१३ माघ, काठमाडौं । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जिल्लास्थित मालपोत र नापी कार्यालयमा छड्के अनुगमन गरेका छन् । उनले अनुगमन मात्र गरेनन् कार्यालय प्रमुखहरुलाई सेवाग्राहीकै सामुन्ने राखेर घुस नखाई छिटो छरितो ढंगले काम गर्ने प्रतिबद्धता गराए ।
प्रजिअ कँडेल अनुगमनमा जाँदा कर्मचारीको पोशाकमा थिएनन् । उनी कालो उलनको सट, सेतो पाइन्ट र निलो हाफ ज्याकेट लगाएर भूमिसुधार तथा मालपोत र नापी कार्यालयमा सेवाग्राहीकै शैलीमा अनुगमनमा निस्किएका थिए ।
आजभोलि हरेक कर्मचारीहरुले भ्रष्टाचार नगर्ने कसम खाएर मात्र कार्यालयमा काम सुरु गर्ने नियम लगाइएको छ । तर त्यो पालना भएको छैन । कर्मचारीहरुले काममा ढिलासुस्ती गर्ने र घुस माग्ने गरेको गुनासो सेवाग्राहीहरुले गर्दै आएका छन् ।
अनुगमनको क्रममा प्रजिअ कँडेलले स्थानीय भाषामै कार्यालय प्रमुखलाई सेवाग्राही अगाडि उभ्याएर घुस नखाइ काम गर्ने प्रतिवद्धता जनाउन लगाए । त्यतिमात्र होइन, उनले सेवाग्राहीको लाइन मिलाउने समेत काम गरे । लामबद्ध भएका सेवाग्राहीलाई सम्बोधन गर्दै उनले सम्बन्धित कार्यालय प्रमुखले सेवाग्राहीको गुनासो नसुनेमा आफूकहाँ आउन भने ।
‘बिचौलियाको सहारा लिने, घुस खुवाउने त्यस्तो केही गर्नुपरेको छ ?’ उनले सेवाग्राहीलाई प्रश्न गर्दै भने, ‘कर्मचारी थोरै छ, काम धेरै छ । काम भएन, कसैले पैसा माग्यो भने कार्यालय प्रमुखलाई भन्ने, उसले पनि टेरेन, सुनेन भने यहाँ सिडिओ छ । म प्रमुख जिल्ला अधिकारी हुँ ।’
हेर्नुहोस् भिडियो
मालपोत तथा नापी कार्यालयहरु सेवाग्राहीको बढी चाप हुने र भ्रष्टाचार पनि धेरै हुने कार्यालय भनेर चिनिन्छन् । ‘काम भएन, काम ढिला भयो, अनियमितता भयो भनेर सेवाग्राहीको व्यापक गुनासो आएको थियो त्यही भएर अनुगमनमा निस्किएँ,’ प्रजिअ कँडेलले भने, ‘यसलाई निरन्तरता दिइने छ ।’
उनले कतिपय सेवाग्राहीका गुनासा सुन्दै आवश्यक सबै कागजपत्र भए पनि किन काम नभएको भन्दै कर्मचारीहरुलाई प्रश्नसमेत गरेका थिए । ढिलासुस्ती नगरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशनसमेत दिएको उनले जानकारी दिए ।
को हुन् प्रदीपराज कँडेल ?
रौतहटको जुडेबेला पुर्ख्यौली घर भएका कँडेल २०४६ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयको सचिवबाट सरुवा भएर उनी धनुषाको प्रमुख जिल्ला अधिकारी बनेका थिए ।
यसअघि उनी बिभिन्न जिल्लामा सिडिओ बनेर काम गरिसकेका छन् । हाल काठमाडौंको घट्टेकुलोका स्थायी बासिन्दा कँडेल पाँचथरमा सिडियो रहँदा अपांगता, जेष्ठ नागरिक र असहाय मैत्री कार्यकक्ष बनाएका थिए र त्यो कामको मूल्यांकन गर्दै एन्टेना फाउन्डेसनले उनलाई देशभरकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रुपमा सम्मान गरेको थियो ।
उनी सन् २०१५ मा देशभरका उत्कृष्ट कर्मचारीको पुरस्कार ‘इन्टिग्रीटी आइडल २०१५’बाट समेत सम्मानित भएका छन् ।
कँडेल सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापन चुस्त दुरुस्त बनाउने अभियान सुरु गरेका थिए ।
उनी जुन जिल्लामा गए पनि क्लोथ बैंक (कपडा बैंक) स्थापना गरेर गरिब तथा विपन्नलाई सहयोग गर्दै आएका छन् । यो काम उनले धनुषामा पनि सुरु गरेका छन् ।
हालै उनले पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चाँदी पुल नजिक १५ दिनदेखि सडकमा बेवारिसे भएर लडेकी वृद्धालाई उद्धार गरेर अस्पताल पुर्याएको फोटो र भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।
from Online Khabar http://bit.ly/2WoxKJF
via IFTTT
No comments:
Post a Comment