Saturday, April 6, 2019

नमिलेर पनि मिलेको जोखना !

काठमाडौं । ‘ठूल्ठूला कुरा नगरेर मसिना कुराहरुबाटै हाम्रो समयको मुन्दुम भन्ने अभिप्राय मात्रै हो’ साहित्यकार राजन मुकारुङले ‘जोखना’ नाटकका सम्बन्धमा यसो भने पनि उनका स-साना कुराले दर्शकको मानसपटलमा भने ठूल्ठूलो हुण्डरी नै मच्चाइदिन्छ । समयको चेत गराइदिन्छ । अमानवीयताको झस्का हानिदिन्छ । परिश्रममा पनि नचाइदिन्छ । वीरहमा रुवाइदिन्छ । सँगै हँसाइदिन्छ ।

मण्डला नाटकघरमा १ घण्टा २५ मिनेट दर्शकको मन बाँधेर जोखनाले धेरै गरिदिएको छ । हरेकका अगाडि समयले छुटाएको, परिस्थितिले किल्च्याएको र वर्तमानले सिकाएको जोखना देखाइदिन नाट्यकर्मी सफल भएका छन् ।
कथाकार वियस राईको कथासंग्रह हिउँमाझीमा संग्रहित कथा जोखना पढ्दा निर्देशक किरण चाम्लिङ राईलाई जसरी छोयो, उसैगरी उनको निर्देशकीय कौशलले दर्शकसम्म छुइन पुगेको छ ।

हुन त कथाकार वियसले प्रस्तुत गरेका केही कुरा नाट्यरुपान्तरण गर्दा मुकारुङले केही हेरफेर गरेका छन् । तर, त्यसले अन्याय गरेको छैन । दृश्यशैलीमा बताउन र नाटकीय चाख थप्न सबैको मेहनत देखिएको छ ।

‘अब पनि हामीले आˆनो कुरा भनेनौँ भने कहिल्यै नभनिन सक्छ । हामीले आˆनै कुरा भन्न नसक्नुमा सांस्कृतिक-राजनीतिक असर पक्कै छ । हामीले हाम्रा धुनहरु बिर्सियौँ, बिर्सायौँ, हाम्रो मूल बिर्सियौँ, बिर्सायौँ र त्यसको नियति सबैले भोगिरहेका छौँ’ निर्देशक चाम्लिङले यसो बताइरहँदा नाटक जोखनाले भने उनले संकेत गर्न खोजेको ‘हामी’ भन्दा धेरै ‘हामीहरु’ समेटेको छ ।

कलाकारको गजब प्रस्तुति

जोखनामा पात्रहरुले अभिनय गरेका छैनन् । उनीहरुले जीवन बाँचेका छन् । पात्रमा समाहित भएर उनीहरुको जीवन बाँचिदिन सक्नु नै कलाकारको खुबी हो । धनसुवा, जसे, निछा, राई जेठा, सेलेमी, थुपि्र, जन्तरी, पुर्ने, लछुमन, गौधन, गौरुङ जस्ता पात्रहरुको प्रस्तुतिमा ‘अभिनय नगरेको अभिनय’ हुनुले असाध्यै रमाइलो देखिन्छ ।

लाटो पहाड नाटकमा जस्तै निर्देशक चाम्लिङले जोखनामा पनि सामाजिक कथाको यथार्थ परिवेश उतार्न सक्नु खुबी देखिएको छ । उनले गरेको धागोको अर्थपूर्ण प्रयोगले एउटै बस्तुले बोक्न सक्ने बहुआयामिक अर्थलाई असाध्यै विम्वात्मक बनाएको छ ।

केही ठाउँमा भने कथानक बढाउन गरिएको गीतको प्रयोग थोरै लामो भएको हो कि भन्ने भान पर्न जान्छ तर कलाकारको प्रस्तुतिले त्यो पनि दिक्क लाग्दो भने बनेको छैन ।

साजसज्जामा मितव्ययी

दृश्यअनुरुप मञ्चमा गरिएको साजसज्जाको प्रयोग र त्यसको रुपान्तरणमा पनि चलाखि अपनाइएको छ । एउटा दृश्यमा प्रयोग गरिएको सामान अर्को दृश्यका लागि हटाउँदा र नयाँ स्वरुप दिँदा कतिपय ठाउँमा गीतको प्रयोग गरिएको छ । जसले दर्शकको मन नाटकबाट बाहिरिन दिँदैन । गीतको प्रयोग नगरिएका ठाउँमा पनि मञ्चबाटै दिइएको प्रत्यक्ष संगीत बलियो बनेको छ ।

