त्यसै पनि अहिले गर्मीको मौसम । त्यसमागि मनसुन सक्रिय भएको बेलामा पर्ने अविरल वर्षाले हाम्रो स्वास्थमा समेत प्रतिकूल प्रभाव पारिरहेको हुन्छ । यो सिजनमा हामीले खाने खाद्य पदार्थहरु अरु बेलाको तुलनामा अझ चाँडो दुषित हुने सम्भावना रहन्छ । खाद्य पदार्थलाई कसरी दुषित हुनबाट जोगाउने ? अथवा खाद्यपदार्थलाई कसरी सुरक्षित राख्ने ? यो आजको बुझ्नै पर्ने आवश्यकता हो । हामीले उपभोग गरिरहेका सबै प्रकारका खाद्य पदार्थहरु कत्तिको स्वच्छ, ताजा अथवा स्वास्थको लागि सुरक्षित छन् ? यसबारेमा हामीले विचार गर्नैपर्छ ।
पछिल्लो समय तरकारीमा विषादीको प्रयोग राष्ट्रव्यापी मुद्दा नै बनिरहेको छ । हामीले खाने अधिकांश तरकारीहरुमा आवश्यकता भन्दा बढि विषादीहरु प्रयोग भैरहेका छन् भन्ने समाचारहरु हरेक दिनजसो प्रकाशित भैरहेका छन् । यस्तो अवस्थामा हामीले खाने खाद्य पदार्थ जस्तै अन्न, तरकारी, फलफूल आदि विषालु रसायनबाट मुक्त छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु अनिवार्य छ ।
विषालु रसायन प्रयोग भएका खाद्यपदार्थहरु हाम्रो स्वास्थका लागि हानिकारण हुन्छन् । त्यसै पनि अहिले खाद्य पदार्थहरुमा विषादी धेरै छन् । हामीले खाने खानामा विषादीको मात्रा कति छ भन्नेतर्फ पनि हामीले ध्यान दिनु अनिवार्य छ ।
थोरै सावधानी अपनाइएमा हामी शरीरलाई हानी गर्ने विषालु रसायनबाट छुटकारा पाउन सक्छौं । यहाँ केही खाद्यपदार्थलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।
खाद्य पदार्थलाई कसरी जोगाउने ?
गहुँ
रोटी प्रायः सबैलाई मनपर्ने खाद्य पदार्थ हो । रोटी प्राय गहुँको पिठोबाट बनाइन्छ । हामीले स्वस्थकर रोटी खाने हो भने गहुँ नै स्वस्थ हुनु अनिवार्य छ । गहुँलाई डीडीटी, एचसीएच, एफ्लाटक्सिन जस्ता विषालु रसायनका साथै मुसाको रौं तथा मलले समेत दुषित बनाइरहेको हुन्छ । ती पदार्थले हाम्रो प्रजनन प्रकृयामै नकारात्मक प्रभाव पार्न सक्छ भने रगतलाई समेत दुषित बनाउँछ ।
यसबाहेक ती पदार्थले मस्तिष्क तथा छातीको क्यान्सर नै हुने सम्भावना रहन्छ । त्यसबाट बच्नका लागि गहुँ पिस्ने बेलामा नै ध्यान दिनु पर्छ । गहुँ पिस्नुभन्दा अघि त्यसको सबै भुस निकाल्नुपर्छ । भुससँगै त्यसमा भएको किटनासक विषादी पनि स्वतः निस्कन्छ ।
त्यसबाट पनि बाँकी रहेको विषादी रोटी पकाउने अथवा सेक्ने क्रममा नष्ट भएर जान्छ । त्यसैले गहुँ किनेपछि राम्ररी सफा गरेर मात्र पिसाउनु उपयुक्त हुन्छ ।
चामल
चामलमा पनि विभिन्न प्रकारका दुषित पदार्थहरु पाउन सकिन्छ । ती मध्ये प्रमुख हुन चामलमा प्रयोग गरिने डीडीटी तथा आरसेनिक । ती दुषित पदार्थले हाम्रो स्मरणशक्ति तथा प्रजजन क्ष्ँमतामा कमि ल्याउँछ । ती पदार्थले हाम्रो रगत समेत दुषित बनाउँछ ।
छाती तथा मस्तिष्कको क्यान्सर हुने सम्भावना पनि अधिक हुन्छ । त्यसैले दुषित पदार्थ मिसिएको चामल नै किन्नबाट जोगिनु पर्छ । त्यसका लागि हामीले किन्ने चामलको रंगमा ध्यान दिनु पर्छ । हुन त अधिकांश चामलको रंग सेतो नै हुन्छ, तर सेतो बाहेकका रंगका चाममा एफ्लाटक्सिन हुन सक्छ । त्यस्ता चामल पाक्न समेत समय लाग्छ । त्यसैले चामललाई स्वस्थ बनाउनका लागि पकाउनुभन्दा आधा घण्टा अघि नै चामललाई चार पटक पानीले पखाल्नु पर्छ र अन्त्यमा पानीमै भिजाएर राख्नु पर्छ । यसबाट चामलमा भएको दुषित पदार्थहरुलाई सजिलै हटाउन सकिन्छ ।
