Monday, January 28, 2019

डा. केसीका अन्य मागमा छलफल हुन सक्छ : शिक्षामन्त्री पोखरेल

१४ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत प्राध्यापक डा. गोविन्द केसीकाे चिकित्सा शिक्षा विधेयकसम्बन्धी मागमा अब छलफल आवश्यक नभएको बताएका छन् ।

सोमबार प्रतिपक्षी सांसदको नाराबाजीका बीच राष्ट्रियसभामा विधेयक प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले केसीले जननिर्वाचित संसदले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने धारणा राखे ।

‘अघिल्लो पटक नै सम्झौता हुँदा संसदको बाटोबाट अगाडि बढ्छ भनिसकेपछि, अनसनमा बसेर संसदलाई नै प्रभावित गर्छु भन्ने ढङ्गले सोच्नुहुँदैन नि उहाँले’ मन्त्री पोखरेलले भने ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले वार्ता टोली किन नबनाएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले भने, ‘धेरै वार्ता भइसक्यो ।’

चिकित्सा शिक्षा विधेयक वर्षे अधिवेशनमै आएको उल्लेख गर्दै उनले डा. केसी स्वयंलाई संसदीय उपसमितिले बोलाएर छलफल गरेको बताए । ‘मैले उपसमितिलाई पनि भनेँ, कि उहाँसंग संवाद गरिदनुस् । अनावश्यक विवाद नहोस् भनेर’ मन्त्री पोखरेलले भने ।

डा. केसीका अन्य मागका विषयमा छलफल गर्न सकिने तर चिकित्सा शिक्षा विधेयककै विषयमा अनसन बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘फेरि के भन्न चाहन्छु भने, अरु मुद्दाहरुको विषयमा कसरी जाने भनेर मन्त्रिपरिषदमा पनि छलफल गरौंला । चिकित्सा विधेयकको अध्यायलाई चाहिँ टुङ्ग्याऊ । सही ढङ्गले काम गरौं’ उनले पत्रकारहरुसँग भने ।

सहमतिका लागि सहयोग गर्न आग्रह

मन्त्री पोखरेलले डा.केसीलाई सहमतिमा ल्याउन र अनसन तोडाउने भूमिका निर्वाह गर्न नागरिक अगुवालाई आग्रह गरेका छन् ।

‘वार्ता गर्छौं, छलफल गर्छौं, अरुले पनि उहाँलाई सहमतिमा ल्याउन भूमिका खेल्नुपर्छ’, पोखरेलले भने, ‘कतिपय नागरिक समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ । त्यसलाई पनि ध्यान दिइराखेका छौं । नमिल्ने कुराहरुमा हठलाई साथ नदिऔं । सत्यलाई ठीक कुरालाई साथ दिऔं ।’

जनप्रतिनिधिमूलक संस्थालाई आफ्नो ढङ्गले काम गर्न दिन र चित्त नबुझेको कुरामा बहस गर्न पनि उनले आग्रह गरेका छन् । ‘सरकारले ल्याएको कुरा ठीक छ कि छैन, संसदले पास गरेका, माननीयहरुले राखेका कुराहरु ठीक छन् कि छैनन् भनेर अरुले पनि त ध्यान दिन पर्‍यो ।’



from Online Khabar http://bit.ly/2RloEJZ
via IFTTT

No comments:

Post a Comment