मञ्च निर्माणमा अनिल सुब्बाको काम सामान्य भए पनि बहुआयामिक छ । सामानको प्रयोगमा भने दुई स्वरुप अपनाइएको देखिन्छ । कलाकारले कुनै सामान अभिनयका माध्यमबाट मितव्ययीरुपमा नै बुझाएका छन् भने कुनै सामानको भने प्रत्यक्ष प्रयोग गरिएको छ । त्यसले एकरुपता देखिँदैन ।

प्रकाशको प्रयोगमा पनि उस्तै चलाखी अपनाइएको छ । धेरै समय मधुरो प्रकाशमा खेलिएको भए पनि केही ठाउँमा उज्यालो पारिएको छ, जसले समय र परिवेशको विविधतालाई पनि अथ्र्याएको देखिन्छ ।

जोखना नाटकमा दर्शकको आँखामा देखिने कामहरु जति राम्रा देखिएका छन् नदेखिने कामहरु त्योभन्दा राम्रा छन् । नेपथ्यबाट गरिएको काम जोखनामा भएको मेहनत देखाउन सक्षम छ ।

दयाहृयाङ राई र राजन मुकारुङले लेखेको गीत र संगीतमा किरण चाम्लिङ राई, बेनुका राई, आदित्य वाइबाले गरेको काम राम्रो छ । सारङ्गी, ड्रम र मुर्चुङ्गाको प्रयोगले पनि नौलोपन देखिन्छ ।

एक सम्वाद बहुअर्थ

जोखनामा प्रयोग गरिएका संवादहरु पात्रअनुकुल भए पनि कुनै कुनै ठाउँमा भने हाँस्यरसमा मात्रै बढी ध्यान दिँदा कथानक गौण हुन पुगेको देखिन्छ । तर, एक संवादमार्फत नै बहुअर्थ प्रदान गर्न सक्नु बलियो पक्ष बनेको छ ।

‘उहीलेदेखि नै संसारमा सबै सबै कुरा मर्दै मर्दै आए नि । फूल सुक्यो, मर्‍यो त, खोला सुक्यो मर्‍यो नि । उही डोरीले बाँधी ल्यायो, उही बाटोले पछ्याइल्यायो, तब त तिमीले आˆनो छाया छवि छिपाई लग्यौ, आˆनो छाया छवि लुकाई लग्यौ’ साकेला नाच्न गएका जसे धेरै वर्षसम्म नफर्किएपछि मरेको ठहर गर्दै उसको आत्मा शान्ति गर्न बोलिएको यो संवादमा सृष्टिको सिर्जना र अन्त्यको अन्तरसम्बन्ध प्रस्तुत गर्दै मानवीय चोला पनि केही दिनका लागि हो भन्ने बुझाएर, गएकाहरु फर्कन्नन् भन्ने सन्दर्भ बडो मजबुत रुपमा अगाडि सारिएको छ ।

त्यसले एक त हराएका जसेको अवस्थामा उनकी श्रीमतीको मन बुझाउन खोजिएको छ भने अर्कोतर्फ सामाजिक परिवेश र मानवीय सम्बन्ध उजिल्याइएको छ । त्यसैले त छोरा लाहुरमा जाँदा पनि धनसुबाको मनले फर्किएला भन्नेमा दुविधा देखाएको छ ।

जोखना देखाउनु सामाजिक प्रचलन, विश्वास या अन्धविश्वास ? मन्दिरमा पैसा चढाउने, खोला तर्दा सिक्का फाल्ने परिपाटीमा जोखना देखाउनु जे भए पनि भएका भनिएका कुराहरु भएका छैनन्, नभएका भनिएका कुराहरु भएका छन् ।
समाजमा हुनुपर्ने कुरा भएका छैनन्, नहुनुपर्ने कुरा भएका छन् । झनै बलियो गरी असत्य सत्यमा स्थापित हुँदैछ । त्यसैले त नफर्किने भनिएका जसेहरु फर्किसक्दा पनि हराएकै छन् । तब त नमिलेर पनि मिल्न पुगेको छ जोखना । ठीक आजकै समाज पनि यही जोखना भन्दा भिन्न बन्न सकेको देखिँदैन ।

