Friday, April 26, 2019

नर्सको आन्दोलनले मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

१३ वैशाख, भक्तपुर । नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा ग्रेडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्नेजस्ता छ बुँदे माग राखी केही दिनयता कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधबार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेपछि केन्द्रको सेवा प्रभावित भएको हो । केन्द्रका नर्सले आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् ।

प्रशासनसमक्ष पटक–पटक ग्रेडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ सङ्घ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले जानकारी दिइन् । उनले भनिन्, ‘तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहे पनि कुनै सुनुवाइ नभएपछि सेवा बहिष्कारको आन्दोलन शुरु गरेका हौँ । हाम्रा मागलाई हुन्छहुन्छ भनियो तर, सात-आठ महीनासम्म झुलाउने मात्र काम भयो । त्यसैले हामीले आन्दोलनको विकल्प देखेनौँ र यो कदम चाल्नुपर्यो ।’

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिए । उनले पटक–पटकको प्रयासबाट हालै केन्द्रको दरबन्दी स्वीकृत भएर आएको जानकारी दिँदै स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने काम भइसकेको र अब एक-दुई दिनमा विज्ञापन खुल्ने हुँदा आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले भने, ‘हामीले विभिन्न प्रयासबाट अस्पतालका नर्सको स्थायी प्रक्रिया पूरा गर्दैछौँ, जसका लागि केही दिनमा लोकसेवाबाट प्रक्रिया अगाडि बढ्छ होला, यस्तो बेला आन्दोलन गर्नुपर्ने कुनै कारण छैन ।’

यस्तै निर्देशक डा. श्रेष्ठले अस्पतालको तर्फबाट आफ्ना कर्मचारीलाई दिने अन्य सेवासुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको समेत बताए ।

आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ । हाल अस्पतालमा दैनिक १०० भन्दा बढीको मिर्गौला डायलासिस तथा हप्ताको सात मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।

उनले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुःखद् रहेको बताए ।

नर्सिङ कर्मचारीले सेवा छाडेर आन्दोलन गरे पनि आइसियू, आकष्मिक, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा. श्रेष्ठले बताए । करीब छ वर्षअघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको केन्द्रमा हाल ९६ नर्स कार्यरत छन् ।



from Online Khabar http://bit.ly/2L0RlOt
via IFTTT

No comments:

Post a Comment