दाल
चामलजस्तै दाल पनि हामीले दैनिक रुपमा प्रयोग गर्ने महत्वपूर्ण खाद्य पदार्थ हो । दाललाई पनि केही पदार्थहरुले दुषित बनाइरहेका हुन्छन् । ती मध्ये मुसाको कपाल, मुसाको लिंड तथा एचसीएच प्रमुख हुन् । ती दुषित पदार्थले पनि स्मरणशक्ति कम गराउनुका लागि प्रजजन क्षमतालाई पनि घटाउँछन् । रगतलाई दुषित बनाउनुका साथै छाती र मस्तिष्टकको क्यान्सरको सम्भावना समेत बढाउँछन् । दालमा पाइने दुषित पदार्थबाट जोगिने उपायहरु पनि छन् ।
त्यसका लागि दाल पकाउनुभन्दा एक घण्टा अघि नै दाललाई पानीमा भिजाउनु पर्छ । दाल पकाउन बसाउनुभन्दा ठिक अघि चार पटक पानीले पखाल्नु पर्छ । त्यसपछिमा दाललाई प्रेसर कुकुरमा राखेर पकाउनु पर्छ । दालमा चार-पाँच सिट्ठी लागेपछि अर्थात दाल राम्ररी पाकेपछि मात्रै खानु पर्छ ।
दूध
हामीले हरेक दिन प्रयोग गर्ने दूध पनि दुषित हुन सक्छ । दुधमा पाइने दुषित पदार्थहरुमा डीडीटी तथा एचसीएच, एन्डासुलफोन, सिन्थेटिक दूध, हाइट्रोजन प्याराअक्साइड आदि हुन् । यी पदार्थहरुले हाम्रो मृगौला, कलेजो, मांशपेशी तथा आन्द्रामा नकारात्मक प्रभाव पार्न सक्छ । दुषित दूधको सेवनले पेटको अल्सर नै हुने सम्भावना हुन्छ । दूषित दूधबाट जोगिनका लागि साइकलमा दूध बेच्नेहरुसँग दूध किन्नै हुँदैन ।
उनीहरुले दूधमा पानी मिसाउने सम्भावना अत्यधिक रहन्छ । यसबाहेक गुणस्तरीय डेरीबाट उत्पादित दूध मात्र प्रयोग गर्नु पर्छ । डेरीका दूधहरु पास्चराइड गरिएको हुनाले पेस्टिसाइडको प्रभाव कम हुन्छ । महत्वपूर्ण कुरा के हो भने दूध सेवन गर्नुअघि त्यसलाई राम्ररी उमाल्नु अति नै अनिवार्य छ ।
मसला
हामीले तरकारी पकाउँदा प्रयोग गर्ने मसला पनि दुषित हुन सक्छ । त्यसमा अप्राकृतिक रंग, माइक्रो टक्सिनका साथै अखाद्य धूलो प्रयोग गरिएको हुनसक्छ । ती दुषित पदार्थले स्वास्थमा धेरै नै प्रभाव पार्छ । खासगरी दुषित मसलाले हाम्रो आन्द्रालाई नै नकारात्मक प्रभाव पार्न सक् छ।
बेसार
बेसारको रंग पहेंलो हुन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । यद्यपि, बजारमा बिक्रीका लागि राखिएको बेसारको रंग आवश्यकता भन्दा बढि नै पहेंलो छ भने त्यसमा मिसावट छ भन्ने कुरा बुझे हुन्छ । बेसारमा क्रोमाइड नामक रसायन मिसाएपछि उक्त बेसार आवश्यकताभन्दा बढि पहेंलो हुन्छ । त्यसैले बेसार किन्दा प्राकृतिक पहेंलो रंगको बेसार किन्नु नै बुद्धिमानी हुन्छ ।
खुर्सानीको धूलो
खुर्सानीको धूलो पनि पनि विभिन्न प्रकारका अखाद्य धूलो मिसाइएको पाइन्छ । स्वस्थकर खुर्सानीको धूलो घरमै बनाउनु राम्रो हुन्छ । सुकेको खुर्सानी किनेर त्यसलाई घरमै पिस्नाले स्वस्थ धूलो तयार पार्न सकिन्छ ।
यसका साथै मरिच, जीरा, अलैंची, दालचिनी तथा धनियाँ जस्ता खाद्य पदार्थलाई घरमै पिसेर विभिन्न प्रकारका मसला बनाउन सकिन्छ ।
from Online Khabar https://ift.tt/2JHnyGY
via IFTTT
No comments:
Post a Comment