Thursday, January 31, 2019

कांग्रेसको गम्भीर आरोपमा सभामुखको हाँसीमजाक !

१७ माघ, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले सभामुख कृष्णबहादुर महरामा सभाको अनुहार बन्न नसकेको गम्भीर आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुखले अधिक शक्ति प्रयोग गरेको उसको आरोप छ ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सभामुखको भूमिकामथि प्रश्न उठाए । सभामुखले सबैको हुन्छु भन्ने आस्वस्त पार्नुपर्ने उनको माग थियो ।

तर, सभामुख महराले भने विरोधमा उभिएका कांग्रेस सांसदहरुसँग हाँसीमजाक गरे ।

सभाको अनुहार बन्न आग्रह

सरकारलाई जनताको पक्षमा उत्तरदायी गराउने काम सांसदहरुको भएको र यसको नेतृत्व सभामुखले गर्नुपर्ने कांग्रेस सांसद रिजालले बताए । ‘यहाँ सत्ता पक्ष पनि छ, विपक्ष पनि छ । सत्ता र विपक्ष भन्दा फरक मत राख्छु भनेहरु पनि छ’ उनले भने, सबै अनुहारका बान्कीहरु सभाको अनुहार सभामुखमा देखिनुपर्छ ।’

उनले अघि भने, ‘सभामुख ज्यू उच्च आसनमा हुनुहुन्छ । उचाईको अहमका लागि होइन, टाढाटाढासम्म देख्न सकियोस् । सानो आवाज पनि सुन्न सकियोस् भनेर हो ।’

विगतमा सभामुखमाथि आक्रमण गर्न जाँदा धैर्यता देखाएको र त्यसले संविधान बनेको स्मरण गराउँदै उनले भने, ‘त्यही बेला दुई तिहाई थियो तर, सभामुख त्यो बाटोमा हिँड्नु भएन । त्यही कारण दलहरुबीच वार्ता र सहमति भयो ।’

सभामुखको मान सम्मान गर्ने भन्दै उनले सभामुखलाई सबैको बन्न आग्रह गरे । उनले भने, प्रतिपक्ष आस्वस्त हुन चाहन्छ सभाको संञ्चालन त्यही बाटामा होस् ।’

रिजाल बोलेसकेपछि कांग्रेस सांसदहरु उठे ।

सभामुखको जवाफ

सभामुख महराले प्रतिपक्षले आफूमाथि उठाएको प्रश्नको जवाफ दिन चाहेनन्, बरु हाँसीमजाक गरे ।

कांग्रेसले उठाएको अस्पतालबारे सरकारले निर्णय गरेको भन्दै उनले प्रतिप्रश्न गरे, यो सकारात्मक निर्णयमा खुसीका साथ उठ्नु भएको हो कि के हो माननीय सदस्यहरु ?’ खुसीमा उठिराख्नु पर्दैन, बस्नु भए हुन्छ भन्दै उनी आफैं हाँसे ।

चिकित्सा शिक्षा विधेयकबारे ११ गते पास भइसकेको भन्दै उनले यो विषय उठाइराख्नु नपर्ने बताए । कांग्रेसका सांसदहरु प्रक्रियामा प्रवेश गरेको, पर्याप्त छलफलपछि फरक मतसहित आएको भन्दै उनले भने, ‘प्रक्रियागत ढंगले नै आएको छ । राष्ट्रियसभामा गएको छ, छलफल चलिरहेको छ, नयाँ उचाईमा उठ्छ ।’

कांग्रेस सांसदहरुले उठाएको विषयलाई ध्यानपूर्वक सुनेको र सरकारको पनि ध्यानाकर्षण भएको उनले बताए ।

तर, कांग्रेस सांसदहरु उठिरहे । नेकपाका सांसद विरोध खतिवडाले समय मागेका थिए दिएनन् । तर, कांग्रेस सांसदहरु सरकारको निर्णयको खुसीमा उठेको भन्दै हासिमजाक गरे ।

उनी यतिमा रोकिएनन् । विरोध हो कि समर्थनमा उठ्नु भएको हो बुझ्न सकेन मैले भन्दै ठट्टा गरे ।

धेरै बेर उभिनुभयो भने थाकाई महसुस होला पनि भने । कांग्रेसको विरोध कायमै रहेपछि संसद बैठक २० गतेका लागि स्थगित भएको छ ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : ओलीले मात्र होइन, महेन्द्रले पनि कांग्रेस नदेखेकै हुन्



from Online Khabar http://bit.ly/2G0n1Aw
via IFTTT

No comments:

Post a Comment