चलचित्र क्षेत्रमा खासै चासो नराख्ने केशव भट्टराईले चलचित्र क्षेत्रकै उच्च पद चलचित्र विकास बोर्डको अध्यक्ष बन्छु भन्ने सोच कहिले राखेका पनि थिएनन् । तर, अहिले उनी विकास बोर्ड अध्यक्षको कुर्सीमा आसिन छन् । चलचित्र क्षेत्र र चलचित्रकर्मीको हितमा काम गर्ने प्रतिबद्धतासहित उनीले कुर्सी त सम्हालेका छन् । तर, उनले सम्हालेको कुर्सी हलुंगो भने छैन । चुनौती नै चुनौतीका पहाड फोर्न उनी तयार हुनुपर्नेछ ।
अहिले त चलचित्र क्षेत्रमा केशवले नगरे कसले गर्छ भन्ने आशा पनि पलाउन थालेको छ । केशव भट्टराई यतिबेला बोर्डको कुर्सीमा आसिन अध्यक्ष मात्र होइनन्, चलचित्रकर्मीका आशा र भरोसा समेत हुन् । अनलाइनखबरसँग विकास बोर्डकै कार्यकक्षमा कुराकानी गर्दै भट्टराई आशावादी सुनिएका छन् । भट्टराईले भने–‘मलाई आएका शुभकामना तथा बधाईका शब्दहरु हेर्दा म आफै अचम्मित थिएँ । यो कार्यकालमा पनि चलचित्र क्षेत्रलाई राम्रो नभए कहिले पनि नहुनेसम्मका शब्दहरु त्यहाँ थिए । मलाई अंग्रजदेखि अहिलेका पुस्तासम्मले विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई म मर्न दिन्नँ ।’
एक साताको समयमा नै केशवले चलचित्र क्षेत्रको सम्पूर्ण समस्याहरु पत्तो पाइसकेका छैनन् । गरिहाल्नु पर्ने र गर्न सक्ने कामहरुलाई प्राथमिकतामा रखेर काम गर्ने सोचले उनी समस्याहरुको पहिचानमा लागिरहेका छन् ।
धेरै समयदेखि विवादमा परिरहेको बक्स अफिस पनि पूर्ण रुपमा कार्यन्वयन हुन सकेको छैन । उपत्यकामा लागु भइसकेको बक्स अफिस पनि अपारदर्शी छ । भट्टराइले आफ्नो पहिलो काम नै यसलाई मानेका छन् । उनी भन्छन्–‘कुनै समय म नै बक्स अफिस चाहियो भनेर आन्दोलनमा उत्रिएको थिएँ । त्यसलाई त मैले पनि हेर्नुपर्यो नि ।’ बक्स अफिसलाई सरकारले नै आफ्नो बजेटमा राखेको छ ।
मोफसलमा चैत मसान्तसम्म लागु गरिसक्नु पर्ने बक्सअफिस निवर्तमान अध्यक्षको कार्यशैली र उनले दिएको राजीनामाको कारण केही पर धकेलिएको छ । त्यो कामलाई पनि बैशाख १ गतेबाट सुरु गर्ने केशव भट्टराईले बताए । उनले भने–‘हामी मोफसलको बक्स अफिसको कामलाई बैशाख १ गतेबाट सुरु गर्छौ । तीन महिना ट्रायल गर्छौ र अर्को आर्थिक वर्षबाट त्यसलाई पनि पूर्ण रुपमा लागु गर्नेछौ ।’
बक्स अफिसको कामपछि केशव चलचित्र नगरीको निर्माणमा लाग्ने बताए । ‘सरकारको अर्को कार्ययोजनामा परेको कुरा चलचित्र नगरी पनि हो । त्यसलाई पनि हामी बसेर छलफल गरेर काम सुरु गर्नेछौ’, भट्टराईले भने । केही दिन अगाडि भएको लगानी सम्मेलनमा पनि चलचित्र नगरी निर्माणको विषयमा प्रस्ताव आएको थियो । त्यसलाई पनि बुझेर काम गर्ने भट्टराईले बताए ।
