Tuesday, February 12, 2019

सडकका कारण कुलो भत्किएपछि खेत बाँझै

२९ माघ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मा कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ ।

सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमीन तथा धान लगाउने खेत बाँझै रहेका हुन् । खेतको माथि अन्धाधुन्ध सडक खनी कुलो भत्काएपछि यस्तो समस्या आएको हो ।

कायाखेतका होमप्रकाश सिंहले पाँच रोपनी धान फल्ने खेत खेती लगाउन नपाएको दुई वर्ष भयो । उनको दुई वर्षदेखि धान फल्ने खेतबारी बाँझो छ ।

त्यसैगरी कर्णबहादुर शाहले खेत बाँझो रहँदा धान, गहुँ, जौ, मसुरो, तोरी पनि लगाउन पाएका छैनन् । सिंह र शाह मात्र होइन, कायाखेतका ४० घरपरिवारको २०० रोपनी खेत बाँझै छन् । यहाँका स्थानीयवासीले दुई वर्षदेखि जमीन प्रयोग गर्न सकेका छैनन् ।

उक्त सडकले कायाखेत कुलो भत्काएपछि स्थानीयवासीले २०० रोपनीको धान फल्ने खेत दुई वर्र्षदेखि बाझै रहेको हो । जथाभावी खनेको सडकका कारण माथिबाट आएको पहिरोले खेत र कुलो दुवै पुरेको स्थानीयवासी कर्णबहादुर शाहीले बताए । सडक खन्दा आएको पहिरोको कारण बस्ती पनि जोखिममा परेको छ ।

कायाखेतस्थित टाकुरी बडाखोला डाव सिँचाइ कुलो र कायाखेत डाव सिँचाइ कुलो अवरुद्ध भएको छ । सिँचाइ नहुँदा स्थानीयवासीले कुनै पनि खेती लगाउन पाएका छैनन् । एउटा विकास गर्ने नाममा अर्को विकास ध्वस्त पार्ने काम भएको स्थानीयवासीको भनाइ छ ।

सडकले कुलो भत्किएपछि २०० रोपनीको कायाखेत–ज्युला सिँचाइविहीन बनेको स्थानीयवासी तारा सिंहले बताए । अन्धाधुन्ध सडक खन्दा सिँचाइ कुलो भत्किँदा पनि स्थानीय सरकारले बेवास्ता गरेको सिंहको गुनासो छ । खेतमा पानी लगाउने उपाय नहुँदा खेतीपाती गर्न नपाएको उनले बताए ।

यो त एक उदाहरण मात्र हो । सडक खन्ने क्रममा कुलो भत्काएपछि नलगाड नगरपालिका–४ र ५ मा पनि यस्तै समस्या स्थानीयवासीले भोग्नुपरेको छ । कालीमाटी–पिपलचौर–रघुनाथ–खनटाकुरा–सिर्के सडक, सेराखेत–घुवारा कृषि सडक र पिपलचौर–औल–खाल्चौर कृषि सडकले एकै पटक छ सिँचाइ कुलो अवरुद्ध बनाएको छ ।

वडा नं ४ र ५ को सेराखेत, सिनखेत, पिपलचौर, घुवारालगायत स्थानको ८०० रोपनीभन्दा बढी खेत विगत तीन वर्षदेखि बाँझो रहेको वडा नं ४ का वडाध्यक्ष लक्ष्मीबहादुर रावलले बताए । ‘वडापालिकासँग सिँचाइ बनाउने बजेट छैन, अन्य निकायले हेर्दैनन्’ रावलले भने ।

सिँचाइ अभावमा सयौँ रोपनी खेतबारी बाँझो रहेका छन् भने स्थानीयवासीले खेतबाट उत्पादन लिनबाट बञ्चित हुनुपरेको छ ।

जाजरकोटमा स्थानीय तह तथा अन्य निकायले वातावरणीय प्रभाव मूल्याङ्कनविना सडक संरचना निर्माण गर्दा जमीन बाँझो हुने, भूक्षय हुने, वनजङ्गल विनास हुने, बस्ती पहिरोको जोखिममा पर्ने, पानीका मुहान सुक्नेलगायत वातावरणीय समस्या आउन थालेको स्थानीय चन्द्रबहादुर रावलले बताए । ‘विकास गर्ने नाममा विनास पनि त्यतिकै निम्त्याएको छ’, उनले भने । रावलका अनुसार अवरुद्ध भएका सिँचाइ कुलो बनाउनेतर्फ सरोकारवालाले कुनै चासो देखाएका छैनन् ।



from Online Khabar http://bit.ly/2N5zjs0
via IFTTT

No comments:

Post a Comment