१८ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि ओपीडी सेवा बन्द गरेपछि विरामी अलपत्र परेका छन् । संघले आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेसँगै देशभरको चिकित्सकीय सेवा प्रभावित बनेको हो ।
अस्पतालमा टिकटको लागि विहानैदेखि लाइन लागे पनि ओपिडी (बहिरंग) को काउण्टर नखुलेपछि विरामीहरु निराश भएर फर्किन वाध्य भएका थिए । हामी विरामीको अवस्था बुझनका काठमाडौंका विभिन्न सरकारी अस्पताल पुग्दा सयौँ बिरामी अझै पनि उपचारको आशमा बसेका थिए ।
रामेछापबाट नौ दिनदेखि त्रिवि शिक्षण अस्पताल (टिचिङ) धाइरहेका ६५ वर्षिय रणबहादुर नेवारले भने, ‘मलाई आज बोलाइएको थियो । विहान साढे पाँच बजे नै आएर लाईन बसेँ । तर, ओपीडी खुल्दै खुलेन ।’ पिसाब थुनिने समस्या समस्या बोकेर अस्पताल पुगेका उनले धेरै बेरपछि डाक्टरको हड्तालको हल्ला सुने । ‘भिडियो एक्सरे, एक्सरे भएको छ, त्यो देखाएर आज औषधी लिनुपर्ने’, उनले भने, ‘ऋण गरेर आएको, खर्च पनि सकियो अब के गर्ने थाहा छैन ।’
उनीजस्तै विहानैदेखि लाईन बसेका सयौं विरामी डाक्टरको हड्तालबाट पिडित थिए । एक बिरामीले भने, ‘एक जनाको लागि हस्पीटल नै बन्द गरेको रहेछ । हामीजस्ता लाखौँ सर्वसाधारणलाई किन दुःख दिएको होला ?’
पेटको समस्या लिएर अछामबाट आएका विकास आचार्यलाई आकास्मिकबाट हिजो निकालेर आज ओपीडीमा बोलाइएको थियो । ‘खै मैले कहाँबाट औषधी लिएर जाने ?’, विकासले भने । उनले गोविन्द केसीको नाममा विरामीलाई दुःख दिने आन्दोलनको तरिका उपयुक्त नभएको बताए ।
टिचिङमा विहान केही समय काउन्टर खुलेको थियो । केही विरामीले टिकट पनि लिए । तर, चिकित्सकले उनीहरुको जाँच नगरेपछि हस्पीटलमै कुरेर बसेका थिए । टिचिङमा भेटिएकी इन्द्रा श्रेष्ठले भनिन्, ‘हामी टाढा तनहुँबाट आएको तीन दिन भयो । आज रगतको रिपोर्ट देखाउन आज बोलाइएको थियो । खै अहिलेसम्म केही अत्तोपत्तो छैन ।’
अर्धसरकारी अस्पताल निजामति कर्मचारी अस्पतालमा पुग्दा भने सेवा सुचारु थियो । यस्तै, अधिकांश निजी अस्पतालले सेवा रोकेका छैनन् ।
१६ औँ पटक अनसनरत डा. केसीको माग सुनुवाई नभएको भन्दै संघले विहीवार संघर्षको कार्यक्रम सार्वजनिक गरेको थियो । २४ दिनदेखि डा. केसी अनसनमा छन् । संघले बन्द, हडतालको उल्लंघन गर्ने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
from Online Khabar http://bit.ly/2SkWB1U
via IFTTT
No comments:
Post a Comment