Sunday, January 27, 2019

श्रीमतीलाई भनेरै कांग्रेस छाडेको हुँ– तीर्थ भुसाल

१२, माघ चितवन । सामान्यत: चुनावका मुखमा पार्टीका नेता–कार्यकर्ताले पार्टी अदलबदल गर्ने गरेको पाइन्छ, जसलाई चुनावी मौसम भन्ने गरिन्छ । तर, अहिले बेमौसममा चितवन कांग्रेसका पुराना नेता पूर्वसांसद तीर्थ भुसाल ४८ वर्ष लामो राजनीतिक जीवन व्यतीत गरेको कांग्रेस पार्टी छाडेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरे ।

तर, भुसाल नेकपामा प्रवेश गरेर गृहजिल्ला चितवन आइपुग्दा नपुग्दै उनकी श्रीमतीसहित परिवारका सदस्यहरुका नामबाट असहमति विज्ञप्ति जारी भयो । विज्ञप्तिमा ‘घर सल्लाहविना’ नेकपा प्रवेश गरेकोमा आपत्ति जनाउँदै कांग्रेसमै फर्किन आह्वान गरिएको थियो ।

यद्यपि भुसालचाहिँ श्रीमतीसँग घरसल्लाह गरेरै नेकपामा प्रवेश गरेको दाबी गर्छन् । भतिजाहरुले कीर्ते विज्ञप्ति निकालेको भुसालको आरोप छ ।

आखिर नेकपाको नेतृत्वमा रहेको सरकार खासै लोकप्रिय बन्न नसकिरहेका बेला भुसालले किन बेमौसममा नेकपालाई रोजे ? अनि यो पार्टी अदल–बदल घरसल्लाहबाटै भएको हो कि एकल निर्णय हो ? यिनै विषयमा कुरा गर्न हामी भरतपुर महानगरपालिका वडा नं. ७ स्थित छोरी गायत्री भुसालको निवासमा पुग्दा श्रीमतीसहित नेता भुसाल पनि भेटिए ।

०४८ सालमा कांग्रेस चितवनको निर्वाचित उपसभापति एवं ०४९ मा कार्यवाहक सभापति भएर भुसालले कांग्रेस चितवनलाई नेतृत्व दिएका थिए । ०५० सालमा सुकुम्वासी आयोग बारा, पर्सा र मकवानपुरको अध्यक्ष भएरसमेत उनले काम गरे ।

चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत माडीका स्थायी बासिन्दा भुसाल ०५१ सालमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका थिए । भुसालले जितेकै निर्वाचन क्षेत्रबाट अहिले नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सांसद छन् ।

भुसालको नेकपा प्रवेश र पारिवारिक असहमतिका बारेमा गरेको कुराकानी उनकै शब्दमा–

मैले टिकट नपाएर पार्टी छाडेको होइन । प्रदेश सभाको टिकटको अपेक्षा गरेको थिएँ । पाएको भए सायद कांग्रेसको बीउ चितवनमा जोगिन्थ्यो पनि होला । प्रचण्डविरुद्ध निर्वाचन लड्ने चाहना थिएन ।

कांग्रेसभित्र नातावाद, कृपावाद, गुटै गुट छ । इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम हुन्छ । कांग्रेस पार्टी जन्माएर चितवनमा बढाउँदै हिँड्ने पूर्वसांसद भैसकेको मान्छेलाई वडामा नै हराउने काम भयो । यो त दृष्टान्त छ नि । ठिकै छ, एउटा प्रयास गरौं न भनेर म नेकपामा प्रवेश गरेको हो । कुनै पदीय लोभलालसा राखेर हैन ।

चुनावका बेलामा लोभ–लालसा राखेर पार्टी प्रवेश गर्लान् । तर, यो समयमा प्रवेश गर्नु भनेको लोभ नगरेको भन्ने प्रमाण पनि हो । परिस्थतिको मूल्याङकन गरेर लिएको निर्णय हो ।

जहाँसम्म मैले परिवारमा सल्लाह गरिनँ भन्ने सवाल छ, त्यो झूटो हो । मैले मेरी श्रीमतीलाई जानकारी गराएको थिएँ । अरुलाई त नभनेकै हो । भन्न आवश्यक पनि थिएन । यो मेरो अन्तरआत्माको निर्णय हो । अन्तरआत्माले जे भन्छ, त्यही निर्णय लिनुपर्छ । मैंले लिए ।

एउटै घर–परिवारमा पनि फरक–फरक विचार र आस्था राख्ने मान्छेहरु हुन्छन् । कांग्रेसमा यतिको लामो जीवन बिताएको मान्छेले एकाएक यस्तो निर्णय गर्दा अस्वाभाविक लाग्नु स्वभाविक नै हो । पूर्वतर्फ हिँडिरहेको रेललाई एक्कासी पश्चिममा फर्काउँदा तरंगहरु आउँछन् ।

परिवारका सदस्यहरुका नाममा विज्ञप्ति आएको छ । मैले पनि पढेँ । तर, त्यसमा मेरी श्रीमतीको सहमति नभएको बुझेको छ । उनको नाम राखिएको छ, तर अरुले नै हस्ताक्षर गरेको छ । नवलपरासीमा भएका मेरा केही भतिजहरुको काम हो त्यो । उनीहरु पनि अहिले कन्भिन्स भैसके । सबैलाई बुझाउन समय लाग्छ ।

मैले नेकपा प्रवेश गरेको थाहा पाएपछि मैले राजनीति सिकाएका भाइसाथीहरुले किन एक्लै जानुभएको हामी पनि सँगै जान्थ्यौंं नि भनेका छन् । मैले हुलहुज्जत बाँधेर पार्टी छाडिनँ । भोलि नेकपाले राम्रो काम गर्‍यो भने सबै आउँछन् । जनता नै उल्टिएर आउँछन् नि ।

