२८ असार, काठमाडौं । साहित्यिक प्रकाशन, गोष्ठी, महोत्सव वा छलफलहरुमा उति नदेखिने, नसुनिने धर्मेन्द्र नेम्बाङ थोरै तर गहकिलो लेख्ने चिन्तनशील कविमा पर्छन् ।
झापामा बसेर साहित्य कर्म गर्ने उनी अहिले ३९ थान कमला-साह्रा कविताको संगालो मैले बोल्दा देशको नक्सा हल्लिन्छ का कारण चर्चामा छन् । यो उनको दोस्रो कृति हो । यसअघि ‘ट्राभलिङ फिलोसफी’मा आधारित उपन्यास रातो बाघ प्रकाशन गरेका नेम्बाङलाई अनलाइखबरले सोधेको पाँच प्रश्न र उनको जवाफ ः
(१) लामै अन्तरालमा कविता कृति निकाल्नुभयो- मौलिक कथ्य, भाषाशैली र बिचारगत बिशेषतासहित । ‘प्रयोग’का कारण क्लिस्ट पनि हुनुहुन्छ । सरलतालाई कविताको आत्मा भनिन्छ नि ?
सरलतालाई कविताको आत्मा मान्ने कुरोमा मेरो पनि सहमति छ । मित्र राजन मुकारुङले एक दैनिक पत्रिकामा धर्मेन्द्र हेपेरै (सहज पारामा) कविता लेख्छन् भनेर लेखेपछि मलाई हेपेर कविता लेख्ने कवि पनि भन्छन् ।
(२) प्रयोग/वादतिर नलागी भव्य अर्थ-अभिव्यञ्जनापूर्ण (जस्तो- तपाईकै संगालोका ‘हुरीको अतीत’ लगायत) काव्य सिर्जनामा लाग्दा कविलाई के फरक पर्छ ?
म खासै प्रयोगवादी नै हो त भन्दिनँ आफूलाई । तर विचार, भाव, कलाको समायोजनमा प्रयोग भएको हुन सक्छ । खासमा म एक कविले दिने विषय, आसय, समयमा ख्याल गर्छु । यो कुरो कतै प्रयोगवाद, कतै परम्परावाद, कतै विघटनवाद भयो होला कि ।
(३) तपाई पहिला बिषेश रंगवाद, त्यसपछि सामान्य रंगवाद अभियानमा हुनुहुन्थ्यो । फेरी ‘ट्राभलिङ फिलोसोफी’ भन्नुभयो । एउटा साहित्यिक अभियान विशेष, सामान्य हुँदै कसरी ‘ट्राभलिङ फिलोसोफी’ भयो ?
शुरुमा कवि स्वप्नील स्मृति लगायत हामी बिशेष रंगवाद भनेर आयौं । त्योबेला कवितामाथिको बहसमा ज्यादा केन्द्रित थियौ । कविताको कुराले मात्र नपुग्दोरहेछ भन्ने भएपछि बिज्ञानका कुराहरुमा केन्दि्रत भयौ र त्यसलाई ‘सामान्य रंगवाद’ भन्यौ ।
विज्ञान मात्रले पनि नपुग्दो रहेछ भन्ने बोधले फेरि नेपालीपनको दर्शन, दृष्टिकोण निर्माण जरुरी छ, जसले देशलाई जोडन सक्नुपर्छ भन्न तिर लाग्यौ । नयाँ नेपाली समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, संस्कृति, विज्ञान आदिको पक्षपोषण होस् भन्नतिर लाग्दा ‘बहुरंगवाद’ भन्यौं ।
विचार विदेशबाट आयात मात्र भयो अब नेपालबाट निर्यात पनि गरौ भन्नतिर लाग्यौ । यो दर्शन ‘हार्डकोर नभई ‘ट्राभलिङ’ होस भन्नतिर लाग्यौ । अर्थात् हामीले पर्यटकीय दर्शनको कुरो गर्यौं ।
(४) अहिले ‘ट्राभलिङ फिलोसोफी’ कुन अवस्थामा छ ?
‘ट्राभलिङ फिलोसोफी’ले मानव जीवनका हरेक पक्ष, पाटा, क्षेत्रमा यसको असर र प्रभाव नियालिरहेको छ । मुख्यगरी यसले सर्बअंग -चौतर्फी) संस्कृतिक क्रान्तिमा विश्वास गरेको छ । जस्तो कि एउटा शरीर स्वस्थ बन्नको लागि मुटु मात्र ठिकठाक भएर पुग्दैन, आँखा, कान, हात, खुटटा, गिदी, जिब्रो आदि प्रत्येक अंग स्वस्थ हुनुपर्छ ।
त्यस्तै, समाज स्वस्थ हुन प्रत्येक ब्यक्ति स्वस्थ हुन जरुरी छ । प्रत्येक ब्यक्तिले स्वच्छ सोच्न जरुरी छ । अनि सत्ता, सरकार, देश स्वतः स्वच्छ हुन्छ । यसका लागि नै सर्वअंग सांस्कृतिक क्रान्ति जरुरी छ भन्ने लागेको हो ।
(५) मौलिक सिर्जनशीलतामा कमी महसुस भएपछि साहित्यकारहरु कुनै ‘वाद’ आविष्कार गर्नतिर लाग्छन् (उदाहरण- तरलवाद, भयवाद आदि) भनिन्छ नि ?
मौलिक सिर्जना कम्ति भएपछि कोही वाद निर्माणतिर लागे होलान् कि, सिर्जनाको ब्याख्या-व्यवस्थापनमा वाद समाए कि ? मचाहिँ कविता खेल्न भन्दा अघि नै वाद -बहुरंगवाद) निर्माणमा थिएँ, निरन्तर यसैमा समाहित छु । कविता, कथा, उपन्यास, निवन्धलाई बहुरंगवाद बुझाउने माध्यम बनाएको छु भन्ने लाग्छ ।
यो वाद भनेको सम्पूर्ण मानव जीवन सम्वद्ध बाटा, पाटा, पक्ष, विभाग, क्षेत्रको विश्लेषण र निर्माणको इलम हो । मेरो मार्गनिर्देशक या पथ प्रदर्शक तिनै हुन् । बहुरंग-वादको सन्दर्भ स्रोत भने रंग हो । कवि इश्वर बल्लभ ‘म तेस्रो आयामको कैदी हुँ’ भन्थे । मलाई पनि त्यस्तै अनुभूति हुन्छ ।
from Online Khabar https://ift.tt/2jHlDJf
via IFTTT
No comments:
Post a Comment