Wednesday, February 6, 2019

मौसमी रुघाखोकीसँग सतर्कताः हात नमिलाउनुस, नमस्कार गर्नुस !

काठमाडौंमा मौसमी रुघाखोकीको संक्रमण बढ्दो छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत जनवरी ( पुस १७ देखि माघ १५) मा आठ सय ६६ जनाको खकार परिक्षण गरेको थियो । उनीहरुमध्ये तीन सय ५९ जनामा एचवानएनवान इन्फ्लुएञ्जा ‘ए’ एचवानएनवान (पीडीएम ०९) पोजिटिभ देखियो ।

त्यस्तै, ए एच थ्री टाइप पोजेटिभको संख्या ९ रहेको थियो भने इन्फ्लुएञ्जा ‘बी’ पोजेटिभ हुनेको संख्या ३९ रहेको थियो । अधिकांश नमुना परीक्षणका क्रममा बिरामीको खकारमा जाँच गर्दा ५० प्रतिशत भन्दा बढी बिरामीमा एचवानएनवान इन्फ्लुएञ्जा ‘ए’ एचवानएनवान (पिडिएम ०९) भाइरस पोजेटिभ देखिएको छ । थोरैमा ए एच३ को संक्रमण देखिएको छ भने इन्फ्लुएञ्जा बीको संक्रमण त्योभन्दा कममा देखिएको छ ।

नेपालमा हाल तीन किसिमका फ्लू भेटिन्छन् । पहिलो इन्फ्लुएञ्जा एएचवानएनवान पीडीएम ०९, दोस्रो  इन्फ्लुएञ्जा बीएचथ्रीएनटु (हङ्गकङ्ग फ्लू) र तेस्रो इन्फ्लुएञ्जा बी । विश्वको तथ्यांकसित तुलना गर्दा नेपालमा अझै पनि ५० प्रतिशत व्यक्तिहरुमा मौसमी रुघाखोकीको संक्रमण देखिएको छ ।  विश्वका अन्य मुलुकहरुमा यसको संक्रमणदर २० प्रतिशतको हाराहारीमा मात्र हुन्छ  ।

त्यसैले, मौसमी रुघाखोकीलाई लिएर नेपाली जनमानसमा धेरै ठूलो त्रास छ । जसले गर्दा विगतको तुलनामा अत्यधिक मानिसहरु जाँचका लागि अस्पताल धाउँछन् । तर, मौमसी रुघाखोकी हुँदैमा आत्तिइहाल्नु पर्दैन । यसले सामान्य बिसन्चो मात्र गराउने हुँदा घरमै बसेर आराम गरेमा पनि ठिक हुन्छ ।

सामान्यतया, मौसमी रुघाखोकी वर्षमा २/३ पटक देखिने गर्छ । जाडो, गर्मी र वषर्ात् सकिने समयमा बढि सतर्कता अपनाउनुपर्छ । यस वर्ष नोभेम्बर तथा डिसेम्बरको तुलनामा जनवरीमा यो समस्या तीन गुणा बढी थियो भने फेेब्रुअरीको १५ देखि कम हुने अपेक्षा गरिएको छ ।

विशेषगरी, गर्भवती महिला, ५ वर्षमूनिका बालबालिका, ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग -जस्तैःमधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धि रोग, दम र अन्य श्वास (प्रश्वास सम्बन्धी) बाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ । उनीहरुको मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ । त्यसैले, जोखिममा रहेका व्यक्तिले धेरै ज्वरो आएमा तुरुन्त खकारको परीक्षण गराउनु पर्छ ।

हाल, मौसमी रुघाखोकीको परिक्षण जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क हुन्छ । त्यसैले, आफूलाई मौसमी रुघाखोकी लागेको शंका लागेमा ती ठाउँहरुमा गएर जाँच गराइहाल्नु पर्छ ।

मौसमी रुघाखोकीका लक्षण

मौसमी रुघाखोकीले सामान्य विरामी गराउँछ । अचानक ज्वरो आउने, घाँटी दुख्ने, घाँटी खस्खसाउने, सास फेर्न गार्‍हो हुने, छाती दुख्ने, छाती भारी हुने, थकित हुने, पातलो दिशा हुने, वान्ता हुने, नाकबाट पातलो सिगान बग्ने, मांसपेशी बौडिने, टाउको दुख्ने इत्यादी लक्षण देखिन्छन् ।

समस्या  जटिल भएमा फोक्सोमा पानी जम्ने तथा शरीरका विभिन्न अंग फेल हुने सम्भावना बढ्छ । त्यसैले, मौसमी रुघाखोकी लागेको निश्चित भएमा र लक्षण देखिएमा परीक्षण नगरे पनि यसलाई फ्लूकै लाइनमा राखेर उपचार गर्नु पर्दछ ।

बच्ने तरीका

– खोक्दा, हाछ्यूँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा वा पाखुराले )

– सही तरीकाले साबुन-पानीले पटक-पटक हात धुने ।

– प्रभावित व्यक्तीसँग हात नमिलाउने, बरु नमस्कार गर्ने ।

– अन्य व्यक्तिसँग कम्तीमा एक वा दुई हात टाढा रहने

– रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने । सम्भव भएसम्म अन्य व्यक्तिभन्दा अलग्गै राख्ने ।

– आँखा, नाक तथा मुखमा अनावश्यकरुपमा हात नलैजाने ।

– जथाभावी नथुक्ने वा सिँगान नफाल्ने ।

– शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने ।

– रुघाखोकी लागेमा ३-५ दिनसम्म घरमै आराम गरेर बस्ने ।

– रोगीलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने  ।

– चुरोट-रक्सी नखाने ।

– दुध चुस्ने उमेरका बच्चाहरुलाई साविक बमोजिम नियमित स्तनपान गराउने ।

– चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहबिना औषधि नखुवाउने ।

नेपालमा हालसम्म बंगुर (स्वाइन) बाट मानिसमा सर्ने स्वाइन फ्लु (जुन विरलै मानिसमा सर्ने गर्दछ) देखिएको छैन । हाल देखापरेको रोग मानिसबाट मानिसमा सर्ने सिजनल इनफ्लुएन्जा -सिजनल इनˆलुएन्जा, इनˆलुएन्जा एएचवान्एन्वान् पीडीएम ०९)  हो । सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले संक्रमण हो । जाडो मौसममा तथा मौसम परिवर्तन हुने वेलामा अघि-पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरो -सिजनल इन्फ्लुएन्जा) बाट प्रभावित बिरामीहरुको संख्या बढ्ने गर्छ ।

(यो  लेख डा. अनुप बास्तोला र डा. हरिशचन्द्र उप्रेतीसितको कुराकानीमा आधारित छ । डा. अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कन्सल्टेन्ट चिकित्सकका रुपमा कार्यरत छन् । त्यस्तै, डा. हरिशचन्द्र उप्रेती टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक हुन् ।)



from Online Khabar http://bit.ly/2GdOi2q
via IFTTT

No comments:

Post a Comment