भर्खरैको कुरा हो, हामी चार दिदीबहिनीहरु माइली दिदीको घरमा जम्मा भएर घाम ताप्दै गफिरहेका थियौं । कुरा गर्दा दिनले नेटो काटेको पत्तो नै भएन । अचानक मेरी ठूलीदिदीले आत्तिँदै घडी हेर्दै भन्नुभयो ओहो ! चार पो बजेछ ! छिटो घरमा गएर खाना पकाउनु छ ।
त्यही कुरालाई अर्की दिदीले पनि दोहोर्याउनु भयो । छेवैमा बसेकी साइली दिदीले आज तरकारी के पकाउने होला, एउटै तरकारी कति पकाउनु, अचार नभई त बुढाले खानै खान मान्दैनन्, भन्दै गर्दा मचाहिँ उहाँहरुको कुरा ध्यान दिएर सुनिरहेकी थिएँ ।
त्यसैवीचमा माइली दिदीले कुनै दिन अरुले पकाएको खान पाए कति मीठो हुन्थ्यो होला, कति एउटै काम गर्नु, दिक्क लागिसक्यो भन्ने गुनासो पोख्नुभयो ।
वास्तवमा नेपाली समाजमा परम्परागत रुपमा महिला भनेपछि चुल्हो र चौका गर्नुपर्ने जातका रुपमा लिने चलन छ । महिला र चुल्हो एक अर्काका पर्यायवाचीजस्तै भएका छन् । साँच्चै के महिला नहुनेको घरमा चुल्हो बल्दैन त ?
यसरी हेर्ने हो भने पुरुषले नि भान्साको काम नगर्ने त होइनन् । तर, महिलाले जस्तो गरी व्यवस्थित तरिकाले पकाउने र खुवाउने काममा अलि कमजोर नै हुन्छन् जस्तो लख मैले काटेँ ।
एउटी गृहिणीलाई घरमा रहेका हरेक सदस्यलाई मनपर्ने, मन नपर्ने उसको आहार कति छ, सबै कुराको ख्याल हुन्छ । कसैले आहारा भन्दा कम खायो भने, खाना मीठो नभएको कारणले थोरै खाएको हो कि ? भनेर आफैंलाई मनमनै प्रश्नहरु गर्ने गर्छन् ।
आमाको मन झन कोमल र छोराछोरीका लागि सँधैं छोराछोरीले के खाए होलान्, खान पाए कि पाएनन् भन्ने चिन्ताले पिरोलिन्छ । बाबुलाई भने त्यस्ता कुराको ख्याल हुन्न । यदि छोराछोरीलाई केही खानुपर्यो भने बाहिर किनेर खानु भनेर हातमा रुपैयाँ थमाइदिन्छन् । श्रीमती माइत गइन् या कुनै कामका लागि घर बाहिर निस्किन् भनेपछि श्रीमानहरुले कि बाहिर होटेलमा खाने गरेका उदाहरणहरु प्रशस्त छन् ।
एउटा घर सुन्दर र शान्त बनाउनमा असल गृहिणीको ठूलो भूमिका हुन्छ भन्ने भनाइ पनि छ । के महिला मात्र सहनशील, शान्त र सधैंभरी हँसिलो अनुहारमा सबैसँग व्यवहार गर्नुपर्ने ? तीनपाने खाएर दिनभरि बाह्रमासे खेल्ने पुरुषले त्यस्तो व्यवहार महिलालाई देखाउन नपर्ने ?
