२३ माघ, सप्तरी । धर्म-संस्कृति र जातीय विविधताको हिसाबले नेपाललाई अनुपम देश मानिन्छ । नेपालको जातीय सद्भाव पनि त्यस्तै अनुकरणीय छ । १२५ भन्दा बढी जातजातीको बसोबास रहेको नेपालमा गावैपिछे भनेजस्तो फरक-फरक मौलीक संस्कृति छ ।
तिनैमध्ये एक हो, दुसाध जाती र उनीहरुको संस्कृती । दुसा समुदायको राहु पूजा जति मौलिक छ उती नै दुस्साहसपूर्ण पनि । यो पूजामा बाँसमा बाँधिएको तलवारको धारमा टेकेर उभिने, उम्लिदै गरेको खीर नाङ्गो हातले निकालेर चारैतिर छर्किने, झर्झराउँदो कोइलामाथि हिड्ने लगायतका गतिविधि गरिन्छ ।
सप्तरीको कंचनरुप नगरपालिका- ८ कंचनपुर बेरियरमा बुधबार यस्तै साँस्कृतिक गतिविधिका साथ राहु पूजा सम्पन्न भएको छ । पूजामा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, कञ्चनरुप नगरपालिकाका मेयर बसन्तकुमार मिश्रलगायत सप्तरी, सिरहा, सुनसरी र भारतीय दुसाध (पासवान) प्रतिनिधिहरु उपस्थित थिए ।
परापूर्वकालदेखिको परम्परा
राहु पूजामा प्रयोग हुने बाँसको पुजा एकसाता अघि नै गरिन्छ । बाँसघारीमा बाँस पूजा सकिएपछि एकसाता पछाडी हुने राहु पूजाको निम्तो बाँडिन्छ । पूजाको दिन एकसाता अघि पुजिएको बाँस ल्याएर तरबार बाधिन्छ ।
बुधबार सम्पन्न पूजामा सुरुङगा नगरपालिका- ८ का सन्तोष कुमार पासवान पूजारी थिए । नाङ्गो हातले उम्लिदैं गरेको खीर निकालेर श्रद्वालीहरुमा छर्कने र तलवारको धारमा टेकेर उभिने आश्चार्यजनक गतिविधि उनले सम्पन्न गरे । उनकै नेतृत्वमा पाँच दर्जनभन्दा बढी दुसाधहरु बल्दै आगोमाथि हिंडे । भेडालाई नमरुञ्जले दाँतले बोकिरहने प्रकृया चाही सुरुङगा- ७ का हरी पासवान पूरा गरे ।
दुसाधहरुले परापूर्वकालदेखि अक्षुण राखेको यो संस्कृतिको एउटा बिषेशता के छ भने राहु पूजा मधेशका जुनसुकै जातका मानिसले आयोजना गर्न र सहभागी हुन सक्छन् । राहु पूजा गरेपछि मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
यस पटकको पूजामा सहभागी कञ्चनरुप- ८ की समलु सदाले गत वर्ष बुहारीको लागि आफुले राहू पूजा गराएर नाती पाएको बताइन् ।

from Online Khabar http://bit.ly/2t9XjRF
via IFTTT
No comments:
Post a Comment