३१ असार, उदयपुर । उदयपुरमा बाढीमा बगेर र पहिरोमा पुरिएर दुई जना सम्पर्कविहीन भएका छन् । एक जनालाई उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको छ ।
रौतामाई गाउँपालिकाको वडानम्बर ७ मा मुर्कुटे खोलाले बगाएर एक किशोर वेपत्ता भएका छन् । सुनिता तामाङको १३ वर्षीय छोरा आर्यन तामाङलाई घर नजिकैको खोलाले बगाएको हो ।
प्रहरीका अनुसार गएराति करिब साढे १० बजेतिर आमा-छोरा घर बाहिर निस्किएको बेला माथिबाट एक्कासी आएको बाढीले दुवैजनालाई बगाएको थियो । आमा सुनितालाई उद्धार गरिए पनि छोरालाई भेटाउन नसकिएको एसपी बुढामगरले बताए ।
सुनिता गम्भीर घाइते भएकाले उनलाई उपचार गर्न विराटनगर पठाइएको छ । उनको छोरा आर्यनको खोजीकार्य जारी राखिएको छ ।
यसैगरी रौतामाई गाउँपालिका वडानम्बर ८ मा रितबहादुर रिठ्ठामगरको घरमाथि गएराति करिब १ बजे पहिरो खस्दा उनकी ५० वर्षीया आमा रनमाया रिठ्ठामगर पुरिएकी छन् । उनको खोजी भइरहेको एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।
from Online Khabar https://ift.tt/2Y92su0
via IFTTT
No comments:
Post a Comment