Monday, February 11, 2019

नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाउने उनले बताए ।

‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय गरेन,’ अध्यक्ष महरले राजीनामा दिन लाग्नुको कारण खुलाउँदै अनलाइनखबरसँग भने, ‘खाली पदमा मात्र बसिराख्ने, लिजिटिमेसी पनि सकिने कुरा मलाई मन परेन ।’

उनले भने, ‘आज म पदबाट राजीनामा दिँदैछु । त्यसका लागि पार्टी अध्यक्षलाई भेट्न सानेपा कार्यालयमा जाँदैछु ।’

सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

यो पनि पढ्नुहोस नेविसंघ महामन्त्रीसहित ७ पदाधिकारीले दिए राजीनामा

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।

यद्यपि नेपाली कांग्रेसले आगामी स्ववियु निर्वाचनसम्म यही कार्यसमितिलाई निरन्तरता दिने भनेको थियो । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ ।



from Online Khabar http://bit.ly/2SIHQGy
via IFTTT

No comments:

Post a Comment