Friday, February 1, 2019

दायाँ खुट्टाको अपरेसन र सीएमए, अनमीविरुद्धको युद्ध

अनलाइनखबरमा ०७५ जेठ २४ गते प्रकाशित अन्तरवार्तामा डा. मनबहादुर केसीले ‘चिकित्सकबाट रोगी बनाइएकै कारण हामीले दिनमा २/४ जना विरामीको सामना गरिरहनुपर्छ’ भनेका छन् । उनले यो पनि भनेका छन् कि एउटा उपचार गर्ने नाममा डाक्टरहरुबाट थुप्रै जाँच गर्ने गरिएको छ ।

उनले यो पनि थपेका छन्, डाक्टरहरुको त्यस्तै व्यवहारका कारण कमजोर मुटु भएका विरामीहरु रोगको झन् ठूलो चपेटामा पर्ने गरेका छन् ।

डाक्टरहरुले धेरै लापरवाही गर्ने भएकाले पनि डाक्टर मनबहादुर केसीले आफ्नै पेशाका डाक्टरहरुलाई यति गम्भीर अभिव्यक्ति प्रकट गरेका हुन् ।

यसको अर्थ नेपालका डाक्टरहरु सबै त्यस्तै छन्, गैरजिम्मेवार छन् भन्ने होइन । नेपालले स्वास्थ्यका क्षेत्रमा धेरै ठूलो फड्को मारेको छ र त्यसमा डाक्टरहरुको योगदान अतुलनीय रहेको छ । खाली यो पेशाभित्र रहेका कमजोरीलाई मात्रै डा. मनबहादुर केसीले औंल्याएका हुन् ।

डाक्टरी पेशा अत्यन्तै गम्भीर र जिम्मेवारी पेशा हो । डाक्टरहरुका लापरवाहीका बारेमा मैले अनलाइनखबरमा ०७५ भदौ १८ गते सेता डाक्टरका १० धन्दा शीर्षकमा लामो लेख लेखेको थिएँ ।

चिकित्सकीय तथा चिकित्सकीय उच्च व्यवसायिक तहबाट सीएमए, अनमी र ल्याब एसिस्टेन्टजस्ता जनशक्तिलाई असक्षम भएको आरोपसहित खारेज गर्नुपर्ने बहस छेडिएपछि यो लेख लेखिएको हो ।

पछिल्लो समय नेपालको एउटा ठूलो तप्काले सीएमए, अनमी, ल्याब एसिसटेन्टका विरुद्ध युद्ध छेडेको छ । सीएमए, अनमी, ल्याब एसिस्टेन्टजस्ता जनशक्तिलाई स्तरहीन भन्दै व्यापक आलोचना गर्न थालिएको छ । तिनीहरु असक्षम भएको, तिनीहरुलाई उपचार गर्ने कुनै अधिकार नभएको, औषधि सिफारिस गर्ने र बेच्ने अधिकार नभएको आदि कुरा गरिएको छ । उक्त जनशक्तिलाई आगामी ५ वर्षभित्रमा विस्थापित गर्नुपर्ने बहस छेडिएको छ ।

तिनीहरुले नेपालको स्वास्थ्य क्षेत्रमा के अपराध गरेका छन्, जसका कारण उनीहरुलाई असक्षम देखाएर धपाउनुपर्ने ? यदि उक्त जनशक्ति अनावश्यक नै भएको हो भने गाउँगाउँमा जताततै एमबीबीएस डाक्टरहरु पठाउने हो भने उनीहरुले गाउँमा आजसम्म लिएको जिम्मेवारी सुम्पिने छन् । त्यो नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति हुनेछ ।

अहिले जुन-जुन ठाउँमा सीएमएहरु छन्, ती ठाउँहरुमा एमबीबीएस पढाउने हो भने सीएमए, अनमीहरुले आफूले लिएको जिम्मेवारी सुम्पिनुपर्दछ । त्यो जनताका लागि सबैभन्दा ठूलो खुशीको कुरा हुनेछ ।

स्वास्थ्य क्षेत्रमा बहसका लागि हामी देशको वास्तविकतातिरै जानुपर्ने हुन्छ ।

नेपालको सन्दर्भमा परम्परागत उपचारपद्धति बलियो गरी अडिएको छ । हाम्रो पेट दुखेको बेलामा आमाले असुरोका पात, ऐसेलुको बोक्रा, अन्य जडिबुटीका जरा पिसेर सानो सानो गोलीया बनाएर खुवाउनुहुन्थ्यो । हाम्रो घरमा गाउँका अन्य व्यक्तिहरु पनि ती गोलिया लिन आउनुहुन्थ्यो । हामी तिनै खाएर निको हुन्थ्यौं ।

