Thursday, August 1, 2019

सभामुखले बोलाए सर्वदलीय बैठक

१६ साउन, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले संयुक्त रुपमा संसद अवरुद्ध गर्दै आएका छन् ।

यसअघि सभामुख महराले गतिरोध अन्त्यका लागि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै आएका थिए । तर, सहमति जुट्न सकेन ।

‘प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलले पार नलागेपछि दलकै बैठक आवश्यक देखियो,’ सभामुख महराका प्रेस सल्लाहकार मल्लले भने ।

विप्लव समूहका नेता पौडेल गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेहीको जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । उनी प्रहरीसँगको मुठभेडमा मारिएको भनेर गृहमन्त्रीले संसदमा जवाफ दिएका थिए । तर शवको प्रकृति र स्थानीयबासीको भनाइ विपरित सरकारको जवाफ आएको भन्दै सत्तारुढ सांसदले समेत सत्यतथ्य छानविनको माग गर्दै आएका छन् । विप्लव समूहले त बाटो ढुकेर पौडेलको हत्या गरिएको दाबी गर्दै आएको छ ।

यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगरस्थित बाँके खोलामा अवैध गिट्टी बालुवा उत्खननका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित कुमार रायको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सरोज नारायण सिंहको मृत्यु भएको थियो ।



from Online Khabar https://ift.tt/2ytAafq
via IFTTT

No comments:

Post a Comment