Wednesday, January 30, 2019

लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै अन्ना हजारे फेरि अनसनमा

१६ माघ, काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनका कारण चर्चित अन्ना हजारेले अनसन सुरु गरेका छन् । उनले बुधबार महाराष्ट्रको अहमदनगर, रालेगन सिद्धीमा अनसन थालेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक पटक आग्रह गर्दा पनि लोकपाल विधेयक कार्यान्वयन नगरेको भन्दै अनसनमा बसेका हुन् । यद्यपि उनले अनसन कुनै व्यक्ति वा पार्टीविरुद्ध नरहेको बताएका छन् ।

यसअघि हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन बसेका थिए । विधेयकमा केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त गठन गर्नुपर्ने व्यवस्था छ । दुबै संस्था उच्च न्यायालय वा निर्वाचन आयोगसरह स्वतन्त्र हुनेछन् ।

कुनै पनि मुद्दाको अनुसन्धान तीन महिनाभित्र पूरा हुनुपर्ने र सुनुवाइ छ महिनाभित्र भइसक्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्ट ठहर भएका नेता, उच्च अधिकारी वा न्यायाधीशलाई वर्षदिन भित्र जेल पठाइसक्नु पर्नेछ ।

कुनै पनि नागरिकको काम तोकिएको समयमा भएन भने दोषी अधिकारीले जरिवाना तिर्नुपर्नेछ । जरिवाना रकम पीडित नागरिकलाई क्षतिपूर्ति दिइने छ । लोकपालका कुनै पनि कर्मचारीविरुद्ध उजुरी परेको अवस्थामा दुई महिनाभित्र छानविन गरेर बर्खास्त गरिने विधेयकमा उल्लेख छ ।

हजारेले किसानहरूको माग पनि तुरुन्त सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।



from Online Khabar http://bit.ly/2sTtsfR
via IFTTT

No comments:

Post a Comment