दोलखाको डाङडुंगे डाँडामा निर्माण गर्ने भनिएको चलचित्र नगरीको काम पनि भइरहेको भट्टराईले बताए । उनले भने–‘त्यहाँको जग्गा विकास बोर्डको नाममा आइसकेको छ । डीपीआर तयार भइसकेको प्रतिवेदन विकास बोर्डमा आउनेछ ।’
केशव आजैबाट चलचित्र क्षेत्रलाई चाहिने बजेटको खाका तयार गर्न लाग्ने बताए । उनले भने–‘अब आजैबाट हामी चलचित्र क्षेत्रलाई चाहिने बजेटको विषयमा छलफल गर्नेछौ । म आजबाट नै यसमा लागेको छु । केही दिनमा नै बजेटको खाका तयार गरेर अर्थ मन्त्रालयसम्म पुर्याउने छौ ।’
केशवले अन्य केही योजनाहरु पनि बनाएका छन् । अबको दुई साता भित्र पत्रकार सम्मेलन गरी आफ्ना आगामी योजनाहरु सार्वजनिक गर्ने केशवले बताए । विकास बोर्डमा आउन पैसाको चलखेल हुने गरेको खबर खुबै सुनिन्थ्यो । तर, आफू यस कुराबाट बाहिर रहेको उनले बताए । उनी भन्छन्–‘यो भन्दा अगाडि आएका अध्यक्षहरुले पैसाको चलखेल गरेको भन्ने सुन्थेँ । तर, मैले त्यो झेल्न परेन । सरकारले पनि मलाई विश्वास नै गरेको छ ।’
केशव बिहान ८ बजे अफिस पुग्छन् । बेलुका ८ बजेसम्म अफिसमा नै हुन्छन् । उनी भन्छन्–‘नयाँ नयाँ छु । मैले बुझ्नुपर्ने कुराहरु धेरै छन् । त्यसैले १२ घण्टाको समय मैले अफिसलाई दिने गरेको छु ।’
तुलसी घिमिरेलाई भेटेपछि बदलियो जिन्दगी
‘सिभिल इन्जिनियर’ बन्ने सोच राखेका केशवले उक्त विषय पढ्न पाएनन् । आफ्नो प्रप्ताङ्कमा २ नम्बर नपुगेपछि उनले सिभिल इन्जिनियर पढ्ने अवसर गुमाए । उनी भन्छन्–‘धेरै तिरबाट प्रयास गरेपनि मैले त्यो पढ्ने मौका पाइनँ । घरबाट सीए पढ्न भन्नुभयो र त्यसको तयारीमा जुटेँ ।’
सीएको तयारी कक्षा लिदैँ गर्दा उनले जागिर पनि खाने निर्णय गरे । केशवले आफ्नो क्षमता देखाएर नै विद्युत प्राधिकरणमा काम सुरु गरे । विद्युत प्राधिकरणमा सँगै काम गर्ने साथी थिए, डाक्टर प्रदिप भट्टराई । प्रदिप तुलसी घिमिरेको पिआरको रुपमा काम गर्थे । त्यो समय तुलसी घिमिरे निर्देशित ‘लाहुरे’ले भृकुटीमण्डपको हाइभिजन हलमा २५ हप्ता पार गरेको थियो । त्यो अवसरमा ब्लुस्टार होटलमा पार्टी आयोजना गरिएको थियो । प्रदीपको साथी केशव पनि उक्त पार्टीमा सहभागी भए ।
केशवलाई देखेर तुलसीले चलचित्रमा काम गर्न सुझाए । केशव सम्झिन्छन्–‘तुलसीजीले मलाई देखेपछि तिमी यती आकर्षक छौ । चलचित्रमा कोशिश गर भन्नुभयो । मैले चिनेको कोही छैन, कसरी पाउने भनेपछि उहाँले नै मलाई ‘कोशेली’मा एउटा रोल दिनुभएको थियो ।’
लगनखेलमा केशवको अफिस थियो । चलचित्रको छायांकन पनौतीमा भइरहेको थियो । धेरै दिन अफिस पुगेर हाजिर गरेर सुटिङ सेटमा पुगेपछि बल्ल उनले अभिनय गर्ने पालो आयो । त्यहाँ उनले जेल परेको एक अपराधीको भूमिका निर्वाह गर्नुपर्ने थियो । केशव सम्झिन्छन्–‘त्यहाँ मैले गरेका अधिकांश सिनहरु वान टेक ओके भएका थिए ।’
