दशैं भन्नेवित्तिकै मलाई गाउँको सम्झना हुन्छ । गाउँमा जन्मेको भएर हो कि दशैं त गाउँमै छ जस्तो लाग्छ । जमरा राख्ने दिनदेखि विहान नुहाई– धुवाई गरेर चोखो भै नित्य दुर्गा शप्तशतीको पाठ अनि विजयादशमीका दिन नकाटुन्जेल डालोभित्र पहेंलपुर हुँदै मौलाएको जमरा दशैंको विम्वजस्तो लाग्छ ।
गाउँवाट शहर, शहरबाट राजधानी हुँदै अहिले १४ वर्षभन्दा वढी अमेरिकामा बसोवास गरेको समयावधि भए पनि दशैं भन्ने वित्तिकै मलाई त्यही वालापनको दशैंको झझल्को आँखाअगाडि ईन्द्रेनी बनेर झुल्किन आइपुग्छ । घरअगाडि करेसावारीमा कोपिला हाल्न थालेका सयपत्री र मखमलीका फूलको याद आउँछ ।
मैले नेपाल बाहिरको दशैं पहिलोपल्ट सन् १९९२ मा बेलायतको राजधानी लण्डनस्थित नेपाली दूतावासमा मनाएको थिएँ । सबै तह र तप्काका नेपालीहरु र मजस्ता भर्खर पुगेका समेत त्यहाँ भेट्दा रमाइलो लागेको थियो ।
संसारमा जहाँ पुगेको भए पनि दशैंले पारिवारिक पुनर्मिलनको अवसर दिन्छ । त्यसरी लण्डनमा अनेक नेपाली भेट्दा मलाई त्यही पुनर्मिलनको झल्को याद आएको थियो ।
अमेरिकामा मैले पहिलो दशैं सन् २००० मा मनाएको थिएँ । टीका, जमरा लाएर मासाचुसेट्स एवेन्यूको एपार्टमेण्टको कोठामा खाई पिई रमाइलो गरेको सम्झना अहिले पनि उत्तिकै बलियो छ । अनि नेपाली दूतावासमा सम्पन्न दशैंको उत्सव पनि उत्तिकै टड्कारो छ सम्झनामा ।
नेपाल सरकारले संसारका सबै दूतावासमा दशैं उत्सवका लागि बजेटको व्यवस्था गरेको हुन्छ र सामान्यतः यो पर्वमा व्यक्तिगत निम्तो नगरी इच्छुक सबैका लागि साझा निम्तो गर्ने प्रचलन हुन्छ । नेपाली र नेपालसँग सम्वन्धित एवं नेपाल गएर फर्केका नेपाली संस्कृतिलाई माया गर्ने विदेशीहरु पनि टीका र जमरा ग्रहण गर्न आउने गर्छन् ।
अमेरिकामा सत्तरीको दशकसम्म पनि नेपालीहरु अत्यन्त कम सङ्ख्यामा थिए । विदेशमा वसाईं सर्ने मानसिकताको विकास नभएको बेला थियो । कुनै कार्यक्रमका लागि अमेरिका छिरेपछि यतै अल्झिने मानसिकताले प्रश्रय नपाउने बेला थियो । त्यस्तो बेलामा अमेरिकामा भएका थोरै नेपालीमध्ये हाल सबैले जेष्ठ नागरिकको रुपमा सम्माननित स्थानमा रहनु भएका राम मालाकार थिए ।
दशैंमा भोज त गर्नु प¥यो । खानुप¥यो । त्यसका लागि साथी संगाती त चाहियो । नेपालीहरु त होलान्, तर कसरी चिन्ने ? यो समस्या थियो । र, त्यसका लागि राम मालाकारले एउटा सजिलो उपाय निकाले– ढाकाटोपी लाएर वाशिंटन डीसी शहर घुम्ने । ढाकाटोपी देखेपछि त नेपाली भनेर चिनिहाल्छन् अनि बोल्न आइहाल्छन् भन्ने उनको ठहर थियो । यसरी उनले बाटामा नेपाली सिला खोजेर दशैं मनाउन शुरु गरेका थिए सामुहिक रुपमा ।
त्यसपछि मालाकारले सांगठनिक स्वरुपको परिकल्पना गरे, जुन आज वाशिंटन डीसी मेट्रो क्षेत्रमा यौटा सवल संस्थाका रुपमा प्रतिष्ठापित छ– ‘नेपाल पासापुच अमेरिकाय’का नाममा ।
यो पनि पढ्नुहोस मन्दिरका पुजारी जनजाति, बडादशैं बाहुनको ?
