२७ जेठ, काठमाडौं । सरकारले काठमाडौंमा ‘नाइट लाइफ’ आवश्यक रहेको निश्कर्ष निकाल्दै ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि झण्डै एक दर्जन यातायात कम्पनीले त्यसमा चासो दिएका छन् ।
काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बेलुकीको समयमा जस्तोसुकै भीड भए पनि सवारीहरुमा यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । बस छुटेका यात्रु ट्याक्सीको तेब्बर भाडाको आतंक र मोलमोलाइबाट प्रताडीत छन् ।
यस्तो अवस्थालाई हिसाबले विभागले रातमा पनि बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको हो । यसका लागि सोमबार विभागले इच्छुक कम्पनीसँग छलफल गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
उनका अनुसार स्वयम्भु यातायात, महानगर यातायात, साझा यातायात लगायतका कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन् ।
‘काठमाडौं ८ बजे नै बन्द हुन्छ, अन्य देशमा राजधानी यति छिट्टै सुस्ताउँदैन,’ उनले भने, ‘राजधानीको अर्थतन्त्र विस्तारका लागि पनि ‘नाइट लाइफ’ सुरु गर्नुपर्छ । त्यसका लागि प्रमुख भूमिका यातायातकै हुन्छ ।’
राति १२ बजे पनि सजिलै बस चढेर यात्रा गर्न पाइने अवस्था भए रात्री जनजीविन अझै लम्बिने र त्यसले यातायातमा यात्रुको व्यवस्थापन पनि निकै सहज हुने उनको भनाइ छ ।
‘१२ बजेसम्म बस पाइयो भने ७ बजे साँघुरो बसभित्र खाँदिएर यात्रु किन गन्तब्यमा जान्छ र ?’ दाहाल भन्छन्, ‘यात्रुहरु रातीसम्मै बजारमा हुन्छन् । बजारलाई पनि त्यसबाट लाभ मिल्छ, त्यसले बिस्तारै रातमा पनि बजार खुल्ने क्रम बढाउँदै लैजान्छ ।’ हाल काठमाडौंमा बजार पनि ८ बजेपछि ठप्प जस्तै हुन्छ ।
रात्री बस चलाउन योपटक सरकारले व्यवसायीलाई अतिरिक्त सहुलियत दिँदैछ । जसअनुसार रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार दिइनेछ ।
‘अहिले राति यात्रु निकै कम हुन्छन्, त्यसैले चल्ने बस घाटामा जानु पनि हुँदैन । यसलाई ध्यानमा राखेर भाडा केही बढी लिन सक्ने व्यवस्था प्रस्ताव गरेका हौं,’ महानिर्देशक दाहाल भन्छन्. ।
व्यवसायीहरु साविकको भन्दा दोब्बर भाडा उठाउन दिइए राति १२ बजेसम्म बस चलाउन सकिने बताएका छन् । ५० प्रतिशत मात्रै बढी भाडा लिँदा फेरि केही समयपछि घाटा भएर बन्द गर्नुपर्ने अवस्था आउने उनीहरुको चिन्ता छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला हालको रुटमा कायम भएको भन्दा सय प्रतिशत बढी भाडा लिन दिनुपर्ने बताउँछन् ।
‘हामीले विगतदेखि नै भन्दै आएका छौं कि साविकककै भाडामा राती बस चलाउन सकिन्न,’ उनले भने, ‘सर्वसाधारणले पनि बुझ्नुपर्छ कि राति ट्याक्सीले लिने त्यही रुटको भाडा र बसको भाडा धेरै अन्तर हुन्छ ।’
उनले काठमाडौंको रत्नपार्कलाई केन्द्र बनाएर कलंकी, बुढानीलकण्ठ, कोटेश्वर, जाउलाखेल लगायतका क्षत्रेमा रात्री बस चलाउन सकिने बताए । यस्तै रिंगरोडमा पनि रात्री बस चलाउन सकिने उनको भनाइ छ ।
‘व्यवसायीलाई आर्थिक मात्रै हैन, यात्रुलाई भौतिक सुरक्षाको प्रत्याभूति पनि हुनुपर्छ,’ सिटौलाले भने, ‘त्यसो गरियो भने दिगोरुपमा काठमाडौंलाई रातसम्म जगाउने गरी सार्वजनिक बस सेवा सञ्चालन हुन सक्छ ।’ सिटौला रात्री बस सेवा सुरु गर्नेभन्दा त्यसलाई टिकाउने चुनौति रहेको सुनाउँछन् ।
पहिले किन भयो असफल ?
काठमाडौंमा रात्री बस चलाउने प्रयास गरिएको यो पहिलोचोटि होइन । केही समयअघि साझा बसले राती ९ बजेसम्म सेवा दिन सुरु गरेको थियो । तर, आर्थिक रुपमा फलदायी नभएपछि उसले सेवा नै स्थगन गर्यो ।
यसअघि पनि काठमाडौंमा रात्री बस सेवा सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो । राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो ।
विभिन्न रुटठहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरे । अनुदान पनि पचाए ।
त्यतिबेला दिउँसोकै भाडा दरमा १४ वटा बस सञ्चालनमा ल्याइएको थियो । प्रत्येक बसमा सुरक्षाकर्मी रहने र सीसी क्यामेराबाट निगरानी हुने व्यवस्था गरिएको थियो ।
अनुदान लिनका लागि बस चलाएका व्यवसायीले पछि अनुदान नपाउने अवस्था आएपछि बन्द गरिदिए । त्यसको सात वर्षपछि फेरि काठमाडौंमा बस रात्री बस चलाउने बहस थालिएको हो ।
from Online Khabar http://bit.ly/31nrTa0
via IFTTT
No comments:
Post a Comment