२२ चैत, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सहयोगार्थ भोलि मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा कलाकारहरुको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धात्मक क्रिकेट खेल्नेछन् ।
कहिल्यै ब्याट र बल नसमाएका कलाकारहरु पनि यतिबेला भोलिको म्याचका लागि अभ्यासमा जुटिरहेका छन् । उनीहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नै सिकाइरहेको फाउन्डेसनका संयोजक सीताराम कट्टेल धुर्मुसले अनलाइनखबरलाई बताए ।
‘धेरै कलाकारहरु उत्साहका साथ हरेक बिहान मैदानमा आएर अभ्यास गरिरहनु भएको छ,’ उनले भने, ‘कलाकारको टिम छनोट गर्न मुस्किल नै पर्यो ।’
क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । क्रिकेटरबीचको खेल अगाडि कलाकारबीचको खेल आयोजना हुने बताइएको छ ।
अहिले अभ्यासका लागि सुनिल थापा, बद्री पंगेनी, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, सुरजसिंह ठकुर, सलिनमान बनिया लगायत कलाकारहरु दैनिक किर्तिपुर मैदानमा धाइरहेका छन् । आज कलाकारको समुह विभाजन गरिएको छ ।
ए टिममा मदनकृष्ण सहित सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, सन्दीप क्षेत्री, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।
यस्तै, समूह बीमा हरिवंशसहित निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, बीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, सलिनमान बनिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

क्रिकेटरको भने टोली विभाजन यसअघि नै भइसकेको छ । नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन् । नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब, सुसन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन् ।
भोलि दिउँसो १० बजे त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । खेलको टिकट इसेवामार्फत पनि काट्न सकिने छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ ।
भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पिडितहरुलाई छुट्याउने फाउन्डेसनले घोषणा गरिसकेको छ ।

from Online Khabar http://bit.ly/2YJlzIG
via IFTTT
No comments:
Post a Comment