२२ माघ, काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।
रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले आईसीसीले दिएको रोडम्याप अनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।
आईसीसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढीला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।
साक्षात्कारमा मन्त्री विश्वकर्माले आईसीसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए ।
निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५ हजार, ‘बी’श्रेणीका खेलाडीले मासिक रु २५ हजार र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।
नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आईसीसीलाई आग्रह पनि गरे ।
खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
क्रिकेटकै प्रसंगमा मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साढे दुई वर्षभित्र निर्माण सम्पन्न हुने दावी गरे । जग्गा विवाद समाधानको प्रस्ताव मन्त्रिपरिषदले पास गरेर बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेको र अर्थले प्रस्ताव स्वीकार गर्नासाथ टेण्डर आह्वान गर्ने उनले जानकारी दिए ।
चितवनको भरतपुरमा बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरकार आफैंले नबनाएर किन अरुलाई जिम्मा दियो भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको जवाफ दिए ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सरकार आफैले पनि रंगशाला बनाउने भन्दै उनले भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । यसैगरी सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने सरकारको लक्ष्यअनुसार काम भइरहेको पनि बताए ।
मन्त्री विश्वकर्माले आगामी सेप्टेम्बरमा हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न गर्नका लागि सरकारले तिव्रताका साथ तयारी अगाडि बढाइरहेको बताए ।
‘१३ औँ साग पहिलो प्राथमिकतामा छ । कार्ययोजना बनाएर काम गरिरहेका छाैं । पूर्वाधार बनाएर प्रतियोगिता गराउनु चुनौतिपूर्ण छ । तर पनि हामी समयमै काम सम्पन्न गर्न लागिपरेका छौँ,’ मन्त्री विश्वकर्माले भने ।
सागको तयारी स्वरुप भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री विश्वकर्माले जानकारी दिए । भिआईपी प्याराफिटको छाना हाल्नमात्रै बाँकी रहेको उनले बताए । त्यसैगरी सातदोबाटो र पोखराको रंगशाला मर्मतको काम पनि अघि बढेको जानकारी दिए ।
साग अगाडि नै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी भइरहेको भन्दै मन्त्री विश्वकर्माले दुवै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने प्रयास भइरहेको बताए ।
from Online Khabar http://bit.ly/2S8sdc3
via IFTTT
No comments:
Post a Comment