२१ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विखण्डनकारी शक्तिविरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ ।
नेपालको इतिहासमै पहिलो पटक देश टुक्र्याउन चाहने शक्ति सतहमा देखिएको भन्दै राप्रपाले राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा सरकारलाई गम्भीर बन्न र त्यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरेको हो ।
आइतबार र सोमबार बसेको केन्द्रीय समितिको निर्णयमा विखण्डनकारी शक्तिले तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना देखिएको बताएको छ ।
राप्रपाले पछिल्लो समय हिन्दू, बौद्ध र किरात धर्माबलम्बीलाई जबर्जस्ती धर्म परिवर्तन गराइएको भन्दै यसलाई नियन्त्रण गर्न माग गरेको छ । ‘धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौंदेखिको नेपाली समाजमा कायम रहदै आएको साँस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन र देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न राप्रपा सरकारसँग माग गर्दछ’ बैठकको निर्णयमा भनिएको छ ।
राप्रपाले विदेशका बैंकमा गैरकानूनी सम्पत्ति लुकाउने र विदेशी लगानीका रुपमा उक्त पैसा ल्याउने क्रम बढेको भन्दै छानबिन गरी अवैध सम्पत्ति जफत गर्न सरकारसँग माग गरेको छ । त्यस्तै वाइडबडी खरिद, ३३ केजी सुनकाण्ड, एनसेल करछली, बुढिगण्डकी परियोजनालगायतका आर्थिक अपचलन र ठूला भ्रष्टाचारको दोषीलाई कारबाही गर्न पनि राप्रपाले माग गरेको छ ।
हिन्दूराष्ट्र पुनस्र्थापनालगायतका माग राखी राप्रपाले फागुन १५ देखि ३० गतेसम्म ताप्लेजुङदेखि कञ्चनपुर हुँदै काठमाडौंसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने घोषणा गरेको छ । त्यसअघि फागुन ७ गते देशभरी प्रदर्शन र प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्लाहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
from Online Khabar http://bit.ly/2TqpyHe
via IFTTT
No comments:
Post a Comment