अहिले सामान्य पेट दुख्यो भने सहरका डाक्टरकहाँ जाँदा २/४ हजार सकिदिन्छन् भने गाउँमा परम्परागत उपचार पद्धतिबाटै निको हुने गर्दछ । त्यो उपचारपद्धति गाउँमा आज पनि उत्तिकै शक्तिशाली छ । तुलसीको पात, बेसार र ज्वानो पकाएर सानोतिनो ज्वरो र रुघाखोकी त शरीरबाट सजिलै लखेटिन्छ । त्यत्ति उपचार गराउन डाक्टरहरुलाई २/४ हजार बुझाउनुपर्ने हुन्छ ।

त्यसबाहेक गाउँमा सीएमए, अनमीहरु पुगेका छन् । उनीहरुले जीवनजल, सिटामोल, डाइजिन, क्लोरामफेनिकल जस्ता औषधिले सामान्य बिरामीलाई निको पारिदिन्छन् । त्यतिमात्रै होइन, सलाइन पानी दिन्छन् । लडेर घाइते भएपछि सानोतिनो घाउमा टाँका लगाइदिन्छन् । शहरमा उपचार गएर गएका विरामीको टाँका काटिदिने, डे्रसिङ गरिदिने काम पनि उनीहरु नै गर्छन् । सहरबाट उपचार गरेर फर्किएका विरामीलाई औषधि खुवाउन सिकाउने पनि तिनीहरु नै हुन् ।

बच्चा जन्मिएपछि आमालाई दूख खुवाउन सिकाउने तिनै अनमीहरु हुन् । सालनाल काटिदिने पनि तिनीहरु नै हुन् । लिटो बनाउन सिकाउने पनि तिनीहरु नै हुन् । सीएमए, अनमी र जनताबीचको नङमासुकै सम्बन्ध छ । तर, वास्तविकता त यो छ कि दुर्गम गाउँहरुका लाखौं जनताले आफ्नो जीवनभर एमबीबीएस पढेको डाक्टर नदेखिकनै मृत्युवरण गर्न पुग्छन् ।

सीएमए, अनमी र जनताबीचको नङमासुकै सम्बन्ध छ । तर, वास्तविकता त यो छ कि दुर्गम गाउँहरुका लाखौं जनताले आफ्नो जीवनभर एमबीबीएस पढेको डाक्टर नदेखिकनै मृत्युवरण गर्न पुग्छन्

तर, आज दूरदराजमा रहेर गरीब जनताको सेवामा दिनरात खटिइरहेका तिनीहरुलाई नै सहरमा अपमानित गरिएको छ । उक्त जनशक्तिलाई असक्षम, देशको स्वास्थ्यको लागि जटिल, औषधि बेच्न नपाउने, उपचार गर्न नपाउने जनशक्तिको रुपमा किटान गरिएको छ । तिनीहरुलाई कानुनी रुपमै ठेगान लगाउनको लागि ठूलो प्रोपोगाण्डा मच्याइएको छ । मानौं कि तिनीहरु सामान्य स्वास्थ्यकर्मी होइनन्, अपराधी हुन्, जसले जनतालाई उपचार गर्न नजानेर मारेका छन् ।

एउटा राष्ट्रिय आवश्यकताका आधारमा सीटीइभीटीमार्फत् उक्त जनशक्ति उत्पादन गरिएको थियो । उक्त जनशक्तिले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै ठूलो योगदान गरेको छ ।

हामीले एकपटक डाक्टरहरुको लुट र उपचारमा गरिने लापरवाहीलाई पनि हेरौं । विर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, नारायणघाट, बुटवल, नेपालगञ्ज र धनगढी जस्ता सानाठूला शहरहरुमा उपचारको नाममा डाक्टरहरुबाट विरामी लुटिएका छन् । विरामी मात्रै होइन, ल्याब एसिस्टेन्टजस्ता स्वास्थ्यकर्मी पनि शोषणमा परेका छन् । एउटा एमबीबीएस, एमडी डाक्टरले एसएलसी सरहको ल्याब टेक्निसियनबाट ल्याब परीक्षण गरेवापत् ४० प्रतिशतसम्म कमिसन लिने गरेका छन् ।

