Thursday, July 4, 2019

लिवियाको शरणार्थी शिविर आक्रमणमा एक नेपालीको मृत्यु, ८ जनालाई नेपाल फर्काइयो

१९ असार, काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

कायरोमा रहेको नेपाली दूतावासका अनुसार, आक्रमणमा सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले जनाएअनुसार आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्थायी ठेगाना कहाँ हो र उनी कसरी लिबिया आइपुगे भन्ने खुलेको छैन ।  कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ । यद्यपि मानव तस्करहरुले इटाली पुर्‍याउनका लागि लिबियाको मार्ग प्रयोग गर्ने गरेका छन् ।

लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो । आक्रमणमा ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते छन् ।

दूतावासका अनुसार आइओएम, लिबियाले दुई दिनअघि श्रेष्ठसँग सम्बन्धित ट्राभल डकुमेन्ट माग्दै पत्राचार गरेको थियो । पत्राचारपछि दूतावासले उनको कागजात इमेलमार्फत आईओएम इजिप्टलाई पठाएको थियो र इजिप्टले लिबिया ।

आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् ।

पछिल्लो २ महिनामा २६ नेपालीलाई उद्धार गरेको नेपाल फर्काइसकिएको छ । लिबियामा खटिएका नेपाली शान्ति सेनाले मानव तस्करको जालमा परेर आइपुगेकालाई सहायता गर्दै आएको छ ।



from Online Khabar https://ift.tt/2xria4U
via IFTTT

No comments:

Post a Comment