Wednesday, January 30, 2019

नागरिकता विधेयक फिर्ता लिन माग गर्दै सभामुखलाई पत्र

१६ माघ, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै बुधबार एक समूहले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।

पुष्पलाल अध्ययन समाजले नक्कली नागरिकता कति छ भन्ने यकीन नभएसम्म नागरिकता विधेयक अगाडि नबढाउन माग गरेको हो ।

समाजका अध्यक्ष लोककृष्ण भट्टराईले नागरिकता छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने र हालको नागरिकता विधेयक फिर्ता लिनुपर्ने भन्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको बताए ।

ज्ञापनपत्र बुझाएर फर्किएपछि वामपन्थी नेता साध्यबहादुर भण्डारीले ४ सय विदेशीलाई नक्क्ली नागरिकता दिएको आफूसँग प्रमाण भएको बताए । उनले नक्कली नागरिकता यकीन नगरेसम्म नागरिकता विधेयक रोक्न माग गरे ।

‘भारतीय केटासँग विवाह गर्दा नेपालीले नागरिकता दाइजो दिन्छन्, अर्थात् श्रीमतीका बुबालाई विदेशीले आफ्नो बुबा बनाएर वंशजको नागरिकता लिँदैछन्’ भण्डारीले भने ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कील भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशीको भाग खोसिएको भन्दै विदेशी बहुमतमा पर्ने नेपाली अल्पमतमा पर्ने स्थिति आउने दावी गरे ।

ज्ञापनपत्र बुझ्दै सभामुख महराले विधेयक फिर्ता लिने विषय आफ्नो नभई सरकारको कार्यक्षेत्रमा पर्ने बताए । ‘विधेयक नै फिर्ता गर्ने मैले होइन सरकारले हो’ उनले भने ।



from Online Khabar http://bit.ly/2MDrYj9
via IFTTT

No comments:

Post a Comment