महिलालाई तपाई के गर्नुहुन्छ ? भन्ने प्रश्नमा सँधै एउटै जवाफ हुन्छ, गृहिणी हुँ, केही काम गर्दिन, वास्तवमा महिलाले २४ घण्टामा १८ घण्टा लगातार काम गरिरहेका हुन्छन् । उक्त कामको आर्थिकरुपमा गणना नभएकै कारणले महिलाले पनि भान्साको कामलाई कामजस्तो मान्दैनन् ।
घरमै बसेर काम गर्ने महिलालाई मात्र होइन, विभिन्न कार्यालयहरुमा काम गर्ने कामकाजी महिलाहरुलाई पनि खाना पकाउनेे चटारो सँधैं परिरहन्छ । नेपाली समाजमा विभिन्न उत्सवहरुमा जस्तै विवाह, व्रतबन्ध, पूजा आदिमा महिलालाई खाना पकाउनकै लागि समयमा आउन भनेर आग्रह गरिन्छ । विवाह पछि नवदुलहीले खाना पकाउन जान्छे कि नाई भनेर खाना पकाउन लगाइन्छ र सबै आफन्तलाई खुवाउन लगाइने चलन अझै व्याप्त रहेको छ ।
हामी घरमा छोराछोरी छन् भने, छोरीलाई भान्साको सबै काम जान्नुपर्छ भनेर सम्झाउँछौं, तिमी अर्काको घर जाने जात फेरि तिम्री आमाले केही सिकाइन्छन् भन्ने आरोप आउँछ भन्ने डर हामी महिलालाई नै बढी हुन्छ । तर, सँगैको छोरालाई ओछ्यानमै चिया पुर्याइदिन्छौं र छोरालाई घर व्यवहार सिक्नुपर्छ भन्ने कुरै गर्दैनौं ।
कहिलेकाहीँ महिला बिरामी पर्दा औषधी खाएर खाना पकाउ है ? भन्ने स्वरहरु पनि पुरुषबाट सुन्न पाइन्छ, सकी नसकी पकाएको खाना मीठो भएन, नुन लागेन बढी मसलेदार भयो, यो पुगेन, त्यो पुगेन भनेर खप्की पनि महिलाले नै खानुपर्छ ।
घरमा खाना कति छ, पुग्छ कि पुग्दैन भन्ने ख्यालै नगरी खानेबेलामा पाहुना थप्ने काम चाँहि पुरुषको हुन्छ । त्यहीँ पाउनाले मीठो खाना खान पायो भने महिलाको गुनगान गाउँछ । कारणवस मीठो भएन भने नानाथरी कुरा काट्दै हिँड्ने चलन पनि छ । कति दिन महिलाले आधापेट खाएर र फेरि खाना पकाउनुपर्ने झण्झटले भोकै बस्ने गरेका पनि प्रशस्त उदाहरणहरु छन् ।
भान्साको खाना मीठो नमान्नेहरु घरमा के सकिएको छ ? केको आवश्यकता छ त्यसको केही चिन्ता हुन्न, त्यसको सबै जोहो महिलाले नै गर्नुपर्छ, भलै पुरुषले ती सामाग्रीहरु किन्ने पैसाको बन्दोबस्त गर्ला ।
हाम्रो समाजमा कसैको श्रीमती बितिन् या अर्कैसँग पोइल गइन् भनेपछि घरमा चुल्हो बाल्न अर्की श्रीमती बिहे गर्नुपर्यो भनेर हाम्रै समाजले उसलाई उस्काइरहेको हुन्छ ।
कार्यालयमा बसेर कुरा गर्दै गर्दा एकजना सहकर्मी साथीले भन्नुभयो, आज मेरो घरमा चना राम्ररी हाँस्न सकेन, त्यही कारणले मेरा परिवारले मैले पकाएको खानाको स्वाद पाएनन् र भने आज जाँगर नगरी खाना पकाउनुभएछ भनेर । मलाई अचम्म लाग्यो यो चना नि हाँस्छ र ! अनि आफ्नो कौतुहल मेटाउन उनै सहकर्मीसँग सोधे यो चना हाँस्नेे भनेको केहो म्याडम ? के तपाईका तिर साँच्चिकै चना हाँस्छ र ?
मेरो कुरा सुनेर उहाँ एकछिन हाँस्नु भयो अनि भन्नुभयो चना बेसरी भुट्टएिर प्वाट्ट फुटेको हुनुलाई चना हाँस्नु भनिन्छ । त्यसरी पकायो भने स्वादिष्ट मान्छन् । तर, आज कार्यालय छिटो आउनु पर्दा हतारमा राम्ररी पाक्न पाएन । अनि सोधें सरको फुर्सद थियो होला नि, उहाँसँग सहयोग माग्नुभएन ? मेरो यो पटकको कुरा सुनेर उहाँ पहिलेभन्दा अझ जोडले हाँस्नुभयो र भन्नुभयो- तपाईको श्रीमानले खाना पकाउनुहुन्छ र ?
उहाँको प्रश्नले म आफैं पनि सोच्न बाध्य भएँ । मेरो घरमा नि कुन चाहिँ पुरुषले खाना पकाउँछन् र ?
