२२ फागुन, चितवन । चितवन मेडिकल ‘हब’को रुपमा विकास हुँदै जाँदा यहाँ रगतको अभाव मात्रैं हुने गरेको छैन, रक्त सञ्चार केन्द्र व्यवस्थित नहुँदा समस्यासमेत खडा हुन थालेको छ ।
अस्पताल थपिदा रगतको माग बढेको छ तर रगत वितरण गर्ने क्षेत्रीय रक्तसञ्चार केन्द्र भने वषौं पुरानो भवनमा साँघुरो गरी सञ्चालित छ ।
०४३ सालबाट सञ्चालनमा आएको भवनमा दाताले नयाँ उपकरण दिँदा पनि राख्ने ठाउँ नभएको नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने बताउँछन् ।
रक्तसञ्चार केन्द्र भवन निर्माणका लागि विभिन्न दाताहरुले रकम दिने भनिए पनि भरपर्दो जग्गा उपलब्ध नहुँदा योजना अलपत्र परेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताए ।
रक्तसञ्चार केन्द्रको आधुनिक सुविधासम्पन्न भवन बनाउन एनआरएन, कोइका लगायतका संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘भवन बनाइदिने दाता भेटिए, तर जग्गा भेटिएन,’ रेडक्रस चितवनका सभापति ज्ञानशाली न्यौपानेले भने, ‘चितवनमा अस्पताल थपिएका छन्, बेड थपिएका छन्, सर्जरीका केस बढेका छन्, तर रक्तसञ्चार केन्द्रको क्षमता पुरानै हुँदा ठूलो समस्या भोगेका छौं ।’
अहिले रक्तसञ्चार केन्द्रले भरतपुर अस्पतालको २ कठ्ठा १० धुर जग्गामा प्रयोग गर्दै आएको छ । रेडक्रसले पश्चिमतर्फ नहर छेउमा रहेको भरतपुर अस्पतालकै १५ धुर जग्गामा भवन बनाएर भाडामा लगाउँदै आएको छ ।
रक्तसञ्चार केन्द्रले आधुनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन यहाँका राजनीतिक दल, भरतपुर महानगरपालिका र प्रशासनका अधिकारीलाई दवाव दिदैं आएको छ ।
गएको कात्तिक २९ गते बसेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीको अध्यक्षतमा बसेको सर्वपक्षीय बैठकले नेपाल रेडक्रस सोसाइटी चितवन शाखालाई भरतपुर अस्पतालको स्वामित्वमा रहेको जग्गा दिने निर्णय गर्यो ।
निर्णयमा सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद घनश्याम दाहाल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रजिअ जितेन्द्र वस्नेत, मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्माले हस्ताक्षर गरेका छन् ।
अस्पतालको स्वामित्वमा रहेको आँखा अस्पतालको उत्तर पश्चिमतर्फ बाटोले छोएको ३० मिटर मोहडा हुने गरी ६ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णयमा उल्लेख छ । तर, भरतपुर अस्पतालको सरकारी लालपुर्जा पुरानो मेडिकल कलेजले मालपोत कार्यालयमा धितो राखेर ऋण निकालेका कारण अरू प्रकृया अघि बढ्न सकेको छैन ।
सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यविधि २०७१ को दफा १० टेकेर जग्गा दिन सकिने भनिएपछि जग्गा उपलब्ध दिन नसकिने भरतपुर अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले सबै संघसंस्थाले भरतपुर अस्पतालकै जग्गाप्रति आँखा लगाएकोमा आपत्ति जनाए ।
क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले पूर्वी चितवनको टाँडीमा रक्तसञ्चार केन्द्रका लागि जग्गा उपलब्ध भएको तर, राजनीतिक दल, विभिन्न सरोकारवालाहरुले भरतपुरका नै बस्नुपर्छ भनेर दवाव दिएकोले जग्गाका लागि अनुरोध गरेको बताए ।
‘अस्पताल एकातिर, रक्तसञ्चार केन्द्र अर्कोतिर हुने कुराले फाइदा कसैलाई गर्दैन भन्ने हाम्रो धारणा छ,’ प्रमुख पौडेलले भने, ‘भरतपुर महानगरपालिकाले भरतपुरमा जहाँ जग्गा उपलब्ध गराएपनि हामी भवन बनाउँछौं।’ वडा नः ४ को छहारी वसपार्क नजिक पनि जग्गा हेरेको उनले बताए ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र यहाँका सबै अस्पतालहरूका लागि आवश्यक भएकोले सबैको साथ रहने विश्वास प्रमुख पौडेलले ब्यक्त गरे ।
भरतपुरमा अहिले दुई ठूला मेडिकल कलेज, विषेशज्ञ सेवासहितको भरतपुर अस्पताल, क्यान्सर अस्पताल, साना ठूला २६ वटा नीजि तथा सामुदायिक अस्पताल छन् । रक्तसञ्चार केन्द्रले क्यान्सर अस्पतालमा पनि सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
चितवनमा दैनिक औसत ४० युनिट रगतको आवश्यकता पर्दछ । पूर्वपश्चिम राजमार्गको बारा, पर्सा रौतहट, सर्लाहीदेखि बुटवल कपिलबस्तुसम्मको लामो खण्डमा हुने दुर्घटनाका घाइतेहरुको भरतपुरमा नै उपचार हुँदै आएको छ ।
साथै, पृथ्वी राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइते, क्यान्सरको बिरामीहरू एवम् सुत्केरी महिलाहरूका लागि बढी मात्रामा रगतको आवश्यकता पर्दछ ।
चितवनमा ०२७ साल साउन ६ गते रेडक्रस स्थापना गरिएको हो । जिल्लामा ३३ वटा उपशाखा, ५ वटा सहयोग समिति, २३० जुनियर सर्कल छन् ।
यसैगरी ३२ युवा रेडक्रस सर्कल, ४९ जना यशस्कर सदस्य, २१७ जना विशिष्ट सदस्य, १० हजार ७ सय ८१ आजीवन सदस्य, १४२ साधारण सदस्य, २२९ जुनियर सदस्य र ४० जना कर्मचारी यसका छन् ।
from Online Khabar https://ift.tt/2J8SZwT
via IFTTT
No comments:
Post a Comment