कांग्रेस परित्याग गरेकोमा हीनतावोध छैन । यहाँ कांग्रेसमा भन्दा बढी माया पाएको छु । नेकपा लोकतन्त्रभन्दा दाया वाँया छैन । लोकतन्त्रका विरुद्धमा नेकपाले केही गरेको छैन । तर, जनतालाई भ्रम छर्न अनेक आरोप लगाउने मात्रै काम गरिएको छ ।

चुनावका बेलामा लोभ–लालसा राखेर पार्टी प्रवेश गर्लान् । तर, यो समयमा प्रवेश गर्नु भनेको लोभ नगरेको भन्ने प्रमाण पनि हो । परिस्थतिको मूल्याङ्कन गरेर लिएको निर्णय हो । कसैलाई दुखाएको छैन । नेकपाले दिने जिम्मेवारी विवेकले भ्याएसम्म पूरा गर्छु, अपेक्षा केही छैन । पार्टी नेता कार्यकर्ता कोही पनि जिम्मेवारीविहिन बन्नुहुन्न । एउटा जीवन्त पार्टीका लागि त्यो सबैभन्दा ठूलो घातक कुरा हो । यो बारेमा नेकपा जानकार नै छ भन्ने ठान्छु ।

साधारण सदस्यदेखि सांसदसम्म भएर मेरो जीवनको महत्वपूर्ण उर्जाशील समय कांग्रेसमा बिताएको छु । त्यसमा मलाई कुनै पश्चाताप छैन । किनकि मैले यो पार्टीमार्फत देशको परिवर्तन र लोकतन्त्रका लागि योगदान दिन पाएँ ।

विसं. २०१५ सालको आम निर्वाचनपछि, २०४७ सालको परिवर्तनपछि र गणतन्त्र आइसकेपछि बनेका कुनै पनि सरकार ५ वर्ष टिकेनन् । सोही कारण देशले विकास गर्न सकेन । यो तीतो सत्य हो । यो ६२ बर्षको उमेरमा मलाई किन नेपालमा स्थिर पाँच बर्षको सरकार चलेन भन्ने विषयले बहुत घोच्यो । मैले यहीबारेमा सोचेँ ।

अहिले नेकपाले पाँच बर्ष सरकार चलाउने अवसर पाएको छ । यो सरकारलाई गिराउने प्रयास कतैबाट हुनुहुँदैन भन्ने मेरो निस्कर्ष छ । कमी कमजोरी होलान् । तर, खरानीका लागि घर जलाउनुहुन्न । हामीभन्दा पछि राजनीतिक परिवर्तन गरेका देशहरु कहाँ–कहाँ पुगे, तर हामी पछाडि परेको पर्‍यै भयौं । त्यसैले मेरो आत्माले के भन्यो भने, अब नेकपाको सरकारलाई बाहिरबाट हैन, भित्रै गएर साथ दिनुपर्छ । तीव्र आर्थिक विकासका लागि सरकारले लिएको नीतिमा सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो ।

मलाई यस्तो लाग्नुमा तत्कालीन मेरो पार्टी कांग्रेसको व्यवहारले पनि सहयोग गरिरहेको थियो । कांग्रेसभित्र राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नारा मात्रै छ, व्यवहारमा लागु छैन । समाजवादउन्मुख राज्य भनेर संविधानको प्रस्तावनामा लेख्न पनि कांग्रेसको दाँतबाट पसिना नै आयो नि । भनेपछि कुरा बुझ्न समस्या छैन ।

कांग्रेस पटकपटक सत्तामा आयो । तर ठोस केही भएन । कांग्रेस सुध्रिएन, करेक्सन भएन । कांग्रेस मात्रै हैन देश नै कमजोर हुने अवस्था आयो ।

अहिले प्राप्त अवसरमा देश बनाउनुपर्दछ । गिरीजाबावु हुँदा केही हुन्छ जस्तो लाग्थ्यो । उहाँले गर्न सक्नुभएन । तर, किन सक्नुभएन ? किन गर्न दिइएन ? प्रयास त गर्नुभयो । शान्ति प्रकृयालाई सफल अवतरण गराउनुभयो । गिरीजाप्रसाद कोइराला नै हो मैले कांग्रेसमा आदर्श मानेको मान्छे । उहाँ पहिल्यै बित्नुभएको भए मैले कांग्रेस पहिल्यै छाडेको हुन्थेँ ।

श्रीमती भन्छिन्– खुसी पनि छैन, दुःखी पनि छैन !

श्रीमान तीर्थ भुसालले कांग्रेस परित्याग गरेको बारे आफूलाई जानकारी गराएको श्रीमती शर्मादेवी भुसालले स्वीकार गरिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले यतिका वर्षसम्म दुःख गरेको पार्टी छाड्ने निर्णयमा आफु दुःखी बनेको बताइन् । तर, नेकपा प्रवेशका विषयमा जारी भएको पारिवारिक विज्ञप्तिमा आफूले सही नगरेको उनको भनाइ छ ।

‘मैले त्यसमा हस्ताक्षर गरेको छैन, भतिजाहरुको काम हो,’ श्रीमती भुसालले भनिन् ‘नेकपामा श्रीमानको प्रवेशले खुसी पनि छैन, दुःखी पनि छैन । जनताको पक्षमा काम गरे भोलि राम्रै भनौंला ।’



from Online Khabar http://bit.ly/2sLz384
via IFTTT

No comments:

Post a Comment