महिलाहरुले पुरुषलाई भान्साको काम गर्न दिन नचाहेका पनि होइनन्, पुरुषले खाना बनाउँदा जताततै फोहोर गर्ने, सामान छरपष्ट पार्ने गरी भद्रगोल पारिदिन्छन् । फेरि आफूलाई थपिने काम के गर्नु भन्ने सोचले महिलाले खाना पकाउने जिम्मेवारी आफैंले लिन्छन्, भन्ने गरिन्छ ।
महिला एक आपसमा भेट हुँदा खाना र लगाउनका कुरा बाहेक केही आउँदैन । वास्तवमा यस्ता विषयमा कुरा हुनु नि स्वभाविक हो । किनभने, मान्छेको अनुभव र दिनचर्या जेमा बित्छ, त्यही कुरा बाहिर आउँछ, यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा नै छैन ।
भान्साको काम बाहेक महिलाले बच्चाबच्ची हुर्काउन, खेतीपाती, जागिर अन्य विभिन्न कामहरु गर्नुपर्छ । राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा महिला समानता र समताका निम्ति विभिन्न नीतिगत संस्थागत तथा कार्यविधिगत व्यवस्थाहरु प्रशस्तै छन् ।
नेपाल अन्तर्राष्ट्रिय महासन्धी तथा अभिसन्धिहरुको पक्ष राष्ट्र पनि बनिसकेको छ । महिलाको शशक्तीकरण र मूलप्रवाहीकरण गर्नका लागि सामाजिक न्यायमा आधारित सकारात्मक विभेद, आरक्षण जस्ता महिला लक्षित कार्यक्रहरु पनि सञ्चालनमा छन् । तर, त्यसको व्यवहारमा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा महिलाहरुले मानसिक र शारीरिक लगायतका यौनजन्य तथा अन्य प्रकारका घरेलु हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् ।
राज्यका हरेक तह र तप्कामा महिलाको पहिचान, पहुँचमा सार्थक सहभागिता र नियन्त्रण हुनुपर्छ । महिलाको सामाजिक, राजनैतिक र आर्थिक विकासमा जोड दिनेखालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।
महिला र पुरुषबीच समानता प्रवर्द्धन गर्ने, विकासका सारा प्रयासमा महिलाको पुनःएकीकरण सुनिश्चित गर्ने तथा विश्व शान्तिको सुदृृढीकरणमा महिलाको योगदान बढाउने आह्वानसहित सन् १९७२ मा संयुक्त राष्ट्र संघले सन् १९७५ लाई अन्तरराष्ट्रिय नारी वर्षका रुपमा घोषणा गर्योे । यही आधारलाई टेक्दै सन् १९७५ मा मेक्सिकोमा पहिलो विश्वमहिला सम्मेलन सम्पन्न भयो ।
त्यसैगरी नैरोबी, बेजिङ्ग ल्लस ५, १०, १५ जस्ता विभिन्न विश्वव्यापी सम्मेलनहरु आयोजना सम्पन्न भइसकेका छन् । त्यस्तै सह्रशाब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्यमा पनि महिलाका सवालहरुलाई सम्वोधन गर्न खोजिएको छ ।
नेपालको संविधानले महिला हकको व्यवस्था गर्दै महिलाको नागरिक तथा राजनैतिक अधिकार र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सुनिश्चिता, सबै क्षेत्र र तहमा समावेशीकरण, सकरात्मक विभेदको नीति अवलम्वन गर्ने प्रयास गरेको छ ।
नेपालमा राजनीतिक तहमा रहेको सहभागितालाई दक्षिण एशियामा नै उल्लेखनीय मानिन्छ । राज्यका तिनैवटा तहमा महिलाहरुको गरिमामय उपस्थिती पनि छ । सार्वजनिक सेवामा महिलाको सहभागिता पनि बढ्दै गएको छ ।
यति हुँदा पनि नेपाली समाजमा महिला माथिको विभेद, लैङ्गकि हिँसा, श्रम बजारमा विभेद भएका घटनाहरु प्रशस्त देखिन्छ ।
सबै महिलाको सामाजिक, आर्थिक तथा राजनैतिक शशक्तिकरण गर्दै दीगो शान्ति एवं विकासमा महिलाहरुको भूमिकालाई सशक्त बनाउने र महिला विरुद्धका विभिन्न प्रकारका लैङ्गकितामा आधारित हिंसा एवं विभेदको अन्त गर्न सके मात्र ‘लैङ्गकि समानातको लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ नाराले सार्थकता पाउनेछ ।
(रेश्मा नेपाल सरकारकी शाखा अधिकृत हुन्)
from Online Khabar https://ift.tt/2IU1hrY
via IFTTT
No comments:
Post a Comment