१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा कुनै समस्या देखिए तत्काल समाधान गर्ने बताएका छन् । विगतमा जे भए पनि अब विकास निर्माणका काममा कुनै समस्या आउन नदिने उनले बताए ।
बुधबार चिनिया सरकारको सहयोगमा निर्मित कोटेश्वर–कलंकी सडक हस्तान्तरण समारोहमा उनले विकास निर्माणमा कुनै समस्या देखिए आफू चुप बस्न नसक्ने बताए । कलंकी कोटेश्वर सडक निर्माणमा विभिन्न समस्याका कारण भएको ढिलाइप्रति आफू दुखी भएको पनि प्रधानमन्त्री ओलीले बताए ।
‘विकास हामीलाई चाहिएको छ, यही सडक बन्दा पनि विभिन्न समस्या आएको कुरा राजदूतले भन्नुभयो’ उनले भने, ‘तलबाट काम भएन भने मन्त्रिपरिषदमा आउनुपर्यो, कानून बाधक बन्यो भने संशोधन गर्नुपर्यो, तर विकास निर्माणमा कुनै पनि समस्या हुनुभएन ।’
प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध विश्वकै दुर्लभमध्येको एक भएको धारणा राखे । उनले भने, ‘छिमेकी छिमेकीबीचको सम्बन्ध त हुन्छ नै तर विवादरहित सम्बन्ध हुनु भनेको विश्वमै दुर्लभ मानिन्छ त्यो हामीबीच छ ।
दुई देशबीच पछिल्लो समय सम्बन्ध अझ सुमधुर हुँदै गएको प्रधानमन्त्री ओलीले बताए । सन् २०१६ मा भएको आफ्नो भ्रमणपछि नेपाल–चीनबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको प्रधानमन्त्री ओलीले दावी गरे । नेपाल पछिल्लो समय चीनसँग आर्थिक तथा सामाजिक विकासका हिसाबले पनि नजिकिएको उनले बताए ।
‘हिजो हिमाल नदीनाला, भूगोल, प्राचीन सभ्यताले हामी नजिक थियौं आज कुटनीतिक सम्बन्धदेखि लिएर धेरै कुराले नजिक छौं, सम्बन्ध सुमधुर छ’ उनले भने, ‘हाम्रा धेरै विद्यार्थी चीनमा गएर विद्या आर्जन गर्ने गरेका छन् त्यो पनि हामी बीच भएको सुमधुर सम्बन्धको एउटा उदाहरण हो ।’
नाकाबन्दी र इन्धन अभावले ढिलाइ भयो : चिनिया राजदूत
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हु यांकीले विभिन्न समस्याका कारण कलंकी कोटेश्वर सडक निर्माणमा केही ढिलाइ भएको बताइन् । राजदूत यांकीले नाकाबन्दी, इन्धन अभावलगायतका कारण केही समस्या भएकाले ढिलाइ भएको बताइन् ।
यद्यपि, सांघाई कन्स्ट्रक्सन ग्रुप फ कम्पनीले लगातार काम गरी निर्माण सम्पन्न गरेर आज नेपाल सरकारलाई बुझाउन पाएकोमा अत्यन्तै हर्षित भएको उनले बताइन् । राजदूत यांकीले पछिल्लो समय नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर बन्दै गएको समेत बताइन् ।
राजदूत यांकीले सन् २०१८ नेपाल र चीनको सम्बन्धका लागि विशेष वर्ष भएको बताइन् । २०१८ बाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको समेत उनले बताइन् । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालको नारा केपी ओलीकै नेतृत्वमा पुरा हुनेसमेत उनले बताइन् ।
चक्रपथको कलंकी कोटेश्वर सडकको १० दशमलब ३९ किलोमिटर सडक विस्तारको कार्य हालै सम्पन्न भएर चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । ५ वर्ष लगाएर ५ अर्ब लागतमा विस्तार गरिएको ८ लेनको यो सडक–खण्ड चिनियाँ अनुदानमा निर्माण भएको हो ।
from Online Khabar http://bit.ly/2DDTv0I
via IFTTT
No comments:
Post a Comment