केही वर्ष पहिले बुटवलको एउटा औषधि पसलले प्यूठानबाट विरामी ओसारेर सबै रोगको एउटै डाक्टरले उपचार गराएको र विरामीको चरम शोषण गरेको घटना अझैसम्म पनि बुटवलमा चर्चा हुने गर्दछ ।

अपरेसन गर्दा पाठेघरमा कैंची छोडिएको, देब्रे खुट्टा भाँचिंदा दाहिने खुट्टाको अपरेसन गरिएका घटनाहरु पनि जनताको मनमस्तिष्कमा ताजा नै छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मनबहादुर केसीले डाक्टरहरुले नै विरामीलाई झन् धेरै विरामी बनाउने गरेको एउटा सनसनी अन्तर्वार्ता दिएको कुरा माथि नै उल्लेख गरिसकिएको छ ।
डाक्टर मनबहादुर केसीले आफ्नै पेशाका डाक्टरहरुलाई त्यत्तिकै आरोप लगाएका थिएनन् । स्वास्थ्य क्षेत्रको अवस्था नै त्यही रहेको छ । माथि उल्लेखित सहरहरुमा मात्रै होइन, अन्य सहरहरुमा पनि त्यही अवस्था रहेको छ । विरामीको स्वास्थ्यमा लापरवाही धेरै डाक्टरहरुबाट हुने गरेको छ । पैसाकै लागि डाक्टरहरुले जे गरिरहेका छन्, त्यो अनुचित नै छ । त्यसलाई नियन्त्रण गर्ने काममा नेपाल चिकित्सक संघ र स्वयं डाक्टरहरु पनि लाग्नुपर्दछ ।

गाउँघरमा सीएमएहरुलाई बोलीचालीको भाषामा डाक्टर नै भनिन्छ । तिनीहरुले दुरदराजमा हुने सामान्य बिरामीलाई गाउँमै उपचार गरेर सहरको महंगो उपचारबाट रोकेका छन् । यदि जटिल रोग भएमा सहरका अस्पतालहरुमा जानको लागि सुझाव पनि तिनीहरुले नै दिने गर्दछन् । उनीहरुले गाउँका गरिबहरुलाई खुशी नै बनाएका छन् ।

उनीहरुले मात्रै होइन, सामान्य साक्षर वा ८ कक्षा पास गरेका ग्रामीण स्वास्थ्य स्वयंसेविकाले पनि परिवार नियोजनका सामग्री बाँडेर वा जीवनजल दिएर गाउँमा खुशी नै ल्याएका छन् ।

डा.बाबुराम भट्टराईले बेलाबेलामा सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्छ भन्छन् । तर नेपालको आवश्यकता के हो भने ८ कक्षा पढाइ पूरा गरेका सबैलाई आधारभूत स्वास्थ्य तालिम दिनैपर्छ । त्यसो भयो भने ग्रामीण क्षेत्रमा खानपिन, सरसफाइ, सर्ने र नसर्ने रोगहरुबारे जानकारी हुन्छ । स्वास्थ्यको बारेमा आफू सचेत हुन्छन् र परिवारलाई पनि सचेत गराउँछन् । महिलाहरुलाई त झनै आवश्यक छ । महिनावारी, गर्भावस्था, बच्चाको हेरचाह, खोप, सरसफाइजस्ता महत्वपूर्ण कुरा परिवार र महिलाको जीवनका अनिवार्य आवश्यकता हुन् ।

गाउँले खोजेको के हो ?

दूरदराजका गाउँले खोजेको डाक्टर नै हो । नेपाल सरकारले छात्रवृत्तिमै पनि हजारौं डाक्टरहरु उत्पादन गरिसकेको छ । तिनीहरुले गाउँमा गएर सेवा गर्लान् भनेरै सरकारले छात्रवृत्तिमा पढाएको हो । यदि छात्रवृत्तिमा नपढाएको भए पनि सरकारी जागिर खाएपछि गाउँमा गएर उपचारमा संलग्न हुनैपर्छ । तर धेरै डाक्टरहरु गाउँमा गएर गरिबको सेवा गर्दैनन् ।

सरकारी छात्रवृत्तिमा पढेर गाउँमा गएर विरामीको उपचार नगर्ने डाक्टरहरु जनघाती नै हुन् । तिनीहरुले गरिबको करबाट पढेर तिनै गरिबलाई सेवा गरेका छैनन् । बरु आफ्नै पैसामा पढेर गाउँको स्वास्थ्यचौकीमा तिनै सीएमए, अनमी डाक्टरहरुले विरामीहरुलाई आधारभूत तहको स्वास्थ्य सेवा दिएका छन् । तिनीहरुले नै परिवार नियोजनका साधन बाँडेका छन्, सरकारले उपलब्ध गराएका औषधि बाँडेका छन् । हरेक महिना तालिका बनाएर नियमित खोप लगाएका छन् । सुत्केरी गराएका छन् ।त्यसैले दूरदराजका गाउँहरुका डाक्टर भनेका सीएमए र अनमी नै हुन् ।

के पढाइ हुन्छ र तीव्र विरोध गरियो ?

