२६ फागुन, दार्चुला । नेपाली सेनाले त्रिदेशीय सीमा क्षेत्रमा हिमाल दर्शन-४ अपरेसन सुरु गरेको छ । नेपाली सेनाले दार्चुलाको त्रीदेशीय सीमा क्षेत्रमा शनिबारबाट यो अपरेसन सुरु गरेको हो ।
सदरमुकाम खलंगास्थित दुर्गादल गुल्मबाट सह-सेनानीको कमाण्डमा रहेको नेपाली सेनाको टोलीले अपरेस सुरु गरेको दुर्गादल गुल्मका गुल्मपति मेजर गणेश रावले जानकारी दिए ।
सीमाक्षेत्रमा सुरक्षा अवस्थाकोे स्थलगत अनुगमनका साथै सैनिक गस्तिको अभ्यास गर्न लागेको नेपाली सेनाले जनाएको छ । सीमाक्षेत्रमा हुने सम्भावित अपराध, चोरी शिकारी र गैरकानुनी गतिविधिमा निगरानी बढाउन सेनाले अपरेसन थालेको हो । गुल्मपति रावलका अनुसार हिमाल दर्शन-४ अपरेसन सेनाको नियमित तालिकाअनुसार सञ्चालन गरिएको हो ।
शनिवारबाट सुरू भएको अपरेसन चैत्र १५ गतेसम्म सञ्चालन हुनेछ । सदरमुकाम खलंगाबाट महाकाली नदीको किनारैकिनार भएर व्याँस क्षेत्रसम्म सेनाको टोली पुग्नेछ ।
मौसमी अनुकुलता रहेमा चिनसँगको सीमा नाका तिंकरसम्म पुग्ने अपरेसन टोलीको योजना छ । २० दिनसम्मको हिमाल दर्शन-४ अपरेसनमा सीमाक्षेत्र र उच्च हिमाली क्षेत्रमा पुग्ने सेनाको योजना छ ।
नेपाली सेनाले महाकाली किनार भएर अन्तर्राष्ट्रिय सिमानामा चौथो पटक गस्ती गर्न लागेको हो । यसअघि सुरूमा २०७० सालमा सेनाको टोली तिंकरसम्म पुगेको थियो । २०७२ सालमा दोस्रो पटक र गतवर्ष तेस्रोपटक नेपाली सेनाले सिमाक्षेत्रमा गस्ती गरेको थियो ।
यसरी नेपाली सेनाको टोलीद्धारा सीमा क्षेत्रमा गस्ती गरिनु राष्ट्रियताप्रतिको बफादारीको संकेत गरेको स्थानीयहरुको भनाइ छ । सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति हुने स्थानीयवासीको प्रतिकि्रया छ ।
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सरकारले हालसम्म बाह्रैमास सुरक्षाकर्मी उपस्थित हुने सुरक्षा पोष्ट राख्न सकेको छैन । यसअघि दार्चुलाको तिंकरमा बिओपी राख्ने बताइए पनि हालसम्म त्यसबारे कुनै सुरसार देखिएको छैन ।
सामरिक महत्व बोकेको त्रिदेशीय सीमा क्षेत्रमा अहिलेको सुरक्षा उपस्थिति वर्षमा ६ महिना मात्रै हुने गरेको छ । यसरी ६ महिना मात्रै सुरक्षा उपस्थित हुने व्याँस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरीको पट्रोलिङ गस्ती तथा यस्ता अपरेसनले स्थानीयहरुलाई सुरक्षाको प्रत्याभूति हुने विश्वास लिइएको छ ।
from Online Khabar https://ift.tt/2TrZz6c
via IFTTT
No comments:
Post a Comment