Tuesday, January 29, 2019

देउवालाई पौडेलको चेतावनी : यो नेतृत्वको कार्यकाल थप्नु अनैतिक हुनेछ

१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चौधौं महाधिवेशन २०७६ सालभित्रै गर्नका लागि कार्यतालिकासहितको प्रस्ताव पेश गरेका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा पौडेलले पेश गरेको लिखित प्रस्तावमा शेरवहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल थप्नु अनैतिक हुने चेतावनी समेत दिएका छन् ।

‘उज्यालो भविश्यका लागि समयवद्ध काम गरौं’ भन्ने पौडेलको प्रस्ताव केन्द्रीय कार्य समितिमा छलफलका लागि पेश भएको हो । पौडेलले फागुन १ गतेबाटै मुलुकभर पारदर्शी ढंगले सदस्यता वितरण र २०७६ असोज मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न गर्ने प्रस्ताव राखेका छन् ।

देउवा पक्ष महाधिवेशन एक वर्ष सार्ने चलखेलमा लागेको आशंकापछि पौडेलले कार्यतालिकासहित प्रस्ताव ल्याएका हुन् । उनले समयमै महाधिवेशन नभए आउँदा स्थानीय, प्रदेश र संघीय चुनाव कांग्रेसले जित्न नसक्ने दावी समेत गरेका छन् ।

पौडेलको प्रस्तावमा भनिएको छ–(क) विधानले तोकेको ४ वर्षको यो कार्यसमितिको कार्यकाल २०७६ भित्रै चौधौ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका बमोजिम काम होस् । अन्यथा आउँदा स्थानीय, प्रदेश र संघीय चुनाव सफल गर्न हामीलाई मुश्किल पर्छ । गत निर्वाचनहरुको पराजयको जिम्मा यो नेतृत्व र कार्यसमितिले लिइसकेको हुँदा कार्यकाल थप्नु अनैतिक पनि हुन्छ ।

पौडेलले आगामी मंसीर मसान्तसम्म गाउँ/नगर र वडा समितिको निर्वाचन सम्पन्न गर्ने र यसै अवधिमा वडा समितिहरुले आवश्यकता अनुसार टोल र वुथ समितिहरु गठन गरी क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचन गर्ने प्रस्ताव राखेका छन् । त्यस्तै अर्को वर्षको पुस मसान्तसम्म निर्वाचन क्षेत्र र जिल्लाका अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

त्यस्तै अर्को वर्षको माघ १६ गतेसम्म प्रदेश अधिवेशनहरु सम्पन्न गर्ने र फागुन ७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने प्रस्ताव देउवा समक्ष राखेका छन् । पौडेलले २०७७ साल नव निर्वाचित समितिहरुलाई वैचारिक तथा संगठनात्मक तालिम दिने वर्षको रुपमा मनाउन र २०७८ साल आगामी निर्वाचनहरुको तयारीका वर्षका रुपमा मनाउने प्रस्ताव राखेका छन् ।

संविधान अनुसार २०७९ मा तीनै तहका निर्वाचन गर्नुपर्नेछ । पौडेले २०७८ साललाई चुनावी मुद्धाहरुको प्रचार र प्रशिक्षण, मतदाता नामावली थप्ने र उमेदवारको खोजी गर्ने आदि निर्वाचनमुखी आभियान देशव्यापी रुपमा सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय अनुशासन समिति र केन्द्रीय निर्वाचन समितिको गठन तत्काल सहमतिका आधारमा गर्नुपर्ने र नयाँ बिधान अनुसार निर्वाचन हुने पदहरुमा निर्वाचनबाटै पूर्ति गरिनुपर्ने माग राखेका छन् । उनले महाधिवेशन गर्न बाँकी रहेका भार्त संगठनहरुको यथाशीघ्र महाधिवेशनको माग गरेका छन् ।

सात बुँदे उनको प्रस्तावमा सरकारका गलत कामको भण्डाफोर गर्न सशक्त कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।



from Online Khabar http://bit.ly/2G4QTuu
via IFTTT

No comments:

Post a Comment