Monday, September 9, 2019

आजका पत्रपत्रिका : कार्यालय समयमा ट्रेड युनियन गतिविधिमाथि प्रतिबन्ध

२३ भदौ, काठमाडौं । डेंगुको बढ्दो संक्रमण, चिनियाँ विदेशमन्त्रीको भ्रमण, ट्रेड युनियम गतिविधिमाथि गरिएको प्रतिबन्धको तयारीलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने गरी सरकारले प्रतिबन्धको तयारी गरेको खबर आज राजधानीले लेखेको छ । कार्यालय समयमै विभिन्न गतिविधि गर्दा सेवाप्रवाहमा गम्भीर असर परेको विश्लेषण गर्दै कार्यालय समयभित्र कुनै पनि गतिविधि गर्न नपाउने प्रावधानसहितको नयाँ कानूनी व्यवस्था गर्न लागिएको हो ।

राजधानीका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तावित निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए पनि ट्रेड युनियनले कार्यालय समयमा कुनै पनि गतिविधि गर्न नपाउने व्यवस्था गरिने बताएका छन् ।

कान्तिपुरले चीनसँगका विगतका सम्झौताहरूको कार्यान्वयन पक्ष केलाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने औपचारिक भ्रमणबारे चर्चा परिचर्चा भइरहेका बेला कान्तिपुरले फरक ढंगले समाचार बनाएको छ ।

कान्तिपुरका अनुसार, कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवतजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रूप लिन सकेका छैनन् । शून्य दरमा नेपाली उत्पादन चिनियाँ बजारमा प्रवेश, बहुचर्चित काठमाडौं–केरुङ रेलमार्ग, चीनको सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग, उद्योग, स्थापना, जलविद्युत् तथा प्रसारण लाइन निर्माणलगायतका विषय सन्धि–सम्झौतामै सीमित भएको कान्तिपुरको ठम्याइ छ ।

‘दुवैतर्फका पूर्वाधार विकास तथा कार्यप्रणाली फितलो हुँदा नेपाल–चीनका सम्झौता परिणाममुखी बन्न नसकेका हुन्’, कान्तिपुरले आफ्नो निष्कर्षमा लेखेको छ ।

सांसदको योजनामा कर्मचारीले कमिसन मागेको अर्को खबरलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ । योजनाको भुक्तानीका लागि प्रदेश २ मा मन्त्रालयका कर्मचारीले ३० प्रतिशतसम्म कमिसन मागेको भन्दै सांसद्ले आपत्ति जनाएका हुन् । समाचारमा लेखिएअनुसार संसदीय विकास कार्यक्रमअन्तर्गत गत वर्ष विकास निर्माणका ५ सय योजनामा खचिइइएको करिब १ अर्ब रुपैयाँको भुक्तानी कमिसनकै कारण अड्किएको छ । अधिकांश योजनाको काम उधारोमा गरिएको सांसदले बताएका छन् ।

नेत्र विशेषज्ञ प्रा.डा सन्दुक रुइत डेंगुबाट संक्रमित भएको खुलासा पनि आजको कान्तिपुरले गरेको छ । उनी डेंगुबाट संक्रमित भएपछि थापाथलीको नर्भिक अस्पतालमा उपचाररत छन् ।

अर्को राष्ट्रिय दैनिक अन्नपूर्णले पनि आज डेंगुको बढ्दो संक्रमणबारे मुख्ख समाचार बनाएको छ । ‘डेंगुको डरःअस्पतालमा थामिनसक्नुको भीड’ शीर्षक समाचारमा डेंगु संक्रमण बढेपछि अस्पताललाई भीड थेग्नै गाह्रो परेको उल्लेख छ ।

डेंगु नियन्त्रणमा सरकार गम्भीर नबनेको गुनासो भन्दै आलोचना भइरहेका बेला उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबैको सहयोगले मात्र नियन्त्रण हुने बताएका छन् ।

नागरिकले सरकारको साक्षरता अभियानको उपलब्धिबारे लेखाजोखा गरेको छ भने सरकारी मुखपत्र गोरखापत्रले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणबारे मुख्य समाचार बनाएको छ ।



from Online Khabar https://ift.tt/2ZGSAJ5
via IFTTT

No comments:

Post a Comment