्यययन गरिरहेका उनीहरुको कुनै आय स्रोतको बाटो भने छैन ।

दाताहरुसँग समन्वय गरेर स्रोत जुटाउँछन, अनि लक्षित समुदायसम्म सहयोग पुर्‍याउँछन् । चिसोमा कम्बल वितरण बाहेक नगरको सरसफाइ, रक्तदान, व्यवस्थित वीरगञ्ज अभियानलगायतका सामाजिक काममा पनि उनीहरु सक्रिय हुने गरेका छन् । उनीहरुले गत वर्ष बाढी पीडितहरुलाई पनि सहयोग जुटाएर दिए ।

युवा केटाहरुलाई रातको समयमा घरबाट बाहिर निस्कनु कम चुनौतिपूर्ण छैन । अभिभावकले किन राति राति हिँड्छस ? भनेर उनीहरुलाई पनि गाली नगरेका होइनन् । ‘अभिभावकहरुले घरबाट राति बाहिर निस्कदा शुरुका दिनमा गाली गर्नुभयो, यो स्वभाविक पनि थियो,’ पियुष भन्छन्, ‘काम देखेपछि भने प्रशंसा मात्रै होइन, सहयोग गर्न पनि थाल्नुभयो ।’



from Online Khabar http://bit.ly/2CfUoen
via IFTTT

No comments:

Post a Comment