काम कसरी गर्ने, भोजन कसरी गर्ने, निद्राबाट कसरी जाग्ने, कामवासनाबाट कसरी मुक्त रहने ? यही कुरा सिकाउन्छ विज्ञान भैरव तन्त्रले ।
विज्ञान भैरव तन्त्र पाँच हजार बर्ष पुरानो ग्रन्थ मानिन्छ । यस ग्रन्थमा भगवान शिवले माता पार्वतीको आत्म उपलब्धिको एक सय बाह्र सूत्र बताएका छन् । यो सूत्र वा विधी जीवन जिउने एक पद्धती हो, जीवन जिउने एक कला हो । एक तौर-तरिका हो । जीवन कसरी जिउने ?
यस सूत्रमा ‘कसरी’ एक महत्वपूर्ण शब्द हो, जुन कुरा हाम्रो जीवनबाट हराएको छ । हामीले भुल्यौं कि जीवन कसरी जिउने ? हामीले यस्तो कुरा भेटेका छैनौ कि जसले जीवन कसरी जिउने भन्ने सिकाउँछ । न हामीलाई शिक्षक-शिक्षिकाले बताए, न आमाबुवाले बताए, न जान्नेबुझ्ने अग्रजले बताए ।
तन्त्रमा भनिएको छ, हामी आफ्नो मूल स्वभावमा छैनौं । हामी आफ्नो मूल स्वभावबाट टाढा रह्यौं । हामीले आफ्नो ‘मन’लाई सुन्यौं, ‘शरीर’लाई सुनेनौं । मन त हाम्रो चौथो तला हो । शरीर नै हाम्रो पहिलो तला हो । पहिलो तला, जहाँ हामी उभिएका छौं, त्यसलाई सुनेनौं । तर, चौथो तलालाई सुनिरहेका छौं ।
हामीले आफ्नो शरीरको कुरा कहिल्यै ध्यान दिएनौं । उसले बारम्बार हामीलाई इशारा गरिरहेको छ, बारम्बार भित्रबाट भनिरहेको छ, ‘तिमीले जे खाइरहेका छौ, त्यो सही छैन । पछि दुःख पाउनेछौं ।’
हामी खानेकुरा सेवन गरिरहँदा मनमा भने अर्कै कुरामा मग्न भइरहेका हुन्छौं । अर्कै कुरा विचार गरिरहेका हुन्छौं । कसैसँग कुराकानी गरिरहेका हुन्छौं । खानेकुराको असली स्वाद कस्तो थियो ? हामी भुल्छौं । वा बेवास्ता गर्छौं । जब स्वाद थाहा पाउँछौं, त्यसबेलासम्म पेट भरिसकेको हुन्छ । तर, स्वादकै लागि हामी अरु भोजन ग्रहण गर्छौं, जुन शरीरलाई आवश्यक थिएन । शरीरले डकार्छ र संकेत गर्छ कि ‘खानेकुरा बढी भयो ।’ तर, हामी उक्त कुरामा ध्यान दिदैनौं । नतिजा के हुन्छ ? शरीरमा अनावश्यक तत्व जम्मा हुन्छ । यही कारण मोटोपन बढ्छ । मोटोपनले रोगलाई निमन्त्रणा गर्छ ।
तन्त्रले भन्छ, भोजन गर्ने हो भने कस्तो गर्ने ?
भोजन गर्दा पूर्ण स्वाद लिएर गरौं । कुनै विचार होइन, कुनै कुराकानी होइन, आफ्नो सम्पूर्ण ध्यान चपाउन र स्वाद लिनमा लगाउनुपर्छ ।
यदि ध्यान दिएर र पुरा चपाएर खानेकुरा खाने हो भने धेरै खाना खाइदैन । यसले गर्दा पाचन यन्त्रमा दबाव पर्दैन । पाचन यन्त्र चुस्त र बलियो भएपछि नै हामी धेरै किसिमका रोगबाट मुक्त हुने हो ।
तन्त्रले हाम्रो जीवन जसरी जिउनुपर्ने हो, त्यही किसिमले मार्गदर्शन गर्छ । तन्त्रले हामीलाई शरीरको भाषा सिकाउँछ । तन्त्रले भन्छ कि जो शरीरको अनुकुल हो, त्यो नैतिक हो । जो शरीरको प्रतिकुल हो, त्यो अनैतिक हो ।
तन्त्रले हामीलाई शरीरसँग जिउन सिकाउँछ । जब भोक लाग्छ, भोजन ग्रहण गरिन्छ । जब निद्रा आउँछ, सुतिन्छ, जब संगीत बज्छ नाचिन्छ । शरीरलाई यसरी स्वतन्त्रता दिनुपर्छ । स्वतन्त्रताको अर्थ उच्छृंखलता भने होइन ।
तन्त्रले हामीलाई सही ढंगले जिउन सकिन्छ । श्वास लिनुछ भने कसरी लिनुपर्छ, बस्ने हो भने कसरी बस्नुपर्छ, हिँड्ने हो भने कसरी हिँड्नुपर्छ । अर्थात दैनिक जीवनको कार्यलाई सुनियोजित गर्ने तरिका सिकाउँछ ।
जीवनको सबैभन्दा महत्वपूर्ण कार्य हो प्रजननका लागि वा आफ्नो आनन्दका लागि कामवासनाबाट मुक्त रहनु । तन्त्रले सिकाउँछ कि कसरी कामवासनाबाट मुक्त रहने ?
तन्त्र भन्छ कि कामवासनाबाट पूर्ण रुपमा मुक्त नपाउनुको कारण हाम्रो चित्त त्यसकै वरीपरी घुमेर हो । कामवासनालाई काम उर्जामा परिणत गर्न सकिन्छ । तन्त्रले कामवासनाबाट लामो समयसम्म मुक्त हुने सूत्र सिकाएको छ । तन्त्र भन्छ कि श्वास लिने हो भने कसरी लिने ? कामवासनमा श्वासको जुन लय थियो, यदि त्यो लयलाई समात्ने हो, श्वासलाई धीमा र गहिरो लिने हो भने कामवासनाबाट उत्रनै पर्दैन । अर्थात कामवासना कामउर्जामा र कामउर्जा केवल उर्जामा रुपान्तरण हुनेछ ।
from Online Khabar https://ift.tt/2LMwM7s
via IFTTT
No comments:
Post a Comment