Saturday, April 20, 2019

कविता – छोरी माने स्त्री !

छोरी माने स्त्री
स्त्री माने छोरी

छोरी हुनुको
अर्को नाम हो सम्झौता

छोरी हुनुको
अर्को नाम हो आधा-आधा बाँच्नु
यसो भनौं– आफैंलाई बाँढेर टुक्र्याएर जिउनु

छोरी हुनुको
सिङ्गै स्वतन्त्रता
कसैकी पत्नी भैसक्दा आधा हुन्छ
कसैकी पत्नी हुनु बुहारी हुनु हो
बुहारी हुँदै आमा बनिसक्दा
सम्बन्धका हर साइनोमा
आफुलाई टुक्रा-टुक्रा पार्दै लगेर जोड्नु हो

यसरी आफैंलाई भाग लगाएर
सिङ्गै जिन्दगी खर्चेपछि
उनी आदर्श मूली हुन्छिन्
अधिकारविहीन मूली
समर्पणको उपहार
तिनै एक आदर्श

समयका अनेक कालखण्डहरु
छिचोल्दै
वर्तमानसम्म आइपुग्दा
हाम्रा कैयौं
हजुरआमाहरु
आमाहरु
भाउजूहरू
दिदी-बहिनीहरु
छोरीबाट पत्नी, बुहारी, आमामा टुक्रिए
र बाँचे उनीहरु मात्र स्त्री भएर .. !



from Online Khabar http://bit.ly/2IJhVJd
via IFTTT

No comments:

Post a Comment