नाटकको सन्देश: झस्काइदिने सामाजिक चेत

१० वर्षे जनयुद्धको समयमा श्रीमान् गाउँबाट हराएपछि एउटी महिलाले भोग्नुपरेको सामाजिक, सांस्कृतिक र राजनीतिक नियति समाजअनुरुप फरक देखिन सक्लान् । तर, भोगाइ भिन्न छैन ।

नाटकले मुन्दुमी संस्कृतिको सामाजिक, सांस्कृतिक लय समातेर कथानक प्रस्तुत गरिरहँदा त्यसबाहेकका सामाजिक, सांस्कृतिक परिवेश भएका दर्शक पनि सहजै जोडिन पुग्नु, आˆनोपन भेटिनु, भोगाइमा मिल्न पुग्नुले थाहा लाग्छ, यो कुनै एक विशेष समाजको कथा मात्रै होइन ।

हाक्पारे, हिपारी, वीरह गीत, श्रम गीतसँगै पूर्वी भेकका अरु लोकभाका साथै साकेला, सेलेमी नाचको प्रयोगले नाट्यस्वाद मात्रै होइन, सांस्कृतिक उत्सवमा सामेल भएको अनुभव दर्शकले गर्छन् । मुन्दुमी संस्कृतिका लय विम्व र जीवन दर्शनमा ती गीत र नाचको प्रयोगले नाटकीय कथावस्तु सरस अगाडि बढाउन सक्नु जोखनाको बलियो पक्ष हो ।

मुकारुङले भनेजस्तै, ठीक यतिबेलाको हाम्रो समय लयविहीन छ । आवाजहरु ठप्प पारिएका छन् । नैतिकता पतन भएको छ । जिम्मेवारी अदृश्य छ । त्यसैले त फाइदा उठाउन चाहनेहरु आफू अनुकुल जोखना देखाइरहेका छन्, आफू अनुकुल फल सुनाइरहेका छन् ।

यो उत्तरआधुनिक समयको चेतमा पनि जोखना देखाउनेले सुनाउन चाहेकै कुरा जोखना हेर्नेले देखिदिएको छ । भिडले असत्यलाई डोर्‍याएको छ । सत्य ढिलो गरी जान्दा त्यसलाई गौण तलो छोपिदिएको छ । ठ्याक्कै यिनै कुराले नाटक जोखनाले दर्शकको मन झस्काइदिएको हो ।

‘हामी मान्छेलाई आकाशभन्दा तल धर्तिभन्दा माथि आˆनो कर्म गरी खानु भनेर ल्याएको रे….’ नाटकमा बोलिएको यो संवादमा जस्तो अब हामी आˆनो कर्म गरी खानुमा मात्रै सीमित रहेनौँ । हामीलाई हाम्रो कर्मको सफलताभन्दा अरुको कर्मको असफलतामा मजा मिल्छ, हामीलाई हाम्रो कर्मले दिएको छाक भन्दा अरुको भोकले सन्तुष्टि दिन्छ, हामीलाई हाम्रो कर्मको मेहनतमा भन्दा अरुको कर्म असफल पारिदिने इच्छाले डोर्‍याइदिन्छ । त्यसैले नाटकले नसोधिकनै पनि सोधेको छ, ‘आखिर यस्तै हौँ त हामी ?’

जोखनाले सामाजिक परिस्थितिको फाइदा उठाएर जोखना देखाउनेको जोखना देखाइरहँदा दर्शकले आˆनै जोखना कति ठम्याउन सके त्यसको चेत नाटकघर बाहिर पुगेपछि हेर्नु गजव होला । तर, केही मानिसको मनभित्र मानवीय चेत घुसाइदिएको जोखनाले थप जोखना देखाउन नपर्ने मनस्थितिको निर्माण भने गरिदिएकै छ ।

एउटा चेतलाई कलामा प्रस्तुत गरेकामा जोखनामा दृश्य अदृश्य सबैलाई बधाई ।

नाटक – जोखना (मण्डला नाटकघर) 
कथाकार – वियस राई । नाट्य रुपान्तरण – राजन मुकारुङ । निर्देशन – किरण चाम्लिङ राई । कलाकारहरु – संगीता थापा, रुपेश लामा, सञ्जिव राई, मनाहाङ लावती, अनिल सुब्बा, पवित्रा राई, निशा पाखि्रन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मणि के राई ।



from Online Khabar http://bit.ly/2VpChuB
via IFTTT

No comments:

Post a Comment