१९ फागुन, वीरगञ्ज । वीरगञ्जमा आज (आइतबार)देखि अश्वमेध गायत्री महायज्ञ सुरु भएको छ । महायज्ञको देव संस्कृति विश्वविद्यालयका कुलाधिपति एवंम अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा.प्रणव पाण्ड्याले उद्घाटन गरेका हुन् ।
मौसममा देखिएको खराबीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन डा. प्रणवबाट गरिएको हो ।
मुल आयोजक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले उद्घाटन समारोहमा राष्ट्रपति विद्या भण्डारीले पठाएको सन्देश पढेर सुनाइएका थिए ।
सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मूल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले राष्ट्र धर्ती र वातावरणको परिशोधनका लागि हुन लागेको महाज्ञको सफलताको कामना समेत गरेकी छन् ।
महायज्ञको उद्घाटनपछि डा. पाण्ड्याले गायत्री मन्त्रोच्चारणसहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी चिन्तन बढ्ने बताए । ‘महायज्ञपछि मानिसहरु बदलिनेछन्, खराब काम गर्नेहरुको संख्या घट्नेछ, सदबुद्धि बढ्नेछ,’ उनले भने, ‘महायज्ञपछि विश्वमा नेपालको नाम सशक्त र सम्पन्न हुने विश्वास हाम्रो छ ।’ उद्घाटनमा डा.पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।
उनले नेपाल र भारत सँगसँगै हिडेर दुवै देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । ‘भारत र नेपाल दाजुभाइ हुन्, सँगसँगै हिडेर एक अर्काको संस्कृति र भाषा, भविष्यलाई अगाडि बढाउनुपर्छ, नेपाल र भारतका युवा शक्ति सँगसँगै अगाडि बढ्नुपर्छ ,’ उनले भने, ‘अब अध्यात्मबाट मात्रै उन्मुक्ति मिल्छ, अध्यात्म भनेको पहेँलो बस्त्र लगाउनु मात्रै होइन, जीवन जीउने कला सिकेर अगाडि बढ्नु नै अध्यात्म हो ।’
उनले महायज्ञमा आउन नसकेपनि शान्ति कुञ्ज हरिद्वारमा आउन राष्ट्रपति भण्डारीलाई आग्रह गरे ।
महायज्ञमा पाण्ड्यासँगै उनकी श्रीमती अखिल विश्व गायत्री परिवारकीी प्रमुख शैलबाला पाण्ड्याको पनि उपस्थिति रहेको छ ।
महायज्ञ आयोजक समितिका अध्यक्ष डा.महतोले आफ्नो देश अरुले नबनाउने भएकोले आफैंले बनाउनुपर्नेमा जोड दिए । ‘मेहनत गर्ने हो भने हामीले पनि हाम्रो देश बनाउन सक्छौं समय लाग्दैन । अरुको भर परेर देश बन्दैन,’ महतोले भने, ‘नेपाललाई संसारमा विकसित मुलुकको रुपमा अघि बढाउन यज्ञले सदबुद्धि देओस, समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गर्ने वातावरण बनोस भन्ने कामना छ ।’
उद्घाटन कार्यक्रममा महायज्ञ आयोजक समितिका संयोजक एवं वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वीरहरुको भूमि वीरगञ्जमा आयोजना भएको महायज्ञ सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
२५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव संस्कृति दर्शाउने प्रदर्शनी राखिएको छ । शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्नेछन् ।
युग संगीत, सत्सँग एवं सांस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।
from Online Khabar https://ift.tt/2NFeXpJ
via IFTTT
No comments:
Post a Comment