सीटीइभीटीबाट सम्बन्धन लिएर देशभर सयौं प्राविधिक शिक्षण संस्थाहरु खोलिएका छन् ।सीएमए कोर्षमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, एनाटोमी एण्ड फिजीयोलोजी, महामारी र सरुवा रोग, साधारण चिकित्सा, औषधि र औषधि विज्ञान, स्वास्थ्य र प्राकृतिक सरसफाइ, सामान्य ल्याब परीक्षण, सामान्य सर्जरी र प्राथमिक उपचार आदि विषय पढाइ हुन्छ भने तीन महिनाको ओजेटी ।

जम्माजम्मी १ हजार ५ सय ६० घण्टाको पढाइ हुन्छ । यसले विद्यार्थीहरुमा स्वास्थ्यप्रतिको आत्मविश्वास बढाउनुको साथै सामान्य उपचारपद्धति पनि ज्ञान हुन्छ । उनीहरुले गर्ने ओजेटीले त्यो आत्मविश्वासलाई अझै बढाउने काम गर्दछ ।

ल्याबमा हेमाटोलोजी, माइक्रोबायोलोजी, एनाटोमी एण्ड फिजीयोलोजी, बायोकेमेस्ट्रीजस्ता विषयहरु पढाइ हुन्छ । अनमीमा पनि एनाटोमी एण्ड फिजियोलोजी, आधारभूत नर्सिङ, महामारी तथा सरुवा रोग, सामुदायिक स्वास्थ्यलगायतका विषयहरु पढाइ हुन्छन् ।

ती विषयहरुले स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी दिने मात्रै होइन कि स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनको लागि पनि सहयोगीसिद्ध हुन्छ । म केही दिनपहिले शिक्षण अस्पताल पुगेको थिएँ । त्यहाँ मधुमेहसम्बन्धी, हाडजोर्नी दुखाइसम्बन्धी अस्पतालको प्यासेजमै कक्षा सञ्चालन भइरहेको थियो । काठमाडौंको अस्पतालमा आएका विरामीहरुलाई त त्यसरी कक्षा दिनुपर्ने आवश्यकता छ भने गाउँका दूरदराजका जनतालाई स्वास्थ्यसम्बन्धी व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता छ ।

यसकारण फेजआउट आवश्यक छैन

ती विषयरु किन फेजआउट गर्ने ? अहिले ती विषयहरुलाई फेजआउट गर्ने भन्ने कुरा बहसमै ल्याउनु आवश्यक छैन । बरु उक्त जनशक्तिलाई सही तरिकाले परिचालन गर्नुपर्ने आवश्यकता छ । जाजरकोटको महामारी, गाउँमा बेलाबेलामा फैलिने झाडापखाला, हैजा जस्ता सरुवा रोगको विरुद्ध लड्नका लागि जनचेतना फैलाउने काममा, सामुदायिक स्वास्थ्यको महत्वको बारेमा उनीहरुलाई जिम्मेवारी दिइनुपर्दछ ।

गाउँमा गर्ने प्राथमिक उपचार उनीहरुबाट भइरहेको छ । त्यसलाई प्रभावकारी बनाउने गर्नुपर्दछ । यो कोर्षलाई यही रुपमा रहन दिने कि अझै विकसित गर्दै जाने भन्ने कुरा समयको मागले नै निर्धारण गर्दछ ।

निरन्तर विकास गर्दै लैजानु नै उपयुक्त हुनेछ । सामान्य साक्षरको रुपमा रहेका ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई त राज्यले जिम्मेवारी दिइरहेको छ भने उनीहरुले केही न केही ज्ञान, सीप र क्षमताको विकास गरेका छन् । त्यसलाई सदुपयोग गर्नु नै उपयुक्त हुनेछ ।

(विद्यार्थी नेता पोखरेल अखिल छैठौंका केन्द्रीय अध्यक्ष हुन्)



from Online Khabar http://bit.ly/2HI5wGQ
via IFTTT

No comments:

Post a Comment