उक्त चलचित्र पश्चात् तुलसी घिमिरेले निर्माण गरेका चलचित्रमा उनले काम पाइरहे । ‘चिनो, दुई थोपा आशु, दक्षिणा’ लगायतका चलचित्रमा काम गरेपछि ‘मितज्यु’ नामक चलचित्रमा आएर केशवले मुख्य भूमिकामा काम गर्ने अवसर पाएका थिए ।
‘मितज्यु’पछि बाहिरी व्यानरका चलचित्रहरुबाट पनि केशवलाई अफरहरु आए । निरन्तर रुपमा चलचित्रमा काम गर्दै गए । नाच्न कमजोर उनलाई धेरैले ‘नाच्न नजान्ने हिरो’को ट्याग दिएका थिए ।
चलचित्र ‘बलिदान’मा काम गरेपछि गरेपछि तुसली घिमिरेको जुनियर टिम मिलेर ‘दौतरी’ बनाए । त्यसमा केशव भट्टराई र उनको टिम केही हदसम्म सफल भए । ‘दौतरी’ पछि केशव भट्टराईले ‘आफ्नो मान्छे’ निर्माण गरे । जुन चलचित्र निकै सफल भयो ।
चलचित्रले किनिदिएको घर चलचित्रले नै बेचिदियो
चलचित्र ‘आफ्नो मान्छे’ व्यापारिक रुपमा निकै सफल भएको थियो । उक्त चलचित्रको विश्वज्योती हलबाट आएको शेयरले केशवले अनामनगरमा घर किनेका थिए । उनी भन्छन्–‘चलचित्र निकै सफल भयो । यतिसम्म कि मैले विश्वज्योती हलबाट आएको शेयरको चेकबाट अनामनगरमा घर किनेको थिएँ ।’
तर, चलचित्रको कमाईबाट किनेको घर चलचित्र निर्माणमा लगानी गरेर नै बेच्नु पर्यो । ‘आफ्नो मान्छे’ पछि निर्माण गरेका चलचित्रहरु क्रमश असफल हुदै गए । ‘पाहुना, कमयोद्धा, छोडी गए पाप लाग्ला’ जस्ता चलचित्रले उनलाई व्यापारिक रुपमा घाटा भयो भने ‘देवर बाबु’बाट भने उनले नाफा कमाएका थिए । तर, ‘सो सिम्पल’सम्म आइपुग्दा उनले आफ्नो घर नै बेच्नु पर्यो । केशव भन्छन्–‘यो चलचित्रले गर्दा घर बेच्न प¥यो भन्ने छैन् । क्रमशः चलचित्रहरुले घाटा दिदै गएपछि ‘सो सिम्पल’को समयमा घर बेच्नु पर्यो ।’ अहिले केशव अनामनगरमा भाडामा बसिरहेका छन् ।
घर बेच्न परे पनि केशवले चलचित्र निर्माणको कामलाई छोडेनन् । उनले ‘ब्रास्लेट’ नामक चलचित्र निर्माण गरे । तर, उक्त चलचित्रबाट पनि केशवलाई घाटा नै भयो । अहिले केशवले निर्माण गरेको नयाँ चलचित्र ‘यात्रा’ रिलिजको तयारीमा छ ।
चलचित्रमा कलाकारदेखि निर्मातासम्म हुँदासम्म केशवले यो क्षेत्रका समस्यालाई मसिनो तरिकाबाट केलाउने मौका पाएका छन् । चलचित्र निर्माता संघको बरिष्ठ उपाध्यक्षसम्म आइपुग्दा उनी चलचित्र क्षेत्र उभो नलाग्नुको जडमा पनि पुगिसकेका छन् । यी अनुभव केशवका लागि चलचित्र विकास बोर्डमा सफल बनाउने कशी बन्न सक्छन् । मात्र, उनको निडर स्वभाव र काम गर्ने प्रतिवद्धता झुक्नु हुँदैन । आशा गरौ, केशव भट्टराई चलचित्र विकास बोर्डको कुर्सीमा भित्तामा फोटो झुन्ड्याउनका लागि मात्र २ बर्ष बस्ने छैनन् ।
from Online Khabar https://ift.tt/2I9mDQ8
via IFTTT
No comments:
Post a Comment