Thursday, July 11, 2019

विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो ।

नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ ।  ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपथ्र्यो ।’

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले खासगरी भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउन सुरु गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ ग‍रेपछि । भारतले पत्र पठाएरै र कर्मचारीहरुलाई भेटेर विषादी परीक्षण नगर्न दबाव दिएको थियो । त्यससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले भारतबाट कुनै प्रकारको दबाव नआएको बरु विषादी परीक्षण गर्ने प्रयोगशाला नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । कृषि मन्त्रालयले नाकामा कडाइ गरिरहेको बेला प्रयोगशाला नभएको भन्दै मन्त्रिपरिषदले नै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

त्यसको सर्वत्र आलोचना भइरहेको बेला कृषि मन्त्री चक्रपाणि खनालले विषादी परीक्षणको क्षमता सरकारसँग भएको भनेर खण्डन मात्र गरेनन्, परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र नै अनलाइनखबरमार्फत सार्वजनिक भयो ।

पत्र सार्वजनिकपछि सरकार आलोचित बनिरहेका ओलीले भारतबाट आएको पत्रबारे समयमै जानकारी नपाउँदा आफूले ‘भारतीय पक्षबाट कुनै दबाव नआएको’ भनेर बोलेको प्रष्टीकरण टेलिभिजन कार्यक्रममार्फत् दिएका हुन् ।

पार्टी संसदीय दलको असार २१ को बैठकमा यो विषय उठेपछि भारतीय पक्षबाट कुनै दबाव नआएको दाबी गरेका ओलीले २३ गते मात्रै त्यससम्बन्धी पत्र पाएको जिकिर गरेका छन् ।

‘मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनेँ । तर, २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ’, प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी परीक्षण रोकिएकोबारे सोधिएको जिज्ञासाको जवाफ दिँदै भनेका छन्, ‘म त्यसबाट दुखित छु । यथार्थ मबाट लुकेको रहेछ ।’

नेपाल उत्पादितभन्दा भारतमा उत्पादित तकारीहरुमा बढी विषादी प्रयोग हुने गरेका समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

तरकारीको विषादी परीक्षण भारतीय दबावमा रोकेपछि नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । सर्वोच्चले भने सीमामा विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिइसकेको छ ।



from Online Khabar https://ift.tt/30tm0a4
via IFTTT

No comments:

Post a Comment