१८ माघ, पोखरा । पोखरामा फागुनको तेस्रो साता ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।
गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको हो ।
महोत्सव फेवाताल किनार बाराही खेलमैदानमा गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ग्रामीण पर्यटनको प्रबर्द्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको भिटोफ गण्डकी प्रदेश अध्यक्ष रबिन्द्रराज पौडेलले बताए । महोत्सवमा गण्डकी प्रदेशका ५० भन्दा बढी होमस्टेहरुका स्टल रहने जनाइएको छ ।
गण्डकी प्रदेशका सबै जिल्लामा रहेका होमस्टेहरुका नमूना होमस्टेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने अध्यक्ष पौडेलले बताए । महोत्सवमा १० वटा खानाका परिकारका स्टलहरुपनि रहने उनले जानकारी दिए ।
महोत्सवमा ग्रामीण पर्यटनसँग सम्बन्धित विभिन्न प्रवर्द्धनात्मक जानकारी दिने ब्रोसर, पर्चालगायत पनि वितरण गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले ग्रामीण पर्यटनलाई एक अर्कासँग लिंकेज गर्ने तथा ती ग्रामीण पर्यटनका गन्तव्यहरुको प्रवर्द्धन गर्ने महोत्सवको मूख्य उद्धेश्य रहेको बताए ।
उनले सन २०२० सम्ममा २० लाख पर्यटक भित्राउने योजनालाई पनि महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले ग्रामीण पर्यटन गण्डकी प्रदेशको निर्विकल्प गन्तव्य भएकाले यसको प्रवर्द्धन गर्न सके देश र समुदायले त्यसको यथेष्ट फाइदा लिनसक्ने बताए ।
उनले पछिल्लो ३ वर्षमा २५ वटा होमस्टेबाट बढेर २ सय २३ वटा होमस्टे गण्डकी प्रदेशमा पुगेको भन्दै यसले होमस्टेको संख्यासँग गुणात्मकतामा पनि वृद्धि भएको बताए ।
महोत्सवमा राखिएका होमस्टे मध्ये होमस्टे स्टल, कल्चर र खानाका परिकारलाई नगदसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ ।
महोत्सवमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजारसहित पुरस्कृत गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।
ग्रामीण पर्यटन प्रवर्द्धनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाईसमेत नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने मञ्चका निवर्तमान अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न करीब ५० लाख खर्च लाग्ने अनुमान गरिएको मञ्चले जनाएको छ ।
from Online Khabar http://bit.ly/2HEVmqe
via IFTTT
No comments:
Post a Comment