१९ फागुन, गोरखा । ऐतिहासिक गोरखा दरबारमा बादर आतंक बढेको छ । विगत दुई वर्षदेखि बाँदरको संख्यामा वृद्धि भएको स्थानीयहरु बताउँछन् । ‘दुई वर्ष अघिसम्म बाँदर खासै देखिदैनथ्यो,’ स्थानीय सीता योगीले भनिन्, ‘तर अहिले हुलका हुल आउँछन् ।’
स्थानीयलाई मात्र होइन दर्शनका लागि आउने भक्तजनलाई पनि बाँदरले दुःख दिने गरेको छ । ‘मन्दिरमा चढाएको प्रसाद टिप्ने त सामान्य भइसक्यो, भक्तजनले ल्याएको प्रसाद र फूल हातैबाट खोसिदिन्छ,’ उनले भनिन् ।
बादरले सताउन थालेपछि दरवार हेरचाह अड्डाका कर्मचारी पनि आजित छन् । निगरानीका लागि दरवार क्षेत्रमा जडान गरिएको सीसी टिभिमा समेत क्षति पुर्याएको कार्यालयका खरिदार शंकर बाबु गरम्जाले बताए । ‘चार वटा सीसी टिभि मध्य तीन वटा बिगारिसक्यो,’ उनले भने, ‘दरवार क्षेत्रमा लगाएको बोट बिरुवा पनि भाँचिदिने गरेको छ ।’ खानेपानी वितरणका लागी प्रयोग भएको पाइपमा समेत क्षति पुर्याउने गरेको उनले बताए ।
बादरले दरवार छाएको झिंगटी उप्काउन थालेपछि संरचना पनि जीर्ण बन्दै गएको छ । काठको धमिरा खानका लागि झिंगटी उप्काउने गरेको कर्मचारीहरु बताउँछन् ।
पुनर्निर्माणको क्रममा रहेको गोरखा दरबारमा बाँदरले उपऽो मच्चाउन थालेपछि थप जोखिम बढेको छ । ‘पुनर्निर्माणका लागि भत्काइएको दरवारको कतिपय सामानहरु आसपास नै मिलाएर राखेका छौं, बादर उफि्रने हामफाल्ने गर्दा खसेर केही दुर्घटना भइहाल्छ कि भन्ने डर हुन्छ,’ उनले भने ।
हाल दरबार क्षेत्रमा मात्र करिब आठ सयको संख्यामा बादर रहेको कार्यालयको अनुमान छ । पशुपति क्षेत्रबाट ट्रकमा बादर ल्याएर छाडिएको कर्मचारीहरुको दावी छ ।
सुरक्षाकर्मीको हातमा गुलेली
बादर धपाउन अहिले स्थानीय र कर्मचारीले साथमा गुलेली राख्ने गरेका छन् । मान्छेलाई नटेर्ने बाँदर गुलेली ताकेपछि भाग्ने गरेको स्थानीयको भनाइ छ ।
कर्मचारीलाई कार्यालयले गुलेली उपलब्ध गराएको हो भने स्थानीय व्यापारीहरुले आफै किनेका हुन् । ‘ढुङ्गा ताक्दा पनि भाग्दैन, तर गुलेली ताकेपछि भने भाग्छ, गुलेलीमा ढुङ्गा नराखी ताक्ने मात्र गरेका छौ,’ स्थानीय सीता योगीले भनिन् ।
बाँदर धपाउनकै लागी दरबार क्षेत्रमा खटिने सुरक्षाकर्मीले समेत गुलेली लिने गरेका छन् । दरबार हेरचाह अड्डाले उनीहरुलाई गुलेेली उपलब्ध गराएको हो ।
from Online Khabar https://ift.tt/2VD7SZH
via IFTTT
No comments:
Post a Comment