“बुद्धिराम सर, नमस्कार !” आफ्नो आँगनको डीलमुनिको बाटोबाट कसैले बोलाएपछि पो उनी झस्किए। हतार-हतार दुइ हात जोडेर अभिवादन फर्काउँदै भने-“नमस्कार! टाढै हिँड्नुभयो?”
प्रतियुत्तर फर्काँउदै हातमा कोदाली बोकेका ती मान्छेले भने- “बर्खा लाग्यो हजुर, खेततिर आली लगाउन हिँडेको, हवस् म गएँ”।
मन्द मुस्काएर ती मान्छे । ओरालो लागे । प्रतिउत्तरमा मुसुक्क हाँसे।बुद्धिरामले तिनी गएको हेरिरहे।
जीवनको ६२ औँ बसन्त पार गरेका उनको दिनचर्या धेरैजसो गाँउसमाज डुल्दै जान्छ। ५ वर्ष अगाडी उनलाई विद्यालय धाउँदै फुर्सद भएन, प्रधानाध्यापक भएर २० औँ वर्षसम्म विद्यालय सम्हाल्दा जति विद्यार्थीलाई उनले किताबी ज्ञान बाड्न सके, त्योभन्दा केही गुणा बढी उनले जीवन ज्ञान सिके, जुन केही हदसम्म सिकाए पनि।
उनले पढाएका केही विद्यालयका नाम आजकल केही पत्रपत्रिकामा फाट्टफुट्ट देखिन्छन् भने केही आफ्नै खेतबारीका रोपाई र मेलापातमा पनि भेटिन्छन्। फरक यति हो, कसैले टाढा गएर राम्रो गरे कसैले नजिक बसेर।
जीवनका त्यत्ति धेरै वर्षहरुमा बुद्धिरामले धेरै सपनाहरु देखे। ति सपना पूरा गर्न कयौँ ठाउँ पनि पुगे, दुख सिके, दुख गरे। गाउँको पढाई सकेर गोजीमा २०० रुपैँया बोकेर राजधानी जाँदाका दिनदेखि त्रिचन्द्र कलेजमा सिकेका अनेकौ पाठ, संघर्षले धानेको जीवन, आर्थिक र व्यावहारिक पक्षले सताउदा कुलतमा फसेका दिन अनि जीवन धान्नै नसकेरै गाँउ फर्किएका दिन सम्झिएर एकछिन भावुक भए।भावुक हुँदा आमा सम्झिए।
राजधानीबाट फर्किएको छोरोको गोजीमा चुरोट भेट्टिँदा आमाले सार्है मन दुखाएर मर्छु भनेपछि त बल्ल उनले दुख: सम्झिए। पछि आफूलाई सुधारे । आफ्नो स्थितिलाई सुधारे । फेरि मेहनत गरेर पढे अनि आफ्नै गाँउमा हेडमास्टर बनेर आए।
दुखले मानिसलाई परिपक्क हुन सिकाउँछ अनि सपनाका कुनै हैसियत हुदैँनन् । उनको यो जिन्दगीको सबै भन्दा ठूलो सिकाइ थियो, जुन ज्ञान उनले कक्षा कोठामा बाँड्न छुटाएनन्।जीवनसँग के पाए, के गुमाए, त्यसको हिसाब राख्न उनी आफैँले गणित पढाउँदासमेत भ्याएनन् । तर, दराजभरिका किताबका ठेलीले उनको ज्ञानको केही आकलन भने पक्कै दिन्छन्। सम्झनाहरु पातलिदैँ गए । तर, उनले लगाउने चस्माको काँच भने बाक्लिएकै छ।
जीवनलाई फर्किएर हेर्दा आज उनीसँग कमै मात्र गुनासा छन्, उनलाई येसैमा मजा लाग्छ।
“आजकल हजुरलाई टोलाउने बानी पर्या छ, त्यो आँगनको डिलमा बसेर के-के सोचेर बस्नुहुन्छ हजुर हँ ? पहिले त एस्तो हुनुन्थेन ।”
जाँतामा मास दल्दै गरेकी बुढीले यति भन्दा पो बल्ल उनी फेरि झस्किए। अनि एकछिन गमेर मुसुक्क हाँस्दै भने- “पहिले त तँ पनि यति धेरै गनगन गर्ने खालकी थिइनस् । आजकल सार्है गनगन गर्छेस, के भएको हँ ?
बुढी रिसाएर छिटो-छिटो जाँतो चलाउन थाल्छिन् । उनी बुढी रिसाएको अनुहार हेर्दै मुसुमुसु हाँस्छन्।
from Online Khabar http://bit.ly/2A9eDdi
via IFTTT
No comments:
Post a Comment