Thursday, March 7, 2019

पोखरा नगर बसमा अब ‘पेपरलेस’ यात्रा

२३ फागुन, पोखरा । उसै पनि सार्वजनिक गाडीमा यात्रा गर्दा केही हतारो नै हुन्छ । भनेको ठाउँमा सिट नपाइने अनि हुलमुलमा ठेलिँदै जानुपर्ने समस्या । व्यस्त बजारका जाम छिचोल्दै गन्तव्यमा समयमै पुग्नुपनि ठूलै चुनौती हुन्छ । गन्तव्यमा आइपुगेपछि बसका सहचालकले भाडा माग्न आइपुग्छन् । उनीहरुलाई पनि छिटो जानुपर्ने हुन्छ, यात्रुलाई पनि ।

नजिकको यात्राभन्दा टाढाको यात्रामा केही सुविधा हुन्छ । कुन ठाउँ जानुपर्ने हो, त्यो ठाउँको टिकट लियो अनि आनन्दले सिटमा बसेर गयो । छोटो रुटमा पनि यस्तै सुविधा भए सजिलो हुने थियो भन्ने सबै यात्रुको चाहना । पोखरा महानगरपालिकाले नगर बसमा अब छोटो दूरीका सबमा पनि टिकेटिङ सुविधा ल्याउने भएको छ ।

सिट, र कार्ड देखाउँदै ‘भाडा घटाऊ’ भन्नुपर्ने र नोट सटही गर्दा आइपर्ने समस्यालाई हटाउन इटिकेटिङ सुविधा ल्याउने भएको छ ।

पोखरा महानगरपालिकाले वैशाखबाट महानगर बसका छोटो रुटमा पनि टिकट र कार्ड सुविधासहित ‘पेपरलेस यात्रा’ लागू गर्ने भएको हो । महानगर मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले एन क्लाउड संस्थासँग सहकार्य गरी योजना ल्याउन लागेको जानकारी दिए । ‘यो सुविधा लागू भयो भने यात्रुलाई मात्रै होइन, बस व्यवसायीलाई पनि समय र पैसा दुवैको बचत हुनेछ,’ उनले भने, ‘यसमा यात्रु ठगिने सम्भावना पनि न्यून हुन्छ ।’

तिमिल्सिनाले कार्ड प्रयोग गर्न कुनै एक बैंकसँग सहकार्य गर्ने र महानगरले निश्चित म्यादसहितको कार्ड जारी गर्ने जानकारी दिए । ‘टिकट काटेर चढेपनि हुन्छ । त्यो भन्दा सजिलो उपाय बैंकको एटीएम कार्डजस्तो कार्ड वितरण गर्छौं,’ उनले भने, ‘पछि महानगरले त्यही कार्डलाई स्मार्ट कार्ड बनाउने योजना पनि भइरहेको छ ।’

एन क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठीले पहिलो चरणमा महानगर बसमा इटिकेटिङ लागू गर्ने र त्यसपछि टयाक्सी र अन्य सार्वजनिक बसमा विस्तार गर्ने जानकारी दिए । इटिकेटिङ सुविधामा बसको सहचालकलाई एउटा डिभाइस दिइएको हुन्छ । उसले त्यही डिभाइसको सहयोगमा यात्रुले भनेको ठाउँको टिकट पाउँछन् ।

‘उनीहरुले पहिले निश्चित ठाउँमा रकम जम्मा गरेको हुन्छन्, त्यहीका आधारमा कार्ड पाउँछन्,’ श्रेष्ठले भने, ‘यात्रुले सजिलोका लागि कार्ड नम्बर डाइल गरेपनि हुन्छ ।’ उनले सुरुमै सबैसँग कार्ड असम्भव हुने हुँदा इटिकेटिङनै भरपर्दो हुने बताए । उनले साझा र विभो बसका लागि कार्ड बाँड्न सुरु भइसकेको जानकारी दिए ।

पोखरा बस व्यवसायी समितिका महासचिव अमृत शर्माले ‘पेपरलेस यात्रा’ लागू भए व्यवसायीलाई पनि फाइदा पुग्ने दाबी गरे । ‘पैसा नै तिरेर टिकट लिए दिनभरमा कति टिकट बिक्री भयो भन्ने जानकारी संस्थालाई जान्छ । कार्ड प्रयोग गरेको भए त्यो रकम सिधै खातामा जान्छ,’ उनले भने, ‘यसबाट व्यवसायीको आम्दानी तथ्यांक पनि पारदर्शी हुन्छ ।’

महासचिव शर्माले पेपरलेस यात्राले व्यवसाय परिमार्जन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘यो सुरुमा साझा बसमा मात्रै थियो । अब पोखरामा पनि लागू गर्दैछौं । यसले स्मार्ट सिटीलाई पनि सहयोग मिल्नेछ,’ उनले भने, ‘यसले एक त व्यवसाय परिर्माजन पनि हुन्छ । अर्को प्रविधिमैत्री पनि हुन्छ ।’



from Online Khabar https://ift.tt/2EA9Anq
via IFTTT

No comments:

Post a Comment