तर, त्यसको बीज रुप भने दशैंका लागि नेपालीहरु अमेरिकाको सडक बजारमा खोज्ने एकल अभियानका साथ शुरु भएको थियो ।
अब त अमेरिकाका कैयन् शहरमा पैदल यात्रा गर्दा पनि नेपालीमा कुरा गरेको सहज सुन्न पाइन्छ । कुनै मल वा स्टोरमा पुग्दा नमस्कार स्वर मज्जाले घन्किन्छ ।
यसरी नेपाली खोजेर सँगै बसेर दशैं मान्न चाहने अल्पसंख्याका नेपालीहरु भएको विराट मुलुक अमेरिकामा अहिले लाखौं लाख नेपालीहरु बसोबास गर्छन् । सबैजसो राज्यमा नेपाली नभएको शहर कमै छन् । जहाँ नेपाली त्यहाँ नेपालीको कुनै न कुनै संघसंस्था पनि छ र त्यो संस्थाले अरु केही नगरे पनि वर्षमा यौटा दशैं कार्यक्रम त गर्छ नै गर्छ । यसरी अमेरिकाका सबै राज्यमा जमरा उम्रन्छ, टीका टालो हुन्छ र दशैं उत्सवका रुपमा मनाएको देख्छु ।
तर, रुखको हाँगामै भए पनि वा वाँसको लिङ्गो ठड्याएर मच्चिने लिङ्गे पिङमा सरर मच्चाउने र एकदिन धरती छोड्नुपर्छ भन्ने मान्यताको भने पालना गर्न पाइएको छैन । साना–साना वालवालिकाले दशैंमा काठमाडौंमा बजाएको जस्तो डमरु पनि खट्किन्छ ।
अमेरिका यस्तो स्वतन्त्र र प्रजातान्त्रिक मुलुक हो, जहाँ आप्रवासीहरुलाई अंगीकृत नागरिकता प्रदान गर्ने विशेष समारोहमा अमेरिकी राष्ट्रपतिको रेकर्डेड भिडियोमा ‘तपाईंहरुले यो मुलुकमा आफूले बोल्दै आएको भाषा र साँस्कृतिक गतिविधिहरुलाई निरन्तरता दिँदै’ अमेरिकी भाषा र संस्कृति अपनाउन आग्रह गरिएको हुन्छ ।
अमेरिकाका विश्वविद्यालयहरुमा जहाँ निश्चित संख्याका विद्यार्थीहरु हुन्छन्, त्यहाँ युनियन खोल्न पाइन्छ र त्यसको सञ्चालनका लागि आर्थिक सहयोग पनि प्राप्त हुन्छ । साथै विश्वविद्यालयको सभा कक्ष पनि प्रयोग गर्न पाउँछन् । कतिपय विश्वविद्यालयका विद्यार्थीहरुले दशैंका अवसरमा दशैं उत्सव अमेरिकी विश्वविद्यालयहरुमा मनाएको आफैंले देखेको छु र समाचारहरु पढेको छु ।
अमेरिकामा नेपालीहरुको फैलावट र विस्तारसँगै यो चाड विस्तार भएको छ । दशैं कुनै जाति, धर्मको भन्दा पनि नेपालीको चाडका रुपमा अमेरिकामा स्थापित छ । एकताको प्रतीक र कडी बनेको छ । यो विश्वसमक्ष नेपाली संस्कृतिको विस्तार हो, फैलावट हो ।
अमेरिकामा हिन्दु मन्दिरहरु प्रशस्त छन्, ती मन्दिरहरुको निर्माणमा भारतीय मूलका बासिन्दाहरुको बढी योगदान छ । नेपाली मन्दिरहरुको निर्माणको क्रम पनि निरन्तर छ । नेपाली मन्दिर भएको ठाउँमा नेपाली मन्दिरमा, नत्र जुन मन्दिर नजिक छ, सो मन्दिरमा कम्तिमा दशैंका बेला जाने नेपालीहरु प्रसस्त छन् ।
भर्जिनियाको लोर्टनमा अवस्थित दुर्गा मन्दिर दुर्गा पूजा वा दशैंका लागि अत्यधिक नेपालीहरुको गन्तव्य भएको छ । कतिपय नेपाली संघ संस्था वा मन्दिर निर्माणका क्रममा लागेका समिति वा मन्दिर व्इवस्थापनबाट नियमितरुपले घटस्थापनामा जमरा राख्ने, फूलपाती भित्र्याउने, कालरात्री पूजा गर्नुका साथै विजया दशमीका दिन पण्डितवाट टीका प्रदान, जमरा वितरण जस्ता कामहरु पनि हुँदै आएको छ । यो सनातनताको निरन्तरता हो, अमेरिकी भूमिमा ।
दशैंसँग जोडिएको अर्को एउटा आकर्षण हो– चिची र नयाँ नाना । अर्थात् मासु चिउरा र नयाँ लुगा । समयको परिवर्तनसँगै नयाँ लुगा लगाउन दशैं कुर्नपर्ने अवस्था र छैन । मासु खान दशैं कुर्नपर्ने कमै छन् । तर, दशैंमा रातो सारीमा सजिएका महिला र दौरा सुरुवाल लगाउने पुरुषहरु देख्दा अमेरिकामा साँच्चै यौटा सानो–सानो नेपालको निर्माण भएजस्तो लाग्छ ।
उसै पनि दशैंमा टीका थाप्न टोपी लाउने नेपाली संस्कार छँदैछ, यसलाई अमेरिकामा पनि धेरैले पालन गरेका छन् । यसले नेपाली संस्कृतिलाई जोगाउन, संरक्षण गर्न र नेपालीपन जीवित राख्न मद्दत पुग्ने कुरामा शङ्का गर्नुपर्ने कुनै ठाउँ नै छैन ।
नेपाली समुदाय अमेरिकामा प्रभावकारी स्थानमा पुगिसकेका छैनन् । नीति निर्माणका लागि प्रभावकारी भैसकेका छैनन् । अतः दशैंमा यहाँ विदा भन्ने हुँदैन । संयोगले शनिवार, आइतवार परेमा वाहेक दशैंका लागि छुट्टी लिनुको विकल्प छैन ।
तर, कतिपय प्रतिष्ठानमा नेपालीहरुको बाहुल्य छ भने एकैदिन एकैपटक विदा मिल्न मुस्किल पर्ने समस्याहरु पनि नभएका हैनन् । तर, नेपालीहरुको समुदाय फैंलँदै गएर कम्तिमा दशैंको टीकाको दिन विदाको व्यवस्था हुने दिन पक्कै आउने सम्भावना प्रवलरुपमा देखिएको छ ।
अमेरिकामा दशैं नेपालीपनसँग, नेपाली संस्कृतिसँग र सनातनतासँग अविभाज्य भएर उल्लासित छ ।
यो पनि पढ्नुहोस दशैंमा मासु खाँदा ध्यान दिनोस्from Online Khabar https://ift.tt/2IrdzW9
via IFTTT
No comments:
Post a Comment