Monday, February 11, 2019

सरकारले राम्रा काम गरिरहेको छ : मन्त्री बास्कोटा

२८ माघ, बुटवल । सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले राम्रा कामहरु गरिरहेको बताएका छन् । सरकारले केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भइरहेको मन्त्री बास्कोटाले गुनासो गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले मिडियाले सरकारका राम्रा कामहरुबारे नलेखेको गुनासो गरे ।
‘मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक काममात्रै देखाउँछन्, खेदाइको पनि सीमा हुन्छ नि’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भनेझैं  सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ ।’

दुई तिहाई बहुमतको सरकारका कामबाट असन्तोष हुने अवस्था नरहेको भन्दै मन्त्री बास्कोटाले लोकतान्त्रिक प्रणालीमा सरकारले ड्याम ड्याम काम गर्न नसक्ने बताए । कतिपयले यो व्यवस्था भन्दा राजतन्त्र वा अरु नै ठीक भनेर आर्टिकल लेख्न थालेको भन्दै मन्त्री बास्कोटाले त्यसो नगर्न आग्रह गरे ।

सरकारले प्रेसलाई नियन्त्रण र संकुचित बनाउने नभई नियमन र मर्यादित बनाउन खोजेको उनले बताए । पूर्ण प्रेस स्वतन्त्रता विश्वका कुनै देशमा नभएको भन्दै उनले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्नेले राज्यबाट केही लिन हुन्न भन्ने मान्यता पनि छ भन्ने नर्बिसन स्मरण गराए ।

पत्रकारहरुको माग अनुसार नै समानुपातिक विज्ञापन नीतिसहितको सञ्चार ऐन ल्याउनुका साथै सातै प्रदेशमा ५० लाख बजेट दिएर सञ्चारग्राम बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

कांग्रेसलाई धैर्य गर्न सुझाव

मन्त्री बास्कोटाले विपक्षी दलतर्फ लक्षित गर्दै लोकतन्त्र कसैको बपौति नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगित गर्दै उनले कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गरे ।

सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्ला चलाइएको उल्लेख गरे ।

कम्युनिष्ट नभएको भए देशमा लोकतन्त्र र गणतन्त्र आउने थिएन भन्दै उनले अर्को चुनावसम्म धैर्य गर्न कांग्रेसलाई सुझाव दिए ।

०४६ साल र ०६२।६३ सालको परिवर्तन कांग्रेस एक्लैले नभई कम्युनिष्टको साथका कारण आएको मन्त्री बास्कोटाले बताए ।

पत्रकार महासंघको साधारणसभामा नगद ५० हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार भगवती पाण्डे र डायलसन अधिकारी तथा १० हजार राशीको बुटवल पब्लिक शैक्षिक पत्रकारिता पुरस्कारबाट लक्ष्मण पोखरेल पुरस्कृत गरिएको थियो ।



from Online Khabar http://bit.ly/2N0LG8z
via IFTTT